२० बैशाख २०८१, बिहिबार | May 2, 2024

चार लाख शब्द समावेश भएको संस्कृत-नेपाली विद्युतीय शब्दकोश



काठमाडौं । स्वामी केशवानन्द गिरिले विश्वमै ठूलो संस्कृत-नेपाली विद्युतीय शब्दकोश निर्माण गरी सार्वजनिक गरेका छन् ।

यो विद्युतीय शब्दकोशबाट संस्कृत, नेपाली, हिन्दी र अङ्ग्रेजी चार भाषाका शब्दको अर्थ थाहा पाउन सकिन्छ । शब्दकोशमा चारवटै भाषाका गरी चार लाख शब्दको अर्थ समावेश गरिएको छ ।

शब्दकोष एण्ड्रोइड मोबाइलमा डाउनलोड गरी उपयोग गर्न सकिन्छ । यसैगरी वेबसाइटमा केएन स्वामी डटकममा गएपछि चार भाषाका करिब चार लाख शब्द खोज्न सकिने शब्दकोश निर्माणकर्ता स्वामी केशवानन्दले जानकारी दिए ।

यी चार भाषाका शब्द ‘फूल टेक्स्ट’ खोज्न यो एप र वेबसाइट उपयोगी हुनेछ । एउटा शब्दको चारै भाषाका अर्थ थाहा पाउन सकिनेछ । शब्दकोशमा संस्कृतबाट नेपालीका एक लाख, संस्कृतबाट संस्कृतका डेढ लाख, संस्कृतबाट हिन्दी ५० हजार र संस्कृतबाट अङ्गे्रजीका ५० हजार गरी चार लाख शब्द सामावेश गरिएको छ ।

धातु र त्यसको कृदन्त रूप ५० हजार गरी चार लाख शब्दको ज्ञान कोशबाट वेबसाइट वा एपमा गएर हेर्न सकिने गरी समावेश गरिएको उनले बताए । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न गत वर्ष चैतमा सरकारले बन्दाबन्दी जारी गरेपछि स्वामी केशवानन्द गिरिको नेतृत्वमा शब्दकोश निर्माणका लागि काम शुरु गरेका हुन् ।

संस्कृत शब्दको अर्थ जान्न चाहने, संस्कृतका विद्यार्थी, अध्ययन एवं अनुसन्धान गर्न चाहनेका लागि शब्दकोश उपयोगी छ । शिलालेख, प्राचीन अभिलेख लगायतका सामग्रीको अध्ययनका लागि पनि यो शब्दकोश महत्वपूर्ण सामग्री हुनेछ । संस्कृतका दुई शब्दकोश ‘वाचस्पत्यम्’ र ‘शब्दकल्पद्रुम’ का सबै शब्द टाइप गरेर विद्युतीय माध्यमबाट हेर्न सकिने बनाइएको छ ।

‘वाचस्पत्यम्’ सन् १८७० मा तारानाथ तर्क वाचस्पति भट्टाचार्यले तयार पारेको कोश हो । यसैगरी ‘शब्दकल्पद्रुम’ सन् १८५९ मा राजा राधाकान्तदेवले तयार पारेको कोश हो । दुवै कोशका सबै शब्द विद्युतीय माध्यममा राखिएको छ । यसैगरी वामन शिवराम आप्टेको सन् १९६६ मा प्रकाशित संस्कृत-हिन्दी र सन् १८९० मा प्रकाशित संस्कृत-अङ्ग्रेजी कोशका समेत सबै शब्द विद्युतीय माध्यममा राखिएको छ ।

नेपाल संस्कृत विश्वविद्यालयले प्रकाशन गरेको बृहत् नेपाली-संस्कृत शब्दकोश, कुलचन्द्र गौतमको संस्कृत-नेपाली कोश, संस्कृत-कन्नड कोश, मुनियर निलिम्सको संस्कृत-अङ्ग्रेजी कोश पनि टाइप गरेर विद्युतीय माध्यममा समावेश गरिएको छ ।

यसैगरी नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको नेपाली बृहत् शब्दकोशका पनि सबै शब्द अब एण्ड्रोइड एप र वेबसाइटमा एकसाथ राखिएको छ । धातुको व्युत्पत्ति भने केशवानन्दले आफैँ अनुवाद गरेर राखेका हुन् ।

नेपाली कोशमा व्युत्पत्ति र धातुको अर्थ थपेर समावेश गरिएको छ । यसैगरी धातुमा उपसर्ग लगाउँदाको अर्थ समेत विद्युतीय माध्यमबाट खोजी गर्न सक्ने गरी समावेश गरिएको छ । धातुको रूप भने केही समयमा राख्ने सोचमा उनि छन् ।

यी सबै विषय समावेश गरिएको एकीकृत कोश विश्वमै पहिलो भएको उनको भनाइ छ । यस वर्ष विजयादशमीको अवसरमा यो विद्युतीय कोश शुभारम्भ गरिएको हो ।कोशको मोबाइल एप हालसम्म तीन हजार जनाले डाउनलोड गरिसकेका छन् । डाउनलोड गर्नेबाट आएको प्रतिक्रिया सकारात्मक रहेको जनाइएको छ ।

एण्ड्रोइड फोनका फाइभ भर्जनभन्दा माथिका मोबाइलमा यो कोश खुल्ने गरेको छ । मोबाइल एप १२६ एमबीको भएकाले एक जिबी डाटा आवश्यक पर्नेछ । कोश एप र वेबसाइटमा उपलब्ध भएपछि यसका प्रयोगकर्ता ठूला ठूला शब्दकोश बोकेर हिँड्नुपर्ने, पल्टाउनुपर्ने झन्झटबाट मुक्त भएका छन् । प्रयोगकर्ताका माझ यो सजिलो शब्दकोशका रूपमा आएको छ ।

डा रामानन्द गिरिबाट सङ्कलनको प्रेरणा

शब्दकोश सङ्कलनको प्रेरणा स्वामी केशवानन्दलाई उनका गुरु स्वामी डा रामानन्द गिरिबाट मिलेको हो । महेश संस्कृत गुरुकुल देवघाटमा कक्षा ७ र ८ मा अध्ययनका क्रममा डा रामानन्दले कापीमा तयार पार्न लगाएको करिब ३०० पृष्ठको संस्कृत–नेपाली शब्दकोश यो बृहत् कामको प्रेरणाका रूपमा रहेको उनि बताउँछन् ।

कक्षा ९ र १० मा अध्ययनका क्रममा विसं २०५८ तिर कम्प्युटरसमेत सिक्न पाएपछि कोशलाई प्रविधिमा जोडेर वेबसाइटमा उपलब्ध गराउने इच्छा उनमा जागृत भएको थियो । शब्दकोशमा आफूले चाहेको शब्द टाइप गरेर खोज्न सकिन्छ । चाहेको शब्द नेपाली वर्णानुक्रमानुसार समेत खोज्न सकिन्छ । धेरैजसो आवश्यक पर्ने शब्दलाई प्रयोगकर्ताले ‘फेवरेट’ बनाएर राख्न सक्ने सेवा पनि विद्युतीय शब्दकोशमा उपलब्ध छ ।

एउटा शब्द राख्ने बित्तिकै त्यसका चारै भाषाका अर्थ हेर्न सकिन्छ । यसमा संस्कृतका पर्यायवाची शब्द पनि जोड्ने लक्ष्यमा स्वामी छन् । शब्दकोशलाई ‘आइवोएस’ प्रविधिमा डेभलप गरी अझ बढी प्रयोगकर्तालाई सेवा दिने लक्ष्यसमेत राखिएको छ । ‘आइवोएस’ प्रविधिमा डेभलप गर्न रु ६५ हजार लाग्ने भएकाले स्रोत व्यवस्थापनको काम भइरहेको जनाइएको छ ।

निःशुल्क सेवा

गुरुकुलमा आफूले निःशुल्क शिक्षा आर्जन गरेकाले करिब रु ५० लाखको लागतमा यो विद्युतीय कोश निर्माण गरी बिना शुल्क पाठकका लागि उपलब्ध गराएको उनले बताए । विद्युतीय कोशमा कुनै पनि विज्ञापनसमेत राखिएको छैन । विज्ञापन राखेर आर्जन गर्दा पाठक एवं खोजकर्ताको ध्यान विज्ञापनतिर जाने भएकाले निःशुल्क हेर्न सकिने व्यवस्था मिलाइएको स्वामी केशवानन्द बताउँछन् ।

बन्दाबन्दीका शुरुका छ महिना बिहान पाँच बजेदेखि राति ११ बजेसम्म आफू र आफ्ना छ जना शिष्य खटेर गिरिले कोश तयार पारेका हुन् । कोशको वेबसाइट नवीकरणका रूपमा वार्षिक रु ३० हजार खर्च गर्नुपर्ने हुन्छ ।

पूर्वीय वाङ्मयलाई प्रविधिसँग जोड्दै केशवानन्द

नेपालीमा प्रयोग हुने करिब ७५ प्रतिशत संस्कृतका शब्द जान्न पनि यो कोश उपयोगी हुनेछ । पूर्वीय वाङ्मयलाई प्रविधिसँग जोडेर उहाँले जिज्ञासुका लागि अध्ययन एवं अनुसन्धान गर्न सहज बनाइदिएका छन् ।

वाजसनेयि-माध्यन्दिन-शुक्लयजुर्वेद-संहितालाई केएन स्वामी युनिकोड फन्ट तयार पारी उनकै सम्पादनमा प्रकाशन भएको छ । शुक्लयजुर्वेदको यो पुस्तक आउनुअघि नेपाली प्रकाशनले निकालेको शुद्ध पुस्तक पाउन कठिन थियो ।

यसैगरी लघुसिद्धान्त कौमुदीको नेपाली अनुवादका दुई भाग पनि उनले प्रकाशन गरी संस्कृत पढ्न चाहने विद्यार्थीका लागि सहज बनाइदिएका छन् । लघुसिद्धान्त कौमुदीको नेपाली अनुवादका चार भागमध्ये दुई भाग प्रकाशोन्मुख छन् ।

आफूले गुरुकुलमा अध्ययनका क्रममा पाठ्यसामग्री पाउन मुस्किल भएको अनुभव पछिका विद्यार्थीले भोग्न नपरोस् भनी गिरिले यो काम गरेका हुन् । पूर्वीय वाङ्मयका यी पुस्तकको माग अमेरिका, क्यानाडा, अष्ट्रेलियालगायत देशमा रहेका बर्मा, भुटान, भारत र नेपालका नेपाली मूलका पाठकबाट भइरहेको छ ।

संस्कृत विश्वविद्यालयबाट ‘पाणिनिको अष्टाध्यायीमा अद्वैत दर्शन’ विषयमा विद्यावारिधि शोध गरिरहेका गिरिको लक्ष्य पूर्वीय वाङ्मयलाई प्रविधिसँग जोड्दै विद्यार्थी एवं अनुसन्धाताका लागि सहज वातावरण बनाइदिनु रहेको छ । रासस

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  ८ : १६ बजे

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक

वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार

काठमाडौं । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका

बर्दिया एमाले अध्यक्षमा शालिकराम अधिकारी प्यानल सहित विजयी

बर्दिया । नेकपा एमाले बर्दियाको अध्यक्षमा एमाले उपाध्यक्ष विष्णु पौडेल

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य