३० माघ २०८१, बुधबार | February 12, 2025

प्युठानको झिमरुक गाउँपालिकामा प्रयोगात्मक तरकारी खेतीसँगै आलु पाठशाला सञ्चालन



प्युठान । प्युठानको झिमरुक गाउँपालिकाले कृषि तालिम तथा नर्सरी प्रदर्शनी केन्द्र सञ्चालन गरेको छ ।

गत वर्षको माघदेखि गाउँपालिकाको केन्द्र नजिकै वडा नं ४ स्थित भ्यागुतेमा केन्द्र सञ्चालनमा ल्याएको हो । पालिकाले चार रोपनी जग्गा लिजमा लिई प्रदर्शनी केन्द्रमा कृषकलाई तालिमसँगै विभिन्न तरकारी उत्पादन गर्दै आएको गाउँपालिकाका कृषि शाखा प्रमुख टेकबहादुर विकले जानकारी दिए ।

अघिल्लो वर्ष अढाइ रोपनीमा सञ्चालन गरिएको फार्म यस वर्ष चार रोपनीमा विस्तार गरिएको उनले बताए । पालिकाले कृषकलाई विभिन्न कृषिसम्बन्धी तालिम दिए पनि किसानले खेती नगरेपछि आफैँ जग्गा लिजमा लिई प्रयोगात्मकका लागि खेती गरेको उनले बताए । उनले भने, ‘अघिल्ला वर्षमा तालिम धेरैपटक दियौँ, तर किसानले तालिमपछि खेती गर्नुभएन ।’

पहिले दिएका तालिम कोठामा मात्रै सीमित भएपछि यसलाई व्यवहारतः खेती गर्न प्रदर्शनी केन्द्र सञ्चालनले सहयोग पुर्याएको उनको भनाइ छ । प्रयोगात्मक कृषि तालिम सञ्चालन भएसँगै कृषि गर्न इच्छुक कृषक मात्र तालिममा सहभागी हुने गरेको उनले बताए ।

पालिका क्षेत्रभित्र सधैँ बाहिरबाट आएको तरकारीमा आत्मनिर्भर हुने देखिएपछि यस क्षेत्रलाई तरकारीमा आत्मनिर्भर बनाउन थप टेवा पुर्याउने विश्वास पालिकाले लिएको छ । पालिकाले सञ्चालन गरेको प्रदर्शनी केन्द्रमा हाल टमाटर, च्याउ, आलु, गाँजर, धनिया, भान्टा, मुलालगायतका तरकारी उत्पादन भइरहेका छन् ।

त्यस्तै हाललाई प्याज र कोभीका बेर्ना उत्पादन गरिएको छ भने मौसमअनुसारका बेर्नाहरुसमेत राख्ने गरिएको उनले बताए । त्यसमध्ये टमाटर, काउली, भान्टा, धनियाँ बिक्रीसमेत भइरहेको छ । बजार क्षेत्रमा भन्दा केन्द्रमार्फत केही सहुलियतमा तरकारी बिक्री गर्दै आएकोसमेत उनले बताए । अबको केही समयमा काँक्रा, करेला लगाउने तयारी भएको उनको भनाइ छ । उत्पादित तरकारी केन्द्रबाटै बिक्री वितरण हुँदै आएको छ ।

पालिकाले अघिल्लो आर्थिक वर्षमा केन्द्र सञ्चालनका लागि रु चार लाख ७० हजार बजेट विनियोजन गरेको थियो । चालु आर्थिक वर्षमा रु दुई लाख बजेट विनियोजन गरेको कृषि शाखा प्रमुख विकले बताए । अघिल्लो आवमा तरकारी बिक्री वितरणबाट रु ९४ हजार ५०० र चालु आवको हालसम्म करिब रु ३५ हजार बराबरको तरकारी बिक्री गरेको उनले बताए ।

तरकारी बिक्रीबाट आएको रकम पालिकाको खातामा राख्ने गरिएको छ । पालिकाभित्र २०७ वटा कृषि समूह तथा कृषि तथा पशुपक्षी फार्म छन् । पकेट क्षेत्रको आधारमा कृषक छनोट गरिएको छ । मौसमीसँगै बेमौसमी खेतीलाई पनि प्राथमिकता दिने पालिकाले जनाएको छ ।

आलु पाठशाला सञ्चालन

पालिकाको कृषि शाखाले हाल आलु पाठशाला सञ्चालन गरेको छ । आलु लगाउनेदेखि आलु लगाउने विधि सिकाउनका लागि पाठशाला सञ्चालन गरिएको हो । पाठशालामा २५ सक्रिय कृषक सदस्य सहभागी छन् ।

गत कात्तिक ३ गते आलु रोपण गरिसकेपछि प्रत्येक हप्ता प्रदर्शनी फार्ममा सहभागी भई आलु लगाउनुका साथै यसको संरक्षण गर्ने विषयमा ज्ञान लिएको समूहका अध्यक्ष भेषा पोखरेलले बताए । उनले भने, ‘गत कात्तिक ३ गते एक क्विन्टल आलु लगाएका थियौँ, हाल प्रत्येक हप्ता आएर आलुको निरीक्षण गर्छौँ ।’

पहिले परम्परागतरूपमा ड्याङ नपारी आलु लगाउने गरे पनि हाल ड्याङ पारेर आलु लगाउन सिकेको उनले बताए । घरमा भन्दा यहाँको आलु राम्रो भएको उनको भनाइ छ । गाउँपालिकाले आफ्नै क्षेत्रमा तरकारी खेती सञ्चालन गर्नुले यहाँका किसानलाई फाइदासमेत पुगेको उनले बताए । आलु पाठशाला १६ हप्तासम्म सञ्चालन गरिने कृषि शाखा प्रमुख विकले बताए । रासस

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  ९ : १५ बजे

चिकित्सा शिक्षा आयोगको बैठक : मेडिकल कलेजमा विदेशी विद्यार्थीको सङ्ख्या बढाउन छलफल

काठमाडौँ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज

अष्ट्रेलियाको सात सहरमा नेपथ्य

काठमाडौं । नेपथ्यले अष्ट्रेलियाको श्रृंखलावद्ध साँगीतिक यात्रा गर्ने भएको छ।

प्रहरीमाथि हातपात गर्नेलाई कारबाहीको दायरामा ल्याउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय प्रहरी कर्मचारीमाथि भइरहेको

‘नो केबलकार’ आन्दोलनकारीलाई फेरि वार्तामा आउन आह्वान

काठमाडौं । गृह मन्त्रालयले ताप्लेजुङको पाथीभरा मुक्कुमलुङस्थित ‘नो केबलकार’ आन्दोलनरत्

अन्तर प्रदेश समन्वय र सहकार्यबाट धेरै काम गर्न सकिन्छ : मुख्यमन्त्री आचार्य

पाल्पा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अन्तर प्रदेश सहकार्य