१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

तीन वर्षमै छिन्नभिन्न भयो विश्वकै तेस्रो ठूलो कम्युनिष्ट पार्टी ‘नेकपा’



काठमाडौं । २०७४ साल असोजमा पार्टी एकताको घोषणासहित वामपन्थी गठबन्धन बनाएर आम निर्वाचनमा संयुक्त रुपमा अघि बढेका थिए । तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको पार्टी एकता अन्ततः तीन वर्ष नपुग्दै भंग भएको छ । यससँगै संसारकै तेस्रो ठूलो र शक्तिशाली कम्युनिष्ट पार्टी बनेको नेपाल कम्युनिष्ट पार्टीको शक्ति क्षयीकरण भएको छ । नेकपाको मात्रै शक्ति क्षयीकरण भएको छैन, विकास, समृद्धि, सुशासन र शान्तिका लागि अपेक्षा गर्दै नेपाली जनताले कम्युनिष्ट शक्तिलाई पत्याएर निर्वाचनबाट दिएको भारी जनमतको पनि भयंकर अपमान भएको छ ।

नेताहरुको इगोका कारण पार्टी कसरी तहसनहस हुन्छ, पार्टी तहसनहस हुँदा देशकै राजनीतिक स्थायित्व कसरी नासिन्छ भन्ने उदारण खोज्न अब अन्त कतै जानु नपर्ने भएको छ । भोलिको दिनमा राजनीतिशास्त्र, समाजशास्त्र र अर्थशास्त्र र इतिहासको अध्येताहरुका लागि नेपालको अहिलेको अवस्था सन्दर्भसूचीका लागि काफी हुनेछ ।

२०७४ असोजको त्यो घोषणाले मंसिरमा भएको निर्वाचनमा नेपालमा पहिलो पटक वामपन्थी शक्तिको नेतृत्वमा झण्डै दुई तिहाई नजिकको जनमत प्राप्त भयो । सोही आधारमा केपी शर्मा ओली फागुनमा प्रधानमन्त्री बने । २०७५ जेठ ३ गते तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच औपचारिक रुपमा पार्टी एकता भयो । पार्टीको अध्यक्षमा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड चुनिए । ४४१ सदस्यीय केन्द्रीय कमिटी गठन भयो । नेकपाका नेता कार्यकर्ता र सिंगो देशले सोच्यो – अब वास्तवमै नेकपाले यो मुलुकको विकास र समृद्धिलाई अघि बढाउने छ । देशभक्ति र राष्ट्रवादी सोचसहितको सरकारले अन्तराष्ट्रिय कुटनीतिमा नेपालको अलग्गै पहिचान बनाउने छ । स्वतन्त्र सार्वभौम राष्ट्रमा विदेशी हस्तक्षेपरहित नेपाली मौलिकताको शासनव्यवस्था अघि बढ्नेछ ।

तर, तीनवर्ष नपुग्दै जनताको आशा अपेक्षा र भरोसामाथि चिसो पानी खन्याइएको छ । तीनवर्ष नपुग्दै नेकपा विभाजनको अवस्थामा पुगेको छ । बहुमत प्राप्त पार्टी र जनताको विश्वासमाथि घात गर्दै नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले असंवैधानिक र अलोकतान्त्रिक ढंगले प्रतिनिधिसभाको विघटन गरेपछि यसको पटाक्षेप भएको छ ।

तर, यतिबेला तत्कालिन दुई पार्टीबीचको एकता भंग नभै ती दुई पार्टी मिलेर बनेको नयाँ नेपाल कम्युनिष्ट पार्टीमा विभाजन आएको छ । विभाजनको औपचारिक घोषणा हुन बाँकी छ । तर विभाजन हुन लागेको पार्टीमा पूर्व एमाले र पूर्व माओवादीको एकता छिन्न भिन्न भन्दा पनि एकीकृत पार्टीका नेताहरु आफ्नो स्वार्थ अनुसार अलगअलग पार्टीको अभ्यासमा लागेको देखिएको छ । अर्थात पूर्व एमालेको ठूलो समुह र पूर्व माओवादीहरु एकातिर भएर हालकै नेपाल कम्युनिष्ट पार्टीको रुपमा अघि बढ्ने देखिन्छ भने पूर्व एमालेका अध्यक्षसहितको एक समुह र पूर्व माओवादीका एकाध नेतासहितको समुह मिलेर नयाँ पार्टी बन्ने बलियो सम्भावना देखिँदैछ ।

आजको दिनसम्म एकीकृत नै रहेको नेपाल कम्युनिष्ट पार्टी र यसको संस्थापन पक्षको वैधानिकताको मापन भने निर्वाचन आयोग र सम्भवतः सर्वोच्च अदालतसम्म समेत पुग्न सक्नेछ । किनकी, पार्टीको वैधानिकता प्राप्त गर्नका लागि केन्द्रीय कमिटीका ४० प्रतिशत सदस्यहरु र संसदीय दलमा ४० प्रतिशत सांसदहरु रहनुपर्छ ।

आजसम्मको अंकगणित हेर्दा नेकपामा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समुहको वर्चस्व देखिन्छ । पार्टी केन्द्रमा उनीहरुको समुहमा ६५ प्रतिशत बढी सदस्यहरु रहेको दाबी गरिएको छ भने संसदीय दलमा पनि ६० प्रशित भन्दा बढी सांसदहरु रहेको विश्वास गरिएको छ । प्रतिनिधिसभाका ९० जना र राष्ट्रिय सभाका २४ जना सांसदहरुहरुले सोमबार संसद भवनस्थित लोत्से हलमा उपस्थित भएर संयुक्त हस्ताक्षर गरिसकेका छन् । पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा केन्द्रीय कमिटी र संसदीय दलमा ४० प्रतिशत सदस्य पुग्ने अवस्था देखिँदैन । यद्यपी, नेपालको राजनीति न हो । नेता र सांसदहरु यता उता गरिरहने, शक्तिको प्रभावमा विवेक बन्धकी राख्ने परम्परालाई नेकपाका नेता र सांसदहरुले छोड्लान भन्न पनि सक्ने अवस्था छैन ।

यसको सीधा प्रभाव निर्वाचन आयोगले सनाखतको अवस्थामा पर्ने देखिन्छ । आजको दिनसम्म प्रचण्ड–नेपाल समुह हालको नेकपाको संस्थापन पक्ष हुने देखिन्छ । तर, निर्वाचन आयोगमा प्रधानमन्त्रीको छायाँले काम गर्यो भने आयोगको निर्णय पनि संसद विघटनमा राष्ट्रपतिले संविधानको धज्जी उडाउँदै ठप्पा लगाइदिए जस्तै नहोला भन्न पनि सकिँदैन ।

आ–आफ्नो समुहलाई बलियो बनाउन नेकपाका दुई समुहले आज अलगअलग केन्द्रीय कमिटी बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री निकट केन्द्रीय सदस्यहरु उनको निवास बालुवाटारमा भेला हुन थालेका छन् भने प्रचण्ड–नेपाल निकट केन्द्रीय सदस्यहरु दिउँसो १ बजे बबरमहलस्थित कार्की पार्टी प्यालेसमा भेला हुनेछन् । नेकपाको स्थायी कमिटीको बहुमतले अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई दुई दिन अघि नै कारवाही गर्ने निर्णय गरिसकेको छ । निर्णयको छायाँप्रति निर्वाचन आयोगमा पुगिसकेको छ । आज बस्ने प्रचण्ड–नेपाल समुहको बैठकले ओलीलाई पार्टी अनुशासन उल्लंघन गरेको अभियोग लगाउँदै पार्टीको साधारण सदस्य समेत नरहने गरी निलम्बन या निष्काशन गर्न सक्छ । तर यो समुहले पार्टी फुटेको घोषणा नगर्ने जनाइसकेको छ ।

उता नेकपा एमालेको निर्वाचित अध्यक्ष भएको भन्दै आफुलाई अरु कसैले कारवाही गर्न नसक्ने तर्क ओलीले गर्दै आएका छन् । ओलीले सोमबार बिहान आफु निकट सांसदहरुको भेलामा प्रचण्डलाई दयाले पार्टी अध्यक्ष दिएको भन्दै उनले आफुलाई कारवाही गरेको भन्नु सीपी मैनालीले २०२८ सालमै कारवाही गरेको जस्तो भएको टिप्पणी गरिसकेका छन् । ओलीले आफु निकट केन्द्रीय सदस्यहरुको भेलामार्फत प्रचण्ड–नेपाल निकट सबै केन्द्रीय सदस्यहरुलाई कारवाही गरी नयाँ सदस्यहरु भर्ना गर्ने सम्भावना रहेको छ । यसैका लागि ओलीले प्रचण्ड–नेपाल समुहको बैठक भन्दा अगावै आफ्नो समुहको बैठक बोलाएका हुन् ।

दुवै समुहका दाबी निर्वाचन आयोगमा पुगेपछि आयोगले निस्पक्षताका आधारमा सनाखत गरेर कुन पार्टी वास्तविक नेकपा हो भन्ने निर्णय दिनुपर्नेछ । निर्वाचन आयोगले निस्पक्ष निर्णय दिन नसकेमा यो मुद्दा सर्वोच्च अदालतसम्म पनि पुग्नेछ ।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  ९ : ०५ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग