११ बैशाख २०८१, मंगलबार | April 24, 2024

अंग्रेजी नयाँ वर्षमा रानीकोटदेखि नगरकोटसम्म स्वदेशी पर्यटक



भक्तपुर । कोरोना भाइरस संक्रमणका कारण गत चैतदेखि थलिएको पर्यटन व्यवसाय चलायमान हुने क्रम सुरु हुँदै गर्दा अंग्रेजी नयाँ वर्ष २०२१ ले आशा जगाएको छ ।

अंग्रेजी नयाँ वर्ष मनाउन भक्तपुरका पर्यटकीय क्षेत्र रानीकोटदेखि नगरकोटसम्म आन्तरिक पर्यटकले भरिएका छन् । यहाँका अधिकांश होटल आन्तरिक पर्यटकले भरिएका छन् ।

नयाँ पर्यटकीय गन्तव्य बन्दै आएको सूर्यविनायक नगरपालिका-७ गुण्डु र ८ सिपाडोलको सङ्गमस्थल ऐतिहासिक रानीकोटमा अधिकांश होटल आन्तरिक पर्यटकले नै भरिएका छन् । यहाँबाट बिहान देखिने सुन्दर हिमाली दृश्यसँगै सूर्योदयको झुल्को हेर्नेको शुक्रबार बिहान भीड थियो भने रातभरि नाचगान गरी नयाँ वर्षको उल्लासमय स्वागत गर्न स्वदेशी पर्यटकको घुइँचोले होटल पाउन मुस्किल थियो ।

उता भक्तपुरको अर्को पर्यटकीय गन्तव्य नगरकोटमा अंगैेजी नयाँ वर्षको पहिलो सूर्योदयलाई स्वागत गर्न स्वदेशी पर्यटक पुगेका थिए । हिजो बेलुका बास बसेर आज बिहान सूर्योदयसँगै हिमाली दृश्य हेर्ने पर्यटकको आगमन नगरकोटमा बाक्लो थियो । हरेक वर्ष विदेशी पर्यटकले भरिने यहाँका पर्यटकीय क्षेत्र कोरोना महामारीका कारण विदेशी पर्यटक नआए पनि स्वदेशी पर्यटकको आगमन देखेर होटल व्यवसायी उत्साहित भएका छन् ।

समुद्री सतहबाट दुई हजार मिटर उचाइमा रहेको भक्तपुरको सूर्यविनायक र काभ्रेको पनौती नगरपालिकाको सिमानामा पर्ने रानीकोटबाट काठमाडौं उपत्यका र भक्तपुर नगर मात्र होइन, विभिन्न हिमशृङ्खलासमेत अवलोकन गर्न सकिन्छ । यहाँबाट सूर्योदयसँगै कञ्चनजङ्घा, मकालु, सगरमाथा, चोयु, सिसापाङमा, मनास्लु, अन्नपूर्ण, माछापुछ्रे, गौरीशङ्कर, धौलागिरी तथा लाङटाङजस्ता आठ हजार मिटरभन्दा अग्ला आठवटा हिमाल हेर्न सकिने भएकाले पछिल्लो समय रानीकोट पर्यटकीय गन्तव्य बन्न थालेको भिलेज हाइल्याण्ड रिसोर्ट रानीकोटका सञ्चालक रामसुन्दर बकेँ बताउँछन् । सहज पक्की सडकदेखि सूर्यविनायक-रानीकोट-आशापुरी एवं सूर्यविनायक-रानीकोट-फुल्चोकी पदयात्राको रुटले रानीकोट पर्यटकको रोजाइमा पर्न थालेको बताउँदै उनले कोरोना भाइरसको महामारीको बीचमा पनि नयाँ वर्ष २०२१ को उत्साह उमङ्ग स्वदेशी पर्यटकले थपेको उनी बताउँछन् ।

नेपाली नयाँ वर्ष २०७७ सुनसान बनेको पर्यटकीय क्षेत्र अंग्रेजी नयाँ वर्षमा चलायमान बनेको बताउँदै होटल व्यवसायी बकेँ भन्छन्, “रानीकोट ऐतिहासिकरुपले मात्र नभएर सुन्दर दृश्य अवलोकनका लागि पनि उपयुक्त स्थान हो, १२ महिना पर्यटकको आकर्षण बन्न थालेको रानीकोटबाट देखिने हिमाल र सूर्योदयले नयाँ वर्षमा त झन पर्यटक खचाखच हुने गर्थे कोरोनाको बाबजुद पनि यस वर्ष आन्तरिक पर्यटकको घुइँचो लागेको देखेको पर्यटन व्यवसाय पुनः चलायमान हुने आशा पलाएको छ ।”

रानीकोटमा रु १६ करोडको लागतमा भिलेज हाइल्याण्ड रिसोर्ट होटल सञ्चालनमा आएलगत्तै कोरोनाका कारण बन्द गर्नुपरे पनि अहिले भने पुनःआशा जगाएको बकेँले बताए । आफ्नो होटल सात दिन अघिदेखि नै बुक भएकाले कतिपय आउन चाहने स्वदेशी पर्यटकलाई पनि ठाउँ दिन नसकेर अन्य होटलमा पठाउनुपरेको भन्दै उनले आज पनि होटलमा आन्तरिक पर्यटकले भरिएको बताए । कोरोनाका कारण गत चैतदेखि नै बन्द रहेका नगरकोटका सानादेखि ठूला होटल धमाधम खुल्न थालेका छन् ।

कोभिड-१९ को संक्रमण विश्वव्यापी भएपछि रित्तिएका यहाँका होटल नयाँ वर्ष २०७७ मा पहिलो पटक खाली भए पनि अंग्रेजी नयाँ वर्ष २०२१ मा भने विदेशी पर्यटक नभए पनि स्वदेशी पर्यटकको आगमन राम्रो रहेको नगरकोट बसपार्कमा रहेको होटल मेरिगोल्डका सञ्चालक गोकुल लामिछाने बताउँछन् । “मैले होटल क्षेत्रमा काम गरेको २० वर्ष बढी भयो तर यसरी होटल सुनसान भएको पहिलो पटक हो, हरेक नेपाली र अंग्रेजी नयाँ वर्षमा एक महिनाअघिदेखि सबै होटल बुक हुन्थे, सबै होटल भरिन्थे”, उनी भन्छन्, “तर यस वर्ष नेपाली नयाँ वर्षमा सुनसान रहे पनि अंग्रेजी नयाँ वर्षमा भने आन्तरिक पर्यटकको आगमनले पर्यटन क्षेत्रमा पुनः आशा पलाएको छ ।” उनले अधिकांश होटलमा ६५ प्रतिशत आन्तरिक पर्यटकको आगमन भएको बताए ।

नगरकोट नाल्दुम पर्यटन विकास समितिका उपाध्यक्ष धनबहादुर लामाले अंग्रेजी नयाँ वर्षमा विदेशी पर्यटकले खचाखच हुने नगरकोट यस वर्ष स्वदेशी पर्यटकको आगमन राम्रो रहेको बताए । कोरोना भाइरसका कारण अधिकांश होटलका कामदार घर फर्किएका र होटल बन्द भएपनि पर्यटन व्यवसाय पुनः चलायमान हुने देखिएपछि होटल पुनः सञ्चालनमा आएको बताए ।

सन् २०२० को अन्तिम दिनलाई बिदाइ गर्ने र २०२१ को पहिलो दिनको सूर्योदयलाई स्वागत गर्ने यस वर्ष विदेशी पर्यटक नभएर खल्लो भए पनि स्वदेशी पर्यटकको आकर्षण र आगमन बढेपछि ओरालो लागेको पर्यटन व्यवसायमा आशा पलाएको उनले बताए ।

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  २ : १३ बजे

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना