१६ माघ २०८२, शुक्रबार | January 30, 2026

घुम्न जाने होइन त पञ्चकोट ?



बागलुङ । ‘नवलपुर-ढोरपाटन’ प्रवर्द्धनात्मक भ्रमणमा निस्केको नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको टोली शनिबार मध्याह्न पख सर्वसिद्धिधाम पञ्चकोट पुग्यो । टोलीका सदस्यमध्ये अधिकांशले पहिलोचोटि पञ्चकोटमा पाइला राख्दै थिए ।

महासंघ गण्डकी प्रदेशका सदस्य एवं गोरखाका पत्रकार राजेन्द्र न्यौपानेले पहिलो नजरमै पञ्चकोटले रोमाञ्चित तुल्याएको प्रतिक्रिया दिए । “बागलुङ घुम्न आउँदा छुटाउनै नहुने ठाउँ रहेछ”, उनले भने । न्यौपाने मात्र होइन, भ्रमण टोलीका सबै सदस्य त्यहाँको सौन्दर्यले मोहित बने । मज्जाले घुमफिर गरे । रमाए ।

पुसको घमाइलो दिन । दन्ते लहरझैँ खुलेका हिमाल । मनोहर भू–बनोट । तलपट्टि तोरी फुलेर पहेँलै बनेका खेतबारी, रङ्गीचङ्गी घर । उस्तै आकर्षक मन्दिर र मूर्ति । जो कोहीको मन लोभिइहाल्छ, पञ्चकोट पुग्दा । शनिबारको फुर्सदले होला अन्य दिनको तुलनामा आगन्तुकको चहलपहल बढी थियो ।

कोही मन्दिरमा पूजापाठमा व्यस्त देखिन्थे । कोही सिसमहलमा रमाइरहेका भेटिन्थे त कसैलाई तस्बीर खिच्दैमा भ्याइनभ्याइ थियो । कोभिड–१९ पछिको बन्दाबन्दी खुलेर स्थिति केही सहज बनेपछि पञ्चकोटमा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको हो ।

बागलुङ नगरपालिका–६ स्थित पञ्चकोट धार्मिक र प्रकृतिप्रेमी पर्यटकका लागि उत्कृष्ट गन्तव्य मानिन्छ । मठमन्दिरको दर्शन र मनोरम प्राकृतिक दृश्यावलोकनका लागि पर्यटक त्यहाँ पुग्नेछन् । देशका विभिन्न भागबाट धर्मावलम्बीसहित पर्यटक आउने गरेको सर्वसिद्धिधाम पञ्चकोटका कार्यालय सचिव राम बहादुर क्षत्रीले बताए ।

उनका अनुसार पुस लागेयता पर्यटकको सङ्ख्या ह्वात्तै बढेको हो । “शनिबार र बिदाका दिनमा भीड नै लाग्छ, अघिपछि पनि दैनिक दुई÷तीन सय घुम्न आउँछन्”, उनले भने । टिकट काटेर सिसमहल घुम्ने पर्यटकको भने दैनिक रुपमै आँकडा भेटिन्छ । शनिबार दुई सयभन्दा बढीले रु ५० को टिकटमा सिसमहल घुमेका थिए ।

पञ्चकोट घुम्नेमध्ये झण्डै १० प्रतिशत मात्रै सिसमहल छिर्छन् । विद्यालय, सहकारीलगायत विभिन्न संस्थाबाट समेत भ्रमण टोली पञ्चकोट आउने गरेको छ । पञ्चकोट निर्माणाधीन विश्वकै अग्लो १ सय ३५ फिटको विश्व शान्ति कलश र पाँच हजार ५ सय ५५ किलोको मुक्तिनाथ महाघण्टका कारण पनि चर्चामा छ । अहिले कलश र महाघण्ट राख्नका लागि संरचना निर्माणको काम भइरहेको छ ।

कलश निर्माणमा मात्रै रु ३२ करोड लागत लाग्ने जनाइएको छ । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले विसं २०७१ मा उक्त कलशको शिलान्यास गरेका थिए । आर्थिक स्रोत जुटेमा आउँदो तीन वर्षभित्रमा कलश निर्माण सक्ने लक्ष्य लिइएको सर्वसिद्धिधाम पञ्चकोटका अध्यक्ष ऋषि प्रपन्नाचार्यले बताए ।

हालसम्म पञ्चकोटमा रु २५ करोडभन्दा बढी लगानी भइसकेको छ । धार्मिक तीर्थस्थलका रुपमा विकास गर्ने लक्ष्यसहित छ वर्षदेखि पञ्चकोटका संरचना बनाउन सुरु गरिएको थियो । सम्पदा निर्माणले पूर्णता नपाउँदै पञ्चकोट पर्यटकको रोजाइमा पर्न थालेको छ । पञ्चकोटमा आन्तरिक मात्र नभएर भारतलगायतका देशबाट पनि फाटफुटरुपमा पर्यटक आउँछन् ।

भक्तालु र पर्यटक बढेपछि स्थानीयवासी व्यवसायतिर जोडिन थालेका छन् । होटेल, रेष्टुराँ र पसल थपिँदै छन् । पर्यटनमैत्री हिसाबले संरचना बनाउनतिर गाउँले कस्सिएका छन् । पञ्चकोटको समग्र विकासका लागि गुरुयोजनामार्फत काम भइरहेको अध्यक्ष प्रपन्नाचार्यले बताए । “देशकै प्रसिद्ध धार्मिक सम्पदास्थलका रुपमा चिनाउने गरी काम भइरहेको छ”, उनले भने, “विश्वकै अग्लो कलश बनेपछि यो संसारभरका हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र बन्नेछ ।”

पञ्चकोटमा हाल गणेश, गण्डकी माताको मन्दिर, हनुमानको मूर्ति, गरुड-शिला, सत्ससङ्ग भवन, अतिथि आवास, कन्या गुरुकुल, सिसमहल, पदमार्गलगायत संरचना बनिसकेका छन् । दक्षिण भारतीय शैलीका कलात्मक मठमन्दिरले पञ्चकोटको आकर्षण बढाएका छन् । सर्वसिद्धिधामले पूर्णता पाउँदासम्म झण्डै रु दुई अर्ब खर्च हुने अनुमान छ ।

एक सय ७५ रोपनी क्षेत्रफलमा फैलिएको पञ्चकोटमा स्वामी कमलनयनाचार्य (मुक्तिनाथ बाबा) संस्थापक रहेको अखण्ड ज्योतिबाबा स्वामी श्रीजी च्यारिटेबल ट्रस्टमार्फत संरचना निर्माणको काम भइरहेको छ । सर्वसिद्धिधाम पञ्चकोट निर्माणको सङ्कल्प र पहल पनि स्वामी कमलनयनाचार्यले नै लिएका हुन् ।

पञ्चकोटको विकाससँगै मुक्तिनाथ क्षेत्र, शालिग्राम, पवित्र कालीगण्डकी नदी तथा यससँग जोडिएका धर्म, संस्कृति र सभ्यताहरुको पनि संरक्षण हुने विश्वास लिइएको छ । पर्यटकीय गतिविधिमार्फत जिल्लाको आर्थिक विकासमा पनि पञ्चकोट कोशेढुङ्गा बन्ने देखिएको छ । बागलुङ पर्यटन विकास समितिका अध्यक्ष राजु खड्काले पञ्चकोटमा पर्यटकीय पूर्वाधारको खाँचो औँल्याए ।

स्तरीय होटेल, रेष्टुराँसहित पर्यटनमैत्री खालका सेवा सुविधा विस्तार गर्दै जानु पर्ने उनको भनाइ छ । “यातायातको सेवा र पहुँचलाई थप सहज बनाउन आवश्यक छ”, अध्यक्ष खड्काले भने, “धार्मिक मात्र नभएर अन्य पर्यटकका लागि पनि पञ्चकोट आकर्षक गन्तव्यस्थल हो”, उनले भने ।

पञ्चकोटसँगै नजीकको कालिका भगवती मन्दिर, कुँडुलेको शालिग्राम सङ्ग्रहालय, भैरवस्थान, गाजाको दह, भकुण्डे लगायतका पर्यटकीय स्थललाई जोडेर एकीकृत पर्यटन विकासको योजना ल्याउनुपर्ने अध्यक्ष खड्काले बताए । छिट्टै कालिका भगवती मन्दिरदेखि पञ्चकोटसम्म सहुलियत दरमा यातायात सेवा दिने समितिको योजना छ ।

बागलुङ बजारदेखि आठ किमिको दूरीमा अवस्थित पञ्चकोट मोटरमा सजिलै पुग्न सकिन्छ । पदयात्रा रुचाउनेका लागि पनि बाटो सहज छ । पञ्चकोट नेपालका १०१ गन्तव्यमध्येमा सूचीकृत छ । बागलुङलाई गन्तव्य बनाएर आउने पर्यटकले पञ्चकोटसहित आसपासका गन्तव्यय स्थल घुम्न सक्छन् ।

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  ८ : २० बजे

अर्घाखाँचीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु

अर्घाखाँची । सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकखण्डअन्तर्गत अर्घाखाँचीको सन्धिखर्क नौटारीमा टिपरको ठक्करबाट एक

चौथो न्यू होराइजन कप छात्र भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

बुटवल । न्यू होराइजन इङ्लिस सेकेण्डरी स्कूलअन्तर्गतको न्यू होराइजन स्पोर्ट्स

जबरजस्ती करणी गरेको अभियोगमा खजुराका एक युवक पक्राउ

नेपालगन्ज । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँके

बाँके-३ का उम्मेदवार सुनारलाई रास्वपाबाट आफ्ना अभिव्यक्तिमा मर्यादा कायम राख्न निर्देशन

काठमाडौँ । बाँके क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी

पाकिस्तानी दूतावासमा कला प्रदर्शनी र कलाकार संवाद कार्यक्रम

काठमाडौं । नेपालस्थित पाकिस्तानी दूतावासमा ‘नेपाली कलाकारको ब्रसबाट पाकिस्तानका रङहरू’