१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

हिमाली जिल्ला मनाङमा निरन्तर आगलागी, मानव बस्ती जोगाउनै हम्मेहम्मे



मनाङ । मनाङ नासो गाउँपालिकाको थोचेमा मङ्गलबार रातिदेखि लागेको आगो निभ्न अझै सकेको छैन ।

आगोले बृहत् रूप लिन थालेपछि बुधबार बिहानैदेखि स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायतको टोली आगो निभाउन दिनभर खटेको थियो ।

मानव बस्ती भएको वडा नं ६ र ७ को तिल्चे नजिक आगो पुग्न लागेको छ भने वडा नं ५ थोँचे खतरामुक्त रहेको छ ।

आगो मानव बस्ती नजिकै आइपुगेकाले निभाउने प्रयासमा लागेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए। आगलागी के कति कारणले भयो भन्ने पत्ता नलागेको उनले बताए । उनले प्रहरी, सेना, सशस्त्र प्रहरी तथा स्थानीयवासी मिलेर अग्नि रेखा तयार पारी बस्ती जोगाउने प्रयास गरिरहेको जानकारी दिए ।

हिमाली जिल्ला भए पनि यसपालि हिउँ तथा पानी नपरेकाले सुकेको निगालोको झाडीमा आगलागी भएको छ । धेरै ठूला रुख नजले पनि साना बुट्यान तथा झाडी जलेको छ । अहिलेसम्म एउटा डाँडो पूरै जलिसकेको प्रमुख जिल्ला अधिकारीले जानकारी दिए ।

भिरालो भौगोलिक बनावटका कारण आगो निभाउन कठिन भएको उनको भनाइ थियो । आगोको लप्का र ढुङ्गा तातेर फुटेर खस्नाले जोखिम मोलेरै भए पनि १०० जनाको टोली आगो निभाउन खटिइरहेको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताए । उनले भने, “अहिले हामी बस्ती जोगाउने प्रयासमा छौँ, बस्तीभन्दा १०० मिटर टाढा मात्रै आगो छ ।” उनले नयाँ दाउराघाँसको आशले स्थानीयवासीले आगो लगाएको हुनसक्ने आशङ्का व्यक्त गरे ।

त्यसैगरी अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) मनाङका प्रमुख लेखनाथ गौतमले प्रतिशोधको हिसाब अथवा व्यक्तिगत फाइदाका लागि आगो लगाइएको हुनसक्ने बताए । उनले ताचैभन्दा माथिको लेकमा लागेको आगो भौगोलिक विकटताले गर्दा निभाउन गाह्रो परेको बताए । गौतमले भने, “अहिले पनि हामी आगोसँग आगो जुधाएर निभाउने प्रयास गर्दै छौँ ।” यसैबीच सदरमुकाम चामे नजिकै तलेखुमा लागेको आगो निभाइएको गौतमले जानकारी दिए ।

यसैबीच थोचे, तिल्चे र ताचैको वनमा आगो दन्कन थालेपछि स्थानीयवासीहरूले त्रसित भएको बताएका छन् । आगलागीसँगै वन विनाश हुँदा महत्वपूर्ण जडीबुटी नष्ट हुने भन्दै उनीहरुले जङ्गली जनावरको बास उठेकोमा चिन्ता व्यक्त गरेका छन् । अग्ला पहाडमा रहेको जङ्गलको आगोले मानव बस्तीलाई जोगाउनुबाहेक निभाउन गर्न कठिन हुने जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ ।

मङ्सिर ११ गतेदेखि लागेको आगो पूर्णरूपमा निभाउन नपाउँदै फेरि आगो लाग्नुले मनाङका जङ्गल जलेर सकिने हो कि भन्नेमा पीर परेको स्थानीय वडाध्यक्ष छिरङ घ्ल्पो पुनेलले बताए । किन र कसले आगो लगाएको हो भन्नेबारे दोषी पत्ता लगाई हदैसम्मको कारवाही गर्न स्थानीयवासीले माग गरेका छन् । -रासस

प्रकाशित मिति : १५ माघ २०७७, बिहिबार  ९ : ५८ बजे

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु ४८ करोड

काठमाडौंमा फेरी बढ्यो वायु प्रदूषण

काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण फेरी अब्धेको छ ।

बुटवलमा हुने हाफ् म्याराथन प्रतियोगिताको आवेदन खुला

बुटवल । जननेता मदन भण्डारीको ३१ औं स्मृति दिवस पारेर

पाकिस्तानी दूतावासद्वारा नेपाली विद्यार्थीहरुलाई एम्बेसडर अफ पाकिस्तान छात्रवृत्ति प्रदान

काठमाडौं । नेपालस्थित पाकिस्तानी राजदूतावासले नेपालका विभिन्न सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत