४ पुस २०८२, शुक्रबार | December 19, 2025

गुल्मीमा अझै रोकिएनन आपराधिक क्रियाकलाप



गुल्मी । गुल्मीमा पछिल्लो समय आपराधिक क्रियाकलाप बढ्दै गएको छ । झरफुकको नाममा तातो पन्यूले डामेर हत्या, विद्यालयमै विद्यार्थीमाथि निर्घात कुटपिटदेखि किसानका गोठमा आगलागीसम्मका घटना घटेका छन् ।

घटनाका अपराधी पत्ता लगाउन नसक्दा जिल्लामा शान्ति सुरक्षाको चुनौती बढ्दै गएको हो । इस्मा गाउँपालिका-१ का मोतीबहादुर कुँवरको गत भदौ २१ गते आफ्नै पसलमा विभत्स हत्या भयो । हत्या भएको करिब पाँच महिना पुग्न थाल्यो ।

गुल्मी प्रहरीले अहिलेसम्म अपराधमा संलग्न व्यक्ति पत्ता लगाउन सकेको छैन । लामो समयसम्म हत्या किन र कसले गरेको भन्ने विषय अन्योल भएका कारण स्थानीयवासीमा त्रास बढ्दै गएको छ । “मृतकका केही आफन्त र अन्य महिलामाथि पनि प्रहरीले शङ्का गरेको थियो”, स्थानीय वीरबहादुर खत्रीले भने, “अहिलेसम्म पनि हत्यारा पत्ता नलाग्दा स्थानीयवासीमा त्रास बढ्दै गएको छ ।”

रेसुङ्गा नगरपालिका-१४ पराल्मीका ४५ वर्षीय तुलबहादुर विक यही माघ ३ गते बिहान ११ बजे जङ्गलमा घाँस काट्न गएका थिए । सोही दिन दिउँसो २ः३० बजेतिर गुल्मीदरबार गाउँपालिका-१ को बलिथुममा मृत भेटिए । उनका छातीमा बन्दुकका छर्रा रहेका बताइएको छ । दिउँसै बन्दुकले हानेर विकको हत्या भएपछि स्थानीयवासीमा त्रास बढेको छ । गाउँमा मजदुरी गरेर परिवार पालेका विकको हत्यापछि परिवार शोकमा छन् । हत्यामा संलग्न अहिलेसम्म पत्ता लागेका छैनन् ।

त्यस्तै गत पुस २६ गते चार युवाले जिल्ला सदरमुकाममै रहेको महेन्द्र माविको कक्षा १२ मा पढ्ने इस्मा गाउँपालिका-३ का माधव पछाईँलाई मरणासन्न हुने गरेर कुटपिट गरे । पीडित परिवारले प्रहरीमा चार जनाविरुद्ध किटानी जाहेरी दिएका दिए । तीमध्येका दुई हिरासतमा छन् भने बाँकी दुई अझै फरार छन् । तम्घासकै मुख्य बजारमा झारफुकको नाममा तातो पन्यू र अन्य धातुले हानेर इस्मा-३ दर्लामचौरका ६४ वर्षीय रामबहादुर मुखियाको गत पुस २९ गते ज्यान गयो भने दुई गम्भीर घाइते भए । बिपन्न मुखिया परिवार शोकमा डुबेका छन् । दोषीलाई कडाभन्दा कडा कारवाही हुनुपर्ने माग उनीहरुको छ । “रोग सञ्चो गराउने नाममा बुवालाई गुमाउनुपर्‍यो”, मृतकका जेठा छोरा हुमबहादुर मुखियाले भने, “घटनाका दोषीलाई कडाभन्दा कडा कारवाही हुनुपर्‍यो ।”

यस्तै जिल्लामा हत्याका घटना मात्र होइन्, किसानमाथि पनि आक्रमण भइरहेको छ । चन्द्रकोट गाउँपालिका-३ हर्राचौरका शौभाग्य शाहको बाख्राफार्ममा अपरिचित व्यक्तिले गत पुस २३ गते आगो लगाइदिए । छिनभरमै फार्ममा रहेका २५ बाख्रा मरे । फार्मको संरचनासहित ७० लाखभन्दा बढीको क्षति भयो । मालिका गाउँपालिका-७ घमिरका मुमानन्द लम्सालको केरा बगानमा गत पुस २७ गते राति अपरिचित व्यक्तिले केरा फडानी गरे । त्यसका साथै पाइप र सिँचाइका सामग्रीमा क्षति गरे । तर दुवै घटनामा संलग्न अहिलेसम्म पत्ता लागेका छैनन् ।

गुल्मीदरबार गाउँपालिका-४ का ३८ वर्षीय नारायण पाध्य शर्मा चुदालीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा गत मङ्सिर ८ गते मानव बेचबिखनविरुद्धको मुद्दा दर्ता भयो । उनले गत कात्तिक २६ गते स्थानीय १७ वर्षीया बालिकालाई भारत लगेका थिए । आरोपितविरुद्ध जिल्ला अदालतले मङ्सिर १० गते पक्राउ पूर्जीसमेत जारी गर्‍यो । तर आरोपित गाउँमै डुलेर बस्दासमेत प्रहरीले आरोपितलाई पक्राउ गर्न सकेको छैन ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेयले सबै घटनाका बारेमा प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको जानकारी दिए । कतिपय घटनास्थल टाढा भएकाले जिल्लाको टिम जान नपाएको उनले बताए । साथै स्थानीयवासीबाट राम्रो साथ र समन्वय नहुँदा पनि समस्या भएको उनको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्लामा भएका घटनाप्रति आफूहरु गम्भीर रहेको बताइन् । प्रशासन नजिकै घटेका घटनाले आफूहरुको चित्त दुखेको जनाउँदै उनले घटनाका विषयमा सुरक्षा समितिमा समीक्षा भएको बताएकी छिन् । रासस

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  १० : ३२ बजे

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा