११ मंसिर २०७९, आइतबार | November 27, 2022

गहना



करीब दुई बर्षपछि क्षितिजपारिबाट घाम झुल्के झैं म अफिसबाट छुट्टी लिएर घर आउदै थिएंँ, मिलिक्क । मेरो छुट्टी पाउने क्रम पनि यस्तै थियो ,पुलिश फोर्सको जागिर भएकोले । किनकी पुलिश फोर्समा अन्य समयमा भन्दा चाडबाडमा बढी घटना घटन सक्ने भएकोले व्यारेकमा बढी सतर्कता ड्युटी पर्दथ्यो । त्यसैले एकेक बर्ष बिराएर पालैपालो गरी घर आउन पाउने सम्भावना रहन्थ्यो हामीलाई,प्रत्येक ठूलो चाडमा ।
यसपाली पनि म एक महिनाको छुट्टी लिएर घर आइरहेको थिएंँ । बाटैमा रुपाको घर पर्ने भएकोले ऊसंग जमकाभेट भयो, गोठबाट फुत्त निस्केकी रहिछ । तर…मानौं पानी खस्न लागेको बादल जस्तै मुखाकृति ।

कथाकार

उसको ओइलाएको मौनताभित्र लुकेर बसेको परिस्थितिले मलाई झस्कायो सम्भावनाका दुई कुराले । एउटा मसंगको दीर्घकालीन टाढिएको सम्पर्क । अर्को खुुशी हराएको रिक्तता र पश्चाताप । सदा मलाई देखेपछि पूर्ण फक्रिएको गोदावरी फूल जस्तै मुस्कुराउने केटी आज उसको अनुहारमा लागेको मौनताको कालो बादल देख्दा मलाई आशंकाको बरफले चिस्यायो । माइत हिडेकी नव दुलही जस्तै दुई बर्षमा उमंङ्गको पखेटा फट्कार्दै घर पुग्न लागेको फौजी मलाई ।
सानोछँदा पुतली खेल्ने बाललीला निरन्तर चल्थ्यो, हाम्रो । मापनमा दश बाह्र पाइला भए पनि छरिएको गाउँ भएकोले अरुको भन्दा नजिक थियो, हाम्रो घरको दूरी । अहिले विहापछिको उसको कर्मघर ओझेलपारि थियो । अलि टाढा, तर म हिड्ने बाटैमा ।
पुतली खेल्ने क्रममा हामी दिदीभाई, दाजुबहिनी र प्रायशः लोग्ने स्वास्नीको नाता बनेको हुन्थ्यो । अहिलेको सिने संसार जस्तै । शायद सिने संसारको पूर्वाधार । खेल्दा ऊ प्राय पुतली खेल्न मन पराउँथी भने म गुच्चामा रमाउँथे । त्यही खेल्ने क्रममा नै हाम्रो कहिलेकाहीँ ठास्स ठुस्स देखि कपाल लुछालुछसम्म हुन्थ्यो । अनि हामी रोएको सुनेर हाम्रा आमाहरु आएर छुट्याएर तुष बोकेर जानुहुन्थ्यो, हामीलाई पिट्दै ।
त्यही हाम्रो झगडालाई लिएर हाम्रा आमाहरुबीच बेलाबेलामा द्वन्द्व चलिरहन्थ्यो । अनि बोलचाल बन्द हुन्थ्यो । झगडापछि हामी आ—आफनो घर जान्थ्यौं । तर भोलीपल्ट देखि पुनः हाम्रो भेट मैत्री र सौहाद्र्धपूर्ण भैहाल्थ्यो । हामी दुबैलाई एकार्काको अतिआवश्यकता पथ्र्यो, आमाहरुको निषेधाज्ञा चिर्दै । पछि हामीहरु संगै खेलेको देखेर आमाहरुको मनको तुष क्रमशः पखालिदै जान्थ्यो । पुनः पूर्वअवस्थामा उहाँहरुको भेटघाट पनि यथावत रहन्थ्यो ।
यसरी बसाइको सामिप्यताका कारण जुरेको हाम्रो दुई बर्षे शिशुकाल देखि किशोरकालसम्मको बाल मैत्री सम्बन्धमा कुठाराघात भयो,जात नमिलेको कारणबाट । ऊ थिई क्षेत्रीकी छोरी,म थिएँं मगरको छोरो । परिवर्तन हुन नसकेको रुढ चिन्तनको भेद हाम्रो आकांक्षामा ठूलो पर्खाल बनेर खडा भयो । अनि जीवनको बाटै छुट्यो..अलग अलग धार ।
अहिले नौ बर्षको अन्तरालमा भएको उसंगको भेट अत्यन्त दुःखद रहेछ । उसको तथाकथित मुस्कुराहटपछिको मौनताले मलाई अत्यन्त बोझिल बनायो । उसको त्यो मौनता उघार्न बोझिल मनबाटै मैले कौतुहलता पोखेँ, आफूलाई हलुङ्गो पार्न ।

उसको बादल लागेको अनुहार उघार्ने प्रयास–“संचो छैन जस्तो छ नि ,के भयो रुपा तलाई? सदा मेरो आगमनमा पूmल झैं फक्रिने केटी आज म के देख्दैछु तेरो बान्कीमा ?”
उसले बोझिल आँखा उघार्दै मतिर पुलुक्क हेरी । उसका द्रबिभूत आँखा देखेर मेरो सहिष्णु पुरुष आँखा पनि द्रबिभूत हुन पुगे अनायासै । अनि मैले जिज्ञासाको औजारले फेरि उसको मुख उघार्न खोजेँ । उसले जिन्दगीमा लागेको घाउको पट्टी उघारेर देखाई, आद्योपान्त—
हामी दुईको प्रेममा कुठाराघात गरी उसका आमा बाबुले लालबाबुसंग परम्परागत बिहा गरी पठाएकोले उसको मनमा लागेको त्यो घाउको टाटो छोरो जन्मेपछि पुरिएको रैछ बिस्तारै,उसको ।

एकदिन, तिजको जात्रा हेर्न बेलासपुर चौर गइछ । उसको लालायित दृष्टि लाहुरेनीहरुको शिर देखि छात्तिसम्म र हातका औंलासम्म झुण्डिएका पहेल्पुर गहनाहरुमा पोखिएछ,– शिरफूल,ढुङ्ग्री,च्याप्टे सुन, नौगेडी र असरुपी आदि । अनि उसको कुपित मन ग्लानी र इष्र्याले भत्भती पोलेछ । जात्राबाट आएपछि त्यो इष्र्या जलन लोग्नेमाथि खन्याइछ, नारीहठको खाँमो समाएर । लोग्नेको बाध्यतालाई उसको मूर्खताले जितेपछि लोग्नेलाई हठबादी घुर्की पोखिछ–

“आफूसितका अरुका स्वास्नीहरु तीजाँ शिर देखि हातसम्म कस्तो झपक्क गहना लाएर आउँदा रछन, लाहुरेनीहरु । मेरो त त्यै एउटा मडरी मात्र लखर लखर हल्लाउनु पर्ने । एउटा नौगेडी पनि छैन । कस्तो भाग्य रछ मेरो त, यस्ता नामर्द लोग्नेसंग गुजार्नु पर्ने । हे भगवान ! यस्ता नामर्दको जोइ हुनु भन्दा त मर्दको नोकर्नी हुन बेस । हुँ हुँ हुँ….।”
आँशुका थोप्लाले लोग्नेको मन भिजाइछ ,औकात कुल्चदै ।
आफनो निरीहता र विवशता पोख्दै लालबाबुले भनेछ–“ती गुरुङ्ग मगर्नीहरुका लोग्ने लाहुरे छन्, बिदेशीको नोकर । पैसा ल्याउछन ,अनि स्वास्नीहरुले सुन झल्काउछन् । म घरको एक्लो मान्छे । किसानी गरौं कि जागिर गरौं ? पहिले छोरालाई पढाऔं ,अनि विस्तारै सुन पनि हालौंला नि । नरिसा । दुईजना मच्चिएर काम गरौँ ,छोरालाई पनि पढाऔं अनि गहना पनि जोडौंला नि हुन्न ? ”
मनजति गहनामा केन्द्रित गरेकी रुपाले लोग्नेलाई हठको डोरीले कसिछ –“नाइ मलाई पहिले गहना चाहिन्छ । अरु कुरा थाहा छैन ।”
लालबाुले समस्याको गाँठो देखाउँदै विवशता पोखे छ–“जग्गा बेचौं भने आफूलाई खानभरलाई ठीक्क छ । यही पनि बिक्री गरिदिए भोली छोरा जान्ने भएपछि के भन्ला ? बरु सबै लागेर खेतीमा मेहनत गरौं । अनि खान लाउन पनि त चाहियो ,खनी खोस्री गर्नको लागि ।”
“नाइ मलाई गहनै चाहिन्छ ..हुँ ऽहुँ …”
स्वास्नीको मूर्ख हठको घोचाइबाट बिलखबन्दमा परेको लालबाबुको मनका छालहरु भुँमरी परेर घुम्दा घुम्दै उल्टो दिशातिर तरङ्गित भएछ –

स्वास्नीको हठले हल्लाएको मन्थनमा धर्मसंकटले बाँध्यो । अनिे चिन्तनको चौतारीमा बसेको लालबाबुको विवेकको तीर दुइटा बिकल्पतिर सोझियो । जग्गा बिक्री गर्नु वा त्यही जग्गा दृष्टिबन्धक राखेर ऋण लिनु । उसले दोश्रो बिकल्प रोज्यो ,जग्गा भोगचलन गर्न पनि पाइरहने,पैसा पाएर तत्काललाई समस्या समाधान पनि हुने । जग्गा भन्या पछि निखन्दै गर्नु पर्ला । अब के गर्ने त ? स्वास्नी मान्दिन ।
किनकी त्यो भन्दा अरु बिकल्प उसंग थिएन । फौजी जागिर खाने उसको उमेरले सीमा नाघेको थियो । अरु प्रशासनतिरको कलमजीवी जागिर खान योग्यताको खुटकिलो नै पार थिएन ।
त्यसैले ऊ दोश्रो बिकल्पमा लागेको थियो,जग्गा धितो राखेर स्वास्नीको टाउको र छातिभरि झपक्क गहना लाइदिएर उसको हठमा टालो हाल्ने । अनि लाग्यो तत्कालको लागि समस्या समाधान गर्न । तर ऋणको काँडो कति बिषालु हुन्छ र त्यो पन्छाउने बिकल्प के छ, ऊसंग ? मानौं त्यतातिर उसको विवेकको सुई सोझिनै पाएन । अर्थात भ्याएन । स्वास्नीको निरपेक्ष ,निस्प्रयोजित हठसंग ऊ पराजित भैसकेको थियो ।

तत्कालको लागि त येनकेन ‘स्वास्नीको गहना हठ’ टाल्ने कामसम्म त ग¥यो उसले । तर जुन दिन मुखिया लीलामणी साहुबाट ऋणको काँडा शिरमा बोकेको थियो, उसै दिनदेखि ऊ जिन्दगीको ओरालो बाटो झरिरहेको थियो । पेशेबर शोषक मुखियाले दृष्टिबन्धकीमा दुगुना त लेखाएको थियो नै । स्वार्थनिहित कुटिलताको खाने दाँतलाई जिब्रोभित्र लुकाएर अरुलाई मूर्ख बनाउने ओठ बाहिरको दाँत खिसिक्क देखाएदै भनेको थियो–
“ तँ सोझो मान्छे छस् लाले, तलाई नपत्याउने के कुरा भो र । पछि समयमा चुक्ता गरिस् भने जति लिएको छस््ककक त्यही हिसावमा तमसुक च्यातिदिउँला” । तर उसको मुख एकातिर फर्किएको थियो भने कलमको नीब अर्कैतिर दौडिएको थियो,जहाँ उसको कुित्सत चिन्तन भरिने कागज थियो ।
प्रमुखतः समयमा चुक्ता हुने सम्भावना नै थिएन । किनकी साहुको ब्याज हिसाब र उसको ऋण तिर्ने आयश्रोत उस्तै उस्तै थियो, नटुप्पिने खालको । केवल पाँच रोपनी जग्गा उसको खाने लाउने आधारभूमि थियो । त्यसैबाट अलिअलि बचाएर छोरालाई पढाउने, नपुगे अलिकति जग्गा बेच्ने योजना थियो उसको । परन्तु परिस्थिति उसको प्रतिकुल थियो, कुहिएर झर्ने असफल प्लास्टिक सर्जरी जस्तै ।
समयको वहाव आफनै गतिमा निरन्तर अगि बढ्दै गयो,दिन–रात,उज्याली अँध्यारी हुँदै । लालबाबुलाई लागेको ऋणको घाउ दिन प्रतिदिन सड्दै,गन्हाउदै आयो । उसको जग्गामा आँखा गाढेको पेशेवर शोषक मुखियाले ऋण माग्दा बिना सोधपुछ “के खोज्याथिस काना आँखा” सोचेको रहेछ, सहजै पत्याइहाल्नुमा । तर लालबाबुको हातमा परेको भन्दा तीन गुणा ढड्डामा अङिकत भैसकेको रहेछ । त्यसको व्याज समेत जोड्दा विचरा लालबाबुको मेरुदण्ड भाँचिने खालको भयो । जति तिरे पनि कहिल्यै नटुङ्गिने ।
त्यसैले उसलाई ऋणको भारी ढुंगा जस्तै साह्रो र गहु्रंगो हुदै गयो दिन प्रतिदिन । गहनाको खुशीमा उडेकी रुपाको ध्यान अझै त्यतापट्टी तानिन भ्याएको थिएन ।
एकदिन,गहना धोकोले पारेको बेहोसीबाट व्युँझाउन, पछिल्तिरबाट पश्चातापले लखेट्न लागेको कुरा बुझाउन लालबाबुले झकझकाउन खोज्दै भन्यो–
”रुपा ! अब तेरो गहनाले साहुको चक्रबृद्धि व्याजले जग्गा सबै जाने भयो, अब हामीसंग पश्चाताप मात्र बाँकी रहने भयो । तलाई थाहा छ कि छैन ?”
लोग्नेको झकझकाईबाट ब्रह्म हल्लिएपछि रुपाले भनी– “ए हो र? त्यसो भए यही गहना बेच्ने होकि त? यो सुन्दा अब त मलाई पनि यो सुन फलाम भएर आयो । गहनाको मोह लाग्न छाड्यो ।”
रुपाको मुखदेखि फुत्किएको वाक्य सम्हालेर लालबाबुले धक्का दिँदै भन्योे–“हगिसकेपछि बल्ल दैलो देखिस् । सोहोर अब तैँ । पहिले नै भन्या हैन मैले ? ‘घाँटी हेरेर हाड निल्नुपर्छ’ भनेर ? बेलैमा बुद्धि पु¥याएको भए के हुन्थ्यो ?” यति स्वास्नीको होस खुलाए पनि अब उससंग अरु विकल्प बचेको थिएन ।
अन्तत्वगत्वा भाका पुगेकै दिनमा मुखिया साहुले जग्गामाथि कब्जा जमायो । मानौं कुटिल साहुको गुप्ती कागजले लालबाबुको छातिमाथि कब्जा जमायो । अब त सुनले पनि धान्ने भएन । स्कूल पढन लागेको छोराको पढाइ पनि बरालियो, फिस तिर्ने पैसा नभएर । पुर्खाको सम्पत्ती भनेर मुटुको धडकनमा जतन गरी सेवा गर्दै आएको भूमिरुपी छातिमाथि साहुको लात परेपछि मूर्छा भएको लालबाबु उसैदिन सदाको लागि चिरनिन्द्रामा परेछ ।
पतिको अवसान र छोराको पढाइको गतिमा तुषारापात भएपछि बल्ल रुपाको होस खुलेछ, पश्चातापले गाला पट्काउँदा………. ।

उसको स्तव्धताले मेरो दिमागलाई पनि बरफले डाम्यो । मेरो सामथ्र्य भन्दा बाहिर भए पनि उसको मनको गहिरो घाउको पीडालाई थामथुम पार्न अलिकति ड्रेसिङ्ग गरिदिने प्रयास गरेँ,सहानुभूतिको –
“तेरै निरपेक्ष हठका कारण तेरो जिन्दगी सिमसारमा फसेर छटपटिएको घायल पंक्षी जस्तो भएको रहेछ । यो तेरो ठूलो भूल भयो, सानोछँदा देखाउने गरेको बालहठ जस्तै । उमेरले तलाई तिखारेको रहेनछ,अझै । बल्ल होस आयो होला । उसले त भनेकै रहेछ, ‘घाँटी हेरेर हाड निल्नुपर्छ, नत्र ज्यानै जानसक्छ’भनेर । बुझेर गरेको हठले काम गर्छ,नबुझेर गरेको बालहठले धोका दिन्छ ।
यो “तँ” एकाक्षरी शब्द सानो छँदाको आत्मीय सम्बोधन शब्द कायम थियो, हाम्रो, दोहोरो ।

पारिवारिक उन्नति कसरी गर्ने? घर संसारलाई गरिमापूर्ण र समृद्ध पार्नको लागि लोग्नेलाई कस्तो किसिमको टेवा पुर्याउने ? भन्ने पाको चिन्तनतिर नलागेर अरुले घोडामा चढेको देखेर आफू मुढामा चढन खोजिस । त्यसैले त्यसको दुस्परिणाम भोग्नुप¥यो, तैँले आखिर ।
हेर् रुपा ! गहना भन्ने कुरा केवल मान्छेहरुको आडम्बरको प्रतीक हो । ढोङ मात्र हो । यो सम्पन्नताको अभिमानी ढोङ । अतिरिक्त फुर्मासी । अतिरिक्त पुगिसरी आए त सम्पत्ति पनि हो । सुशिक्षित ,बोैद्धिकताको उच्च स्थानमा पुगेका विदुषी महिलाहरुले यस्ता बन्धन र विभेदका प्रतीकहरुलाई त्यति महत्व दिदैनन् । महत्व दिन्छन, मरेर बाँचिरहने यशको लागि । अर्थात आपूm उभिएको समाजमा उदाहरणीय उत्तम काम गरेर चिनिने कर्महरु । ऊ….मेरी श्रीमतीलाई ठीक्कैको गहना हालिदिएकोछु,। ऊ मेरो मायाबाट पर्याप्त खुशीछे । ऊ मलाई यो चाहियो, त्यो चाहियो कहिल्येै भन्दिन । केवल राम्रोसंग खेतीपाती र पशु पालन धानेर आर्थिक उन्नतिकै ध्याउन्नमा छे,।
जे वित्यो । सो वित्यो,वितिसक्यो । सुद्धी र बुद्धी एकार्काको पर्याय सुद्धी आएपछि बुद्धी पनि आउँछ रे भन्छन् विद्वानहरुले । अब सुद्धीलाई सम्हालेर बुद्धीले काम गर । पश्चातापलाई पछाडि छोडिदे । चिन्ताको पछि लाग्यो भने त्यसले मृत्युको रौरव गर्तमा पु¥याउँनेछ । खेतबारीमा आउने सबै ऋतुहरु जस्तै मानिसको जीवनमा पनि उकाली ओरालीहरु आउँछन्,जान्छन् । तँ आफैले रोजेको यो पीडाको पनि उपचार अवश्य छ । बरु समयको डुङ्गामा छोराको र आफनो प्रतिबिम्ब उतारेर हेर, यसले अवश्य तारण गर्नेछ,तलाई । विभिन्न दुषित वस्तुबाट बनेको बजारिया प्याला भन्दा आफनै आँशुबाट बनेको माटोको प्याला सुन्दर लाग्छ ।”
पश्चातापले ग्रसित उसको मानसिकतामा मेरो वाणीबाट दिमागी तन्तुमा हलचल गराएछ क्यारे, स्थिर भएर भावना पोखी–। तैले भनेकै सत्य रहेछ । छियाछिया भएको मेरो मुटुलाई के गरुँ त, म अब…तैँ भन् न त.?” ।
मैेले भनें “अब जतन गरेर छोराको भविष्यलाई बलियो धागोले तानतुन पारेर राख, ताकि उसको लामो भविष्यमा कतैबाट अँध्यारो छायाँ नपरोस । बरु तलाई रसातलमा पु¥याउने तिनै फाल्तु गहनाहरु बेचेर धेरै दूधदिने गाइभैंसी र बाख्रा किनेर पाल । शोकलाई हिम्मतमा बदल । तेरो भविष्य तेसेैले उकालो लाउँनेछ ।”
अन्ततः सुद्धी फिराउदै उसले भनी–“अति राम्रो सत्य कुरा गरिस् मदन तैले । यो टुहुरो छोराको लागि पनि मैले आफनो जीवन सम्हालेर केही गर्नुपर्ने भएको छ । तैले जे भनिस् त्यही गर्छु ।

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार  ३ : १९ बजे

लुम्बिनी बौद्ध विश्वविद्यालयले १८ औं स्थापना दिवस सप्ताहव्यापी रुपमा मनाउँदै

बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयले आफ्नो १८ औं स्थापना दिवस

इलामबाट उदाए एमालेका महेश बस्नेत, झलनाथ खनाल पराजित

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ

माइतीघरमा लैंगिक हिंसाविरुद्ध सचेतनामूलक पर्फमेन्स आर्ट

काठमाडौं । काठमाडौंको माइतीघरमा लैंगिक हिंसाविरुद्ध सचेतनामूलक पर्फमेन्स आर्ट प्रस्तुत

चेतन अयडीको हत्यारालाई कारबाहीको माग गर्दै अनेरास्ववियुको प्रदर्शन

काठमाडौं । अनेरास्ववियुले चेतन अयडीको हत्यारालाई कारबाहीको माग गर्दै प्रदर्शन गरेको

गण्डकी प्रदेश : प्रत्यक्षमा कांग्रेस, समानुपातिकमा एमाले पहिलो

गण्डकी प्रदेशसभामा स्याङ्जाको क्षेत्र नं २ मा बाहेक सबै निर्वाचन