काठमाडौं । पछिल्लो राजनीतिक परिस्थितिबारे धारणा तय गर्न बसेको नेपाली कांग्रेस संसदीय दलको बैठक पर्ख र हेर कै दुविधामा अलमलिएको छ ।
संघीय ससंद भवन नयाँवानेश्वरमा शुक्रबार बसेको संसदीय दल बैठक समसामयिक राजनीतिक विषयमा छलफल भएपनि निष्कर्षमा पुग्न सकेन । बिहीबार बसेको पदाधिकारी बैठकले संसदीय दलको बैठक पनि सांसदहरुको धारणाका आधारमा निष्कर्षमा पुग्ने निर्णय गरेको थियो । तर शुक्रबार बसेको संसदीय दलमा २९ जना सांसदहरुले धारणा राखेको भएपनि राजनीतिक विषयमा लिने निर्णयबारे भने दल निष्कर्षमा पुग्न सकेन ।
आगामी आईतबारको प्रतिनिधिसभा बैठकमा नेकपाका सांसदहरुको भूमिकाको विश्लेषण गरेर मात्रै कांग्रेसले निर्णय गर्ने भएको छ । बैठक पछि संचारकर्मीलाई प्रतिक्रिया दिँदै प्रमुख सचेतक बालकृष्ण खाँडले कांग्रेसले उचित समयमा उचित निर्णय लिने बताए ।
खाँडले भने, ‘बैठक प्रारम्भ भएपछि बैठकभित्र राजनीतिक दलका साथीहरुले खासगरी नेकपाका साथीहरुले कसरी आफूलाई प्रस्तुत गर्नुहुन्छ, ती सबै कुराहरुलाई गम्क्भीरतापुर्वक समिक्षा, विश्लेषण गरेर कांग्रेसले उचित समयमा उचित निर्णय गर्छ । ‘
बैठकले प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाले संविधानवाद र लोकतन्त्रको विजय भएको निष्कर्ष निकालेको छ ।
त्यसैगरी कोभिड-१९ को खोप सबैलाई दिलाउने गरि बन्दोबन्द मिलाउन र कोभिडको समयदेखि बन्द भएका सिमा नाकाहरु स्वास्थ्य सर्तकताको मापदण्ड अपनाएर अबिलम्ब सञ्चालनमा ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।
प्रतिक्रिया