७ आश्विन २०८३, बुधबार | September 23, 2026

नेपालमा अब कुनै प्रकारको अशान्ति छैन : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब कुनै प्रकारको अशान्ति नरहेको बताएका छन् ।

राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयद्वारा २०औँ स्थापना दिवसका अवसरमा आज सिंहदरबारमा आयोजित कार्यक्रममा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष ओलीले नेपाल अब विकास र सुशासनको बाटामा अघि बढेको बताए ।

हिंसाको बाटामा हिँडेकालाई शान्तिको मूलधारमा ल्याउन आफ्नो सरकार सफल भएको जनाउँदै ओलीले पृथकतावादी सोचलाई समेत टुङ्ग्याइएको बताए । “हामी राष्ट्रिय एकताको भावका साथ अघि बढेका छौँ”, प्रधानमन्त्री ओलीले भने, “अब देशमा हिंसाको अन्त्य भएको छ, नेपाल शान्तिको नयाँ युगमा प्रवेश गरेको छ ।” यसका लागि सुरक्षा परिषद्को नीतिले पनि उल्लेख्य काम गरेको उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले आफू राष्ट्रिय एकताको भावका साथ अघि बढेको तथा देशमा शान्ति, सुशासन र राष्ट्रिय एकताको ढोका खोल्ने काम आफूले गरेको स्पष्ट पारे । छिमेकी देशसितको सम्बन्ध सुमधुर बनाइएको जनाउँदै ओलीले केही समस्या भए वार्ताका माध्यमबाट नै हल गरिने स्पष्ट पारे । उथलपुथल र उतारचढावका समयमा परिषद्को सचिवालयको स्थापना भएको स्मरण गराउँदै प्रधानमन्त्री ओलीले हासिल गरिएका अनुभवका आधारमा काम गर्दै अघि बढ्न सुझाव दिए ।

नेपाली सेनाको परिचालन र प्रयोग सही ढङ्गले हुँदै आएको बताउँदै उनले नेपाल विश्वमा शान्ति स्थापनाका पक्षमा रहेको स्पष्ट गरे । “ठूलो होस् वा सानो देश, विश्वमा न्यायोचित हकको रक्षाका लागि मात्र सेना परिचालन गरिनुपर्छ”, प्रधानमन्त्री ओलीले भने । विश्वमा अर्काको अहित हुने गरी सेनाको परिचालन गर्न नहुनेमा उनको जोड थियो ।

असहज र अप्ठयारो अवस्थामा सेनाको प्रयोग गरिँदै आएको प्रसङ्ग जनाउँदै प्रधानमन्त्री ओलीले सुरक्षा, सेवा र निर्माणका काममा सेना अहोरात्र खटिँदै आएको स्मरण गरे । अन्तरराष्ट्रिय क्षेत्रमा समेत नेपाली सेनाले शान्ति स्थापनार्थ उल्लेखनीय योगदान दिँदै आएको बताउँदै प्रधानमन्त्रीले भने, “सेनाले आफू जोखिम मोलेर भए पनि शान्ति स्थापनाका लागि काम गर्दै आएको छ ।”

विश्वसनीय र भरपर्दो निकाय नेपाली सेनाले सेवा र निर्माणका क्षेत्रमा जनताको मन छुने गरी काम गर्दै आएको प्रधानमन्त्रीले बताए । कतिपय समयमा सेनालाई अनावश्यक विवादमा तान्ने कामसमेत भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले सेनाले आफ्नो प्रतिष्ठा जोगाएर काम गर्दै आएको छ भने । “सेना जस्तो संस्थालाई वादविवादमा तान्न उचित हुन्न”, उनले जोड दिए ।

जनतालाई भ्रममा पार्ने तत्त्वसँग सचेत हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले मूल कानून संविधान मानेर सबै अघि बढ्नुपर्ने सुझाव दिए । परिषद्को स्थापना लड्न र भिड्नलाई मात्र नभएको स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले यसको काम शान्ति सुरक्षाको वातावरण कायम गर्नु भएको जनाए ।

सो अवसरमा प्रधानमन्त्री ओलीले परिषद्को सचिवालयको हाताभित्र वृक्षरोपणसमेत गरेका थिए । कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेल, परिषद्का सदस्य गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, मुख्यसचिव शङ्करदास वैरागी र प्रधानसेनापति पूर्णचन्द्र थापा, रक्षासचिव एवं परिषद्का सदस्य–सचिव रेश्मीराज पाण्डे, सुरक्षा निकायका उच्चपदस्थ अधिकारी, कर्मचारी, सञ्चारकर्मीलगायतको सहभागिता थियो ।

परिषद् सचिवालयको स्थापना २०५८ फागुन २७ गते गरिएको हो ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ४ : ५५ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११