काठमाडौं । सरकारले प्रतिनिधिसभाको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।
आज बिहान बसेको मन्त्रिपरिषद बैठकले आजै दिउँसो १ बजेदेखि अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो । अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय भएको एक मन्त्रीले बताए ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिद्वारा संसदको अधिवेशन आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था रहेको छ ।
सर्वोच्च अदालतले गत फागुन ११ गते प्रतिनिधिसभा विघटन असंवैधानिक भएको ठहर गर्दै फागुन २३ गते संसदको अधिवेशन बोलाउन आदेश दिएको थियो । सोही आदेशअनुसार सरककारले अधिवेशन बोलाउन बाध्य भएको थियो । तर, राष्ट्रिय सभाको अधिवेशन नबोलाएर सरकारले प्रतिनिधिसभाको मात्रै अधिवेशन बोलाएको थियो ।
अधिवेशनमा सरकारले संसद संचालनका लागि कुनै विजनेश नदिएको भन्दै आलोचना हुँदै आएको थियो । तर प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुखले नै सरकारले पेश गरेका विधेयक अघि नबढाएर संसद चलाउन नचाहेको आरोप लगाउँदै आएका छन् । हिउँदे अधिवेशनलाई विधेयक अधिवेशन भनिने गरेपनि सरकारले यौटा पनि विधेयक यो अधिवेशनमा पेश गरेन ।
अब जेठ १५ गते बजेट प्रस्तुत गर्नैपर्ने संवैधानिक बाध्यताका कारण केही दिनभित्रै संसदको वर्षे अधिवेशन आह्वान गर्नुपर्छ ।
प्रतिक्रिया