१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

निषेधाज्ञामा बलमिचाइँ



काठमाडौं । कोरोना भाइरस संक्रमण कायमै रहेको र निषेधाज्ञा जारी रहेकै बेला काठमाडौं उपत्यकाका सडकमा सवारी जाम हुन थालेको छ ।

महामारीको यो घडीमा मुख्यतः दुई कारणले निषेधाज्ञा उल्लंघन भइरहेको देखिन्छ । एक, बाहिर कस्तो रहेछ भन्दै हेर्न निस्किने । दुई, रोजीरोटी र बिरामीको हेरचाह गर्नुपर्ने बाध्यता ।

विज्ञ भने सरकार आफ्नो दायित्व एवं कर्तव्य पूरा गर्न चुकेका कारण जनताले निषेधाज्ञा उल्लंघन गर्न सुरु गरेको तर्क गर्छन् । जनस्वास्थ्य विज्ञ डा। बाबुराम मरासिनी राज्य अभिभावक भएकाले पहिलो सर्तका रूपमा राज्यले नै कर्तव्य पूरा गर्नुपर्ने बताउँछन् ।

‘सरकारले कर्तव्य पूरा गर्ने हो। त्यसपछि नागरिकलाई पनि आफ्नो कर्तव्य सम्झाउने र पालना गर्न लगाउनुपर्छ’, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशकसमेत रहेका डा। मरासिनी भन्छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा। सुशीलनाथ प्याकुरेल राज्यले ६ वटा दायित्वलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न नसकेको बताउँछन् । कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले ६ टी ९टेस्टिङ, ट्राभल रेस्ट्रिक्सन, टे«सिङ, ट्रयाकिङ, ट्रिटमेन्ट, टुगेदर ०को रणनीति बनाए पनि कार्यान्वयन नगरेको डा। प्याकुरेको भनाइ छ ।

‘राज्यको अधिकार र कर्तव्यसँगै जनताको पनि अधिकार र कर्तव्यको कुरा आउँछ। राज्य र जनताबीचको कर्तव्यबीच नै सामञ्जस्यता भएन । आपसमा मेल खाएन’, डा। प्याकुरेल भन्छन् । निषेधाज्ञा गर्नु सरकारको अधिकार भए पनि ‘६ टी’को रणनीति कार्यान्वयन र खोपको व्यवस्थापन सरकारको कर्तव्य भएको उनी बताउँछन् । ‘सरकारले कर्तव्य निभाउँदै निषेधाज्ञा पनि लगाएको भए जनताले वाहवाही गर्थे निषेधाज्ञाको पनि विरोध नगरी पालना गर्थे’, उनी भन्छन्, ‘जनताले पनि सरकारले भने झैं जनस्वास्थ्यको मापदण्ड पालना गरेर बस्नु कर्तव्य हो ।

भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, सेनिटाइजर लगाउने जनताको कर्तव्य हो। सरकारको ६ टीको रणनीति अनुसार कोरोना भाइरसको परीक्षण (टेष्टिङ) उपचार (ट्रिटमेन्ट) सँगै खोप लगाउन पाउनु पनि जनताको अधिकार हो ।’ जनताको अधिकतम हित र रक्षा गर्नुनै सरकारको पहिलो कर्तव्य हो । त्यो दायित्व पूरा गर्न सरकारले प्रहरी प्रशासन लगाएर निषेधाज्ञाको कार्यान्वयन गराइरहेको छ । यस कार्यमा विशेष गरी नेपाल प्रहरी खटिएको छ ।

प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवर कतिपय व्यक्ति मोटरसाइकल वा गाडी लिएर बिनाकाम बाहिर निस्केको पाइएको बताउँछन । ‘मुलुकभर दैनिक हजारौं व्यक्तिलाई सम्झाइबुझाइ गर्नुपरिरहेको छ’, प्रवक्ता कुँवर भन्छन्, ‘कोरोना भाइरसबारे सचेत गराइरहेका छौं। नियम नमान्नेहरूका कारण चेक प्वाइन्टमा भनाभन समेत हुने गरेको छ ।’ प्रहरी प्रवक्ता कुँवर निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउने क्रममा दुव्र्यवहार र आक्रमणसमेत सहनुपरिरहेको बताउँछन् । ‘प्रहरीका साथै अन्य सुरक्षा निकायलगायत सरोकारवालाहरूसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तीव्रता दिइएको छ’, उनी भन्छन् ।

काम विशेषले बाहिर निस्केका कतिपय भने प्रहरीले बीच बाटोमै रोकिदिँदा अलपत्र परेको गुनासो समेत गर्छन् । ‘निषेधाज्ञाको समयमा बाहिर हिँडडुल गर्नुहुँदैन’, मानवशास्त्री सुरेश ढकाल भन्छन्, ‘कतिपयले नियम÷कानुन पेलेर हिँडेका हुन सक्छन् । कतिपय साँच्चिकै आवश्यक काम परेर हिँडेका हुन सक्छन् ।’

मन्त्रालयका प्रवक्ता डा। कृष्णप्रसाद पौडेल कोरोना संक्रमितको संख्या घटे पनि अवस्था सन्तोषजनक भइनसकेको बताउँछन् । ‘स्वास्थ्य मापदण्ड पालना नगरी घरबाहिर जथाभावि निस्कनु जोखिमपूर्ण छ’, प्रवक्ता डा। पौडेल भन्छन् । पछिल्लो २४ घण्टामा सोमबार मुलुकभर ३ हजार ३ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८५ हजार ५ सय ४४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

सम्झाइबुझाइमै जोड

प्रहरीले निषेधाज्ञा उल्लंघनकर्तालाई सम्झाइबुझाइ गरेर घर/डेरामा फर्काउने गरेको छ । प्रहरीले एक साता (जेठ १७) यता अनावश्यक रूपमा बाहिर हिँडेका २५ हजार २ सय २० जनालाई सम्झाइबुझाइ निवासस्थान पठाएको छ । एक सातायता मुलुकभर ५३ हजार ८ सय ९४ जनालाई विभिन्न पर्चा पम्प्लेट दिएर कोरोना भाइरस संक्रमणविरुद्ध सचेत तुल्याएको छ ।

कतिपय स्थानमा प्रहरीले पनि आक्रोशपूर्ण व्यवहार गरेको देखिन्छ । रौतहटको गरुडा नगरपालिका-२ गेडहिगुठीमा आइतबार साँझ रमझम थियो । निषेधाज्ञाका बेला डिजे बाजा बजाएर रमाइलो गर्ने भीडभाड बढ्दै थियो । भीडभाड नगर्न र मास्क लगाउनका लागि सम्झाउन गएका सात प्रहरीलाई स्थानीय युवाले हातपात गरे । डीएसपी द्वारिका घिमिरेको करङ भाँच्चिएको छ । अन्य घाइते छन् ।

मानवशास्त्री ढकालका अनुसार निषेधाज्ञा अवधिमा कुनै ठाउँमा प्रहरीमाथि जनताले आक्रोशपूर्ण व्यवहार देखाएका छन् । ‘कुनै स्थानमा सर्वसाधारणले प्रहरीमाथि आक्रमण गरेका छन् । कुनै ठाउँमा अप्ठेरो परेर काममा हिँडेका सर्वसाधारणलाई पनि प्रहरीले बीच बाटोमा रोकेर बिल्लिबाँठ (अलपत्र) पारेको उदाहरण पनि छन्’, ढकाल भन्छन्, ‘यो प्रवृत्तिलाई एउटै प्याकेजमा राखेर हेर्न मिल्दैन ।’ कतिपय व्यक्ति कामै नभइकन निषेधाज्ञा हेर्न भनेर बाहिर हिँडडुल गरिरहेको उनको भनाइ छ ।

ढकालको भनाइप्रति सहमति जनाउँदै प्रहरीका एक डीआईजी भन्छन्, ‘प्रहरीमाथि दैनिक दुव्र्यवहार भइरहेको छ । सरकारप्रतिको असन्तोषलाई व्यक्त गर्ने क्रममा सर्वसाधारणले प्रहरीमाथि आक्रोश पोखिरहेका छन् ।’ मुलुकका विभिन्न जिल्लामा आइतबार ३ हजार ५ सय ७८ जना सवारी साधन चढ्दै निषेधाज्ञा उल्लंघनमा सक्रिय भेटिए । तीमध्ये २ हजार ५ सय ५३ जना मोटरसाइकल चढेका थिए । १ हजार २५ वटा गाडीमा सवार थिए । निषेधाज्ञा उल्लंघनकर्तालाई प्रहरीले केही गरेन । नियन्त्रणमा लिएका सवारी साधनलाई आवश्यक सोधपुछपश्चात् छाड्ने गरिएको छ । देशभर सञ्चालित ८५ वटा माइकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको सचेतनामूलक कार्यक्रमअन्तर्गत ५ हजार ४ सय ८९ जनालाई सचेत गराइएको प्रहरी प्रवक्ता कुँवर बताउँछन् ।

तपाईंको मास्क खोइ ?

कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि प्रहरीले ‘तपाईंको मास्क खोइ ?’ कार्यक्रम सञ्चालन गरिरहेको छ । हालसम्म ४ लाख ५२ हजार ८ सय ७४ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ । ‘हरेक दिनजसो औसतमा ६ सय जनालाई मास्क वितरण गर्छौं,’ प्रहरी प्रवक्ता कुवँर भन्छन् ।

जनताको अधिकार पूरा गर्नुनै सरकारको कर्तव्य भएको डा.प्याकुरेलको भनाइ छ । भन्छन्, ‘सरकारका संयन्त्रहरू धेरै छन् । सबै संयन्त्रलाई प्रभावकारी ढंगले परिचालन नै गर्न चुकेको अवस्था छ । कोरोना रोकथामका लागि निषेधाज्ञा नै अचुक रामवाण होइन । परीक्षणको दायरा पनि बढाइएको छैन । उपचार पनि राम्रो हुन सकेको छैन । यस्तो बेला घरभित्र थुनिएर बसिराख है भन्दैमा को बस्छ र ?’ देशभर सञ्चालित ९५ वटा माइकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको सचेतनामूलक कार्यक्रमअन्तर्गत हरेक दिन सचेत गराउँदै आएको छ । समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलबार  ७ : ४८ बजे

आजदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै

काठमाडौं । कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ सुरुहुँदै छ

आजको : पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ