१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

पर्यटक घुमाउने हात्ती पाल्नै मुस्किल



चितवन । निषेधाज्ञासँगै होटल व्यवसाय बन्द हुँदा हात्ती पाल्न कठिन हुन थालेको छ ।

चितवन राष्ट्रिय निकुञ्ज र सामुदायिक वनमा घुमाउनका लागि पालिएका हात्ती पर्यटक नआएपछि पाल्न मुस्किल भएको हो । कोभिड-१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागु गरेको निषेधाज्ञासँगै पर्यटन व्यवसाय ठप्प छ ।

सौराहामा निजी क्षेत्रका ५५ वटा हात्ती छन् । निजी हात्ती सञ्चालन गर्नेहरुको संस्था युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीले हात्ती पाल्न कठिन भएको बताए । उनका अनुसार दैनिक एउटा हात्तीलाई २० किलो धान, सखर, गहुँलगायत खाद्यान्न, दुई क्वीन्टल हाराहारी घाँस पराल र २५० लिटर पानी आवश्यक पर्दछ ।

सातामा एक पटक नुन, जुकाको औषधिलगायत सामग्री खुवाइने उनले जानकारी दिए । उनका अनुसार एउटा हात्ती पाल्न मासिक एक लाख रुपैयाँभन्दा बढी खर्च हुन्छ । उनले भने, “निकुञ्जभित्र घाँस खेर गएको छ, हामीले हात्तीलाई खुवाउन पाएका छैनौं ।”

कोभिडपछि मात्रै सौराहामा १२ वटा हात्ती विस्थापित भइसकेको उनले जानकारी दिए । व्यवसायीले विस्थापित मात्रै भने पनि ती हात्ती भाडामा ल्याएका फिर्ता तथा पाल्न नसकेर बिक्री गरेका हुन् । व्यवसायीले यकिन तथ्याङ्क नदिए पनि सौराहामा रहेका हात्ती एउटाको रु ८० लाखदेखि एक करोडसम्ममा बिक्री हुने गरेको छ ।

ती हात्ती भारतको गुजरातमा लैजाने गरेको बताइएको छ । सङ्कटापन्न वन्यजन्तु तथा वनस्पति प्रजातिको व्यापार सम्बन्धी महासन्धि (साइटिस)ले हात्तीलाई अनुसूची-१ मा राखेको छ । व्यापारका कारणले अझै खतरामा पर्ने हुँदा अनुसूची-१ मा परेका जीव जनावरलाई व्यापार वा ओसारपसार गर्न पाइँदैन । त्यसैकारण यहाँका व्यवसायीले हात्ती बिक्री गरेको स्वीकार गर्दैनन् ।

उनले भने, “हात्ती पाल्ने जिम्मेवारी व्यवसायीको मात्रै होइन, यसको दायित्व सबैले वहन गर्नुपर्छ ।” हात्ती विनाको सौराहा कल्पना गर्न नसकिने भन्दै उनले सबैको साथ र सहयोग नपाएमा केही वर्षभित्रमा हात्तीविहीन सौराहा बन्ने खतरा भएको जानकारी दिए ।

क्षेत्रीय होटल सङ्घका अध्यक्ष दीपक भट्टराई चितवन राष्ट्रिय निकुञ्जमा पटक पटक आग्रह गरिएको भए पनि चरिचरणको व्यवस्थापन हुन नसकेको बताए । रकम तिरेर कुमरोज सामुदायिक वनबाट केही घाँस ल्याएको भए पनि पर्याप्तता नभएको उनको भनाइ छ । हात्तीको चरिचरणका लागि राज्यका तर्फबाट सहयोग हुनुपर्ने भट्टराईले बताए । स्थानीय तहले हात्ती राखेबापत कर समेत लिने गरेको भन्दै उनले कर छुट गराउन समेत पहल गरिएको जानकारी दिए ।

रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले जिल्ला विपद् व्यवस्थान समितिको बैठकमा समेत आफूले निकुञ्जभित्र हात्तीलाई चरिचरणको व्यवस्था गर्न माग गरेको बताए । उनले जनताको जमिन नदी कटान भएर निकुञ्जतर्फ परेको ठाउँमा समेत चरिचरण गर्न नपाएको भन्दै यस्तै अवस्था रहे सौराहाबाट हात्ती विस्थापित हुने चेतावनी दिए । हात्ती सफारी निकुञ्ज घुम्न आउने पर्यटकका लागि मुख्य गतिविधि हो । यहाँ आउने अधिकांश पर्यटक हात्ती चढेर निकुञ्ज आडका मध्यवर्ती सामुदायिक वनमा वन्यजन्तु हेर्न जान्छन् । हात्तीमा नै चढेर बाघ, गैँडा, मृग, हरिण, बँदेलजस्ता जनावारसँगै चराचुरुङ्गी हेरेर रमाउने गर्दछन् ।

गत वर्ष कोरोना सङ्क्रमणका बेला केही समय राप्ती किनारमा हात्तीका लागि निकुञ्जले घाँस काट्न दिएको भए पनि पछि रोक लगाएको थियो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले व्यवसायीले चरनका लागि माग गरेको विषय आफूले निकुञ्ज विभागमा लिखित रुपमा पठाएको भए पनि कुनै निर्णय भइनसकेको बताए । व्यवहारिक रुपमा हात्ती पाल्न कठिन भए पनि नीतिगत रुपमा हात्तीलाई निकुञ्जमा चरणका लागि ठाउँ दिन नसकिएको उनको भनाइ छ । उनले भने, “माथिल्लो निकायबाट निर्णय हुन सकेमा सहज हुन्थ्यो ।” रासस

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  ८ : ३९ बजे

खुमबहादुर खड्कालाई भ्रष्टाचारको झुठ्ठो मुद्दामा फसाइयो, उनको योगदान अतुलनीय छ : सभापति देउवा

दाङ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस नेता खुमबहादुर

एन आई सी एशिया बैंकले मनायो सप्ताहव्यापी ‘ग्लोबल मनी विक २०२४’

काठमाडौ । एन आई सी एशिया बैंकले वित्तीय साक्षरता अभिवृद्धि

मन्त्री फेरिँदैमा सरकारको नीति परिवर्तन हुँदैन : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महत

बुटवल उपमहानगरमा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण

बुटवल । बुटवल उपमहानगरपालिकामा ज्येष्ठ नागरिक र फरक क्षमता भएका

एन आई सी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

काठमाडौ । एन आई सी एशिया बैंकले कोशी प्रदेशमा आयोजना