९ बैशाख २०८३, बुधबार | April 22, 2026

भदौबाट माथिल्लो तामाकोसी पूर्णरूपमा सञ्चालनमा आएपछि विद्युतमा आत्मनिर्भर



काठमाडौं । स्वदेशी लगानीमा निर्माण भएको ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसीबाट ७६ मेगावाट उत्पादन सोमबारबाट औपचारिक रूपमा सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बालुवाटारबाट बटन थिची आयोजनाको उद्घाटन गरेका छन् ।

राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको माथिल्लो तामाकोसीका ६ वटा युनिटमध्ये १ युनिटबाट ७६ मेगावट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । आयोजनामा ७६/७६ मेगावाटका ६ वटा युनिट छन् । भदौबाट पूर्ण रूपमा विद्युत् उत्पादन भएपछि नेपाल विद्युत्मा आत्मनिर्भरतर्फ लम्किनेछ ।

आयोजनाले पूर्णरूपमा विद्युुत् उत्पादन गरेपछि हिउँदमा बाहेक वर्षामा भारतबाट विद्युुत् आयात गर्न नपर्ने हुन्छ । हिउँदको समयमा भने निजी क्षेत्रका आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा नजोडिँदासम्म भारतबाट केही विद्युत् आयात गर्नुपर्नेहुन्छ । हाल नेपालले करिब ४ सय मेगावट विद्युत् भारतबाट खरिद गरिरहेको छ ।

२०६८ सालमा गोकर्ण विष्ट ऊर्जामन्त्री हुँदा तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले आयोजनाको शिलान्यास गरेका थिए । शिलान्यासताका ६ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।

आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अब नेपाल विद्युत् विकासको नयाँ युगमा प्रवेश गरेको बताए । ‘देशभित्रै बिजुली बढी खपत हुँदा बहुआयामिक लाभ प्राप्त हुन्छ,’ उनले भने, ‘तामाकोसीबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन सुरु भएपछि खाना पकाउन विद्युत्को प्रयोग बढाउने वातावरण पनि तयार हुन्छ ।’

उनले निर्माण अवधिको ब्याजतर्फ १८ अर्ब र लागत मात्रै १७ अर्ब गरेर ३५ अर्ब रुपैयाँ बढेको भन्दै तामाकोसी निर्माण गर्न लाग्ने लागतबराबरकै लागत बढ्नु दुःखको कुरा भएको बताए । यसबाट सिकेर भविष्यमा आयोजना कार्यान्वयन गर्नुपर्ने उनले बताए ।

आयोजनामा करिब ८५ अर्ब रुपैयाँ खर्च भएको सो अवसरमा जानकारी दिइएको थियो । सो अवसरमा अर्थ तथा ऊर्जामन्त्री विष्णु पौडेलले यो परियोजनाले देशको आर्थिक वृद्धिमा मात्रै करिब १ प्रतिशत योगदान दिने बताए । आयोजनाबाट उत्पादित बिजुली गोगरबाट न्यु खिम्ती सबस्टेसन हुँदै ढल्केबर पुग्नेछ । ढल्केबर सबस्टेसनबाट यो राष्ट्रिय विद्युत् प्रणालीमा जोडिएको छ ।

आयोजना चार वर्ष ढिला गरी निर्माण सम्पन्न हुँदा यसको लागत केही बढेको हो । ३५ अर्ब २७ करोड सावाँ र ब्याज १२ अर्ब २२ करोड गरी कुल ५१ अर्ब ४१ करोड रुपैयाँ लागत अनुमान गरिएकोमा अहिले बढेर करिब ८३ अर्ब रुपैयाँ पुगेको छ । जसमध्ये बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी ४० अर्ब ५८ करोड र त्यसको ब्याज २९ अर्ब ७३ करोड रुपैयाँ गरी कुल ७० अर्ब ३३ करोड रुपैयाँ रहेको छ ।

तामाकोसी पूर्णरूपमा स्वदेशी लगानीमा बनेको आयोजना हो । यस आयोजनामा विद्युत् प्राधिकरणको ४१ प्रतिशत, नेपाल दूरसञ्चार प्राधिकरणको ६ प्रतिशत, नागरिक लगानी कोष र राष्ट्रिय बिमा संस्थानको २-२ प्रतिशत गरी ४९ प्रतिशत सेयर सरकारी लगानी रहेको छ ।

त्यस्तै, कर्मचारी सञ्चयकोषमा रकम जम्मा गर्ने कर्मचारीको १७.२८ प्रतिशत, नेपाल विद्युत् प्राधिकरणका कर्मचारीको ३.८४ प्रतिशत, आयोजनालाई कर्जा प्रवाह गर्ने संस्थाका कर्मचारीको २.८८ प्रतिशत, दोलखा जिल्लाका स्थानीय बासिन्दाको १० प्रतिशत र अन्य १५ प्रतिशत गरी कुल ५१ प्रतिशत सर्वसाधारणको सेयर रहेको छ ।

दोलखा जिल्लाको बिगु-१ लामाबगरमा रहेको स्वदेशी लगानी र इन्जिनियरिङमा निर्माण गरिएको यो नेपालको पहिलो मौलिक आयोजना हो ।

आयोजनाबाट उत्पादित विद्युत् विद्युतगृह रहेको दोलखाको गोगरदेखि खिम्तीसम्मको कुल ४७.२ किलोमिटर लामो २२० केभी क्षमताको प्रसारण लाइनमार्फत जोडिएको छ । आयोजनाबाट उत्पादित बिजुली विद्युतगृह रहेको गोगरबाट न्यु खिम्ती सबस्टेसन हुँदै ढल्केबर पुग्नेछ । ढल्केबर सबस्टेसनबाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ । माथिल्लो तामाकोसीको विद्युत् गृहबाट आएको २२० केभी क्षमताको प्रसारण लाइनलाई न्यु खिम्तीमा रहेको सबस्टेसनमा जोडिएको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ ।

आयोजनाका मुख्य काम चारवटा लट सिभिल, हाइड्रोमेकानिकल, मेकालिकल तथा इलेक्ट्रिकल र प्रसारण तथा सबस्टेसन लाइनमा विभाजन गरी गरिएको थियो ।

माथिल्लो तामाकोसी ‘रनअफ रिभर’मा आधारित आयोजना हो । २०६७ मा मुख्य सिभिल निर्माण कार्य सुरु गरिएको आयोजनाको ४ जेठ २०६८ मा शिलान्यास गरिएको थियो । चिलिमे मोडलमा बनेको यो आयोजना स्वदेशी इन्जिनियरिङमा बनाइएको हो ।

आयोजनाबाट २ अर्ब २८ करोड युनिट वार्षिक विद्युत् उत्पादन हुने बताइएको छ । आयोजनामा ८.४५ किलोमिटर लामो मुख्य सुरुङ र १ हजार १ सय ६५ मिटर लामो पेनस्टक निर्माण गरिएको छ । आयोजनाको सम्भाव्यता अध्ययन तथा पहुँचमार्ग विस्तृत अध्ययन डिजाइनको काम नेपाल विद्युत् प्राधिकरणले २०५७ देखि २०६० मा गरेको थियो । आजको राजधानी दैनिकमा पूर्णभक्त दुलालले लेखेका छन् ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ६ : ५५ बजे

यस पटकको निर्वाचनप्रति कसैको गुनासो रहेन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले गत फागुन

बुटवल उपमहानगरको व्यवस्थित शहर बनाउने अभियानमा वर्ल्डलिंकको सहकार्य

बुटवल । बुटवल उपमहानगरपालिकाको व्यवस्थित शहर बनाउने अभियानमा वर्ल्डलिंक कम्युनिकेशनले

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् ।

विद्यार्थी संगठन माथिको प्रतिबन्ध प्रयासविरुद्ध कालो बेलुन उडाएर प्रदर्शन

काठमाडौं । विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने सरकारी घोषणाको विरोधमा विभिन्न

गर्मी बढेसँगै बाँकेमा देखिन थाले विषालु सर्प

नेपालगन्ज । गर्मी बढेसँगै बाँकेमा विभिन्न प्रजातिका विषालु सर्प देखिन