७ आश्विन २०८३, बुधबार | September 23, 2026

मेलम्चीको पानी आउन तीन महिना लाग्ने



काठमाडौं । काठमाडौं उपत्यकामा पुनःमेलम्चीको पानी ल्याउन कम्तीमा तीन महीना लाग्ने देखिएको छ ।

मेलम्ची खानेपानी विकास समितिले स्थानीय तह र सङ्घका सम्बन्धित निकायसँगको समन्वयमा असोजको अन्तिमसम्ममा पानी पुनःसुन्दरीजल ल्याउने लक्ष्य लिएर मर्मत अघि बढाइने भएको छ ।

सो आयोजनास्थलसम्म पुग्न सडक, पुललगायतका संरचनामा क्षति पुगेको छ भने निर्माणस्थलका कतिपय संरचनामा समेत क्षति पुगेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । अहिले सडक खुलाएर र बेलिब्रिज राखेर आयोजनास्थलसम्म पुग्न सकेमा अस्थायी बाँधबाट भए पनि पानी ल्याउने लक्ष्य लिइएको समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । पन्तका अनुसार वर्षाभरमा नै प्रवेशमार्ग र पुल बनाउन सकियो भने अबका तीन महीनामा पानी सुन्दरीजल झार्न सकिनेछ ।

अझै पनि वर्षा कति लम्बिन्छ वा वर्षाले संरचनामा अझै कति क्षति गर्छ भन्ने यकिन नभएकाले कति समयमा पुनः पानी ल्याउन सकिन्छ भनी यकिन नभएको उनले बताए । पन्तले भने, “त्यसका लागि हामीले सरोकार राख्ने निकायका प्रतिनिधिसँग छलफल गरिरहेका छौँ ।”

भदौसम्ममा हेडवर्कसम्म पुग्न सकेमा असोजमा सुरुङको लेदो सफा गर्न सकिने समितिले जनाएको छ । सुधारका काम लामो समय लागेमा पानी सुन्दरीजल आउने अवधि अझै लम्बिन सक्ने देखिएको छ । वर्षा भइरहँदा तत्काल खुलाइएका सडक पुनःअवरुद्ध हुने सम्भावना हुन्छ ।

पछिल्लो समय चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले आयोजनाका बाँकी निर्माण अघि बढाइरहेको छ । आयोजनअन्तर्गतको सुरुङ, हेडवर्क र पानी प्रशोधन केन्द्रमध्ये अहिले हेडवर्क मात्रै सम्पन्न हुन बाँकी छ । ‘हेडवर्क’ निर्माणको ठेक्का नसकिएकाले कम्पनीले नै मर्मतको समेत काम गर्ने सूचना अधिकारी पन्तले बताए। अरु संरचनामा भने सोही कम्पनीले गर्ने वा अरुले गर्ने कि भन्ने टुङ्गो लाग्न बाँकी छ ।

समितिले आयोजनाको मर्मतको कामलाई तत्काल र दीर्घकालीन काम गरी छुट्याएको छ । तत्काल गर्नुपर्ने काममा प्रवेशमार्ग निर्माण र मर्मतको काम रहेको छ । प्रवेशमार्गमा रहेका पुल र सडक निर्माण पहिले गर्नुपर्ने देखिएको छ। प्रवेशमार्गको निर्माण गरेर अम्बाथानसम्म पुग्न सकिन्छ । आयोजनस्थलसम्म पुगेपछि त्यहाँ रहेका अम्बाथान अडिट र डाइभर्सन टर्नेल खोलिने पन्तले बताए ।

अम्बाथान अडिट र डाइभर्सन टर्नेल खोल्दासम्म मेलम्ची नदीमा पानी सफा भयो भने पुनःडाइभर्सन गनरेर पानी ल्याउन सकिने समितिले जनाएको छ । अहिले ढुङ्गा, बालुवा थुपारेर सतह डाइभर्सन टनेलको मुखभन्दामाथि पुगिसकेकाले त्यो पनि हटाउनुपर्ने सूचना अधिकारीले पन्तले बताए । उनले भ, “आयोजनास्थलमा मर्मत गर्न अहिले एक अर्ब लाग्ने हामीले अनुमान गरेका छौँ ।”

अहिले पुनःमेलम्चीको पानी सुन्दरीजल झार्नका लागि सडक, पुलको निर्माण र डेडवर्कसम्म सफा गर्ने काम तत्काल गर्नुपर्ने देखिएको छ । वर्षापछि भने आगामी वर्ष आयोजनामा क्षति हुन नपाओस् भनी संरक्षणका काम गर्नुपर्ने पन्तले बताए । आयोजना मर्मतसँगै सडक र पुल मर्मत गर्नुपर्ने भएकाले यसमा सङ्घीय सरकारअन्तर्गतकै सडक विभाग, सेना र समिति गरी तीन निकाय जोडिएका छन् ।

त्यस्तै तत्कालका लागि आयोजनास्थलसम्म पुग्न स्थानीय तहको सहयोगमा सडक खुलाउन सकिन्छ । हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकासँगको समन्वयमा उनीहरुसँग रहेका डोजर, तार जाली प्रयोग गर्न सकिने उनको भनाइ छ । उनले भने “तत्काल अस्थायी रुपमा सडक खुलाएर निर्माणस्थल पुगेपछि पछाडिबाट स्थायी काम अघि बढाउन सकिने देखिएको छ ।”

सडक पूरै अवरुद्ध भएर निर्माणस्थलसम्म पुग्न नसकिएकाले समितिले अहिले ड्रोनबाट नै त्यहाँ भएको क्षतिको अध्ययन गरिरहेको छ । केही दिनमा नै खानेपानी मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, वन तथा भूसंरक्षण विभाग, राष्ट्रिय निकुञ्जलगायतका सरोकार राख्ने निकायका प्रतिनिधि जहाँसम्म सकिन्छ त्यहाँसम्म जाने योजना बनाइएको छ । टोलीले त्यहाँ पुगेर स्थानीयसँग छलफल र त्यहाँको क्षतिको अध्ययन गर्नेछ ।

समितिको मेलम्ची, पुलबजारस्थित कार्यालयका प्रतिनिधिसमेत अझै अम्बाथानसम्म पुग्न सकेका छैनन् । केही दिन पहिले प्राविधिकसहितको टोली पैदल हिँडेर किउलसम्म पुगेर फर्किएको थियो ।

आयोजनामा तत्काल गर्नुपर्ने मात्रै नभएर आगामी आवमा समेत आयोजनामा क्षति नपुगोस् भनी संरक्षणका कामसमेत गरी रु दुई अर्ब खर्च गर्नुपर्ने देखिएको छ । त्यसमा सडक र पुलको मर्मतसँगै आयोजनास्थलमा अपनाउनुपर्ने सावधानी तथा अध्ययनका कुरा समेटिने पन्तले बताए ।

अहिले तत्काल बेलिब्रिज निर्माण गरेर यातायात सञ्चालन हुनेछ भने दीर्घकालीनरुपमा कङ्क्रिटको नै पुल निर्माण हुनेछ । अहिले भइरहेको पुलभन्दा उचाइ बढाएर र ठूलो पुल बनाउनुपर्ने हुन्छ । अहिले तत्काल पहिरो हटाएर सडक सञ्चालन गरिएपछि दीर्घकालीनरुपमा त्यही ठाउँबाट नै कालोपत्र सडक निर्माण गर्नुपर्ने हुन्छ । हेडवर्कको क्षतिको अध्ययन गरेर भविष्यमा यस्तो दुर्घटना नहोस् भनी सुरक्षाका कार्यक्रम गर्न सकिने उनले बताए । उनले भने, “विज्ञबाट हेडवर्कमाथि के काम सकिन्छ भनी अध्ययन, अनुसन्धान हुनेछ ।”

सुरुङको निर्माण सम्पन्न भएर केही महीना पहिलेबाट मात्रै काठमाडौँ उपत्यकामा पानी ल्याउन थालिएको थियो । आयोजनाले यही असार १ गतेदेखि सुरुङको निरीक्षण थालेको थियो । सोही दिन हेडवर्क माथिबाट आएको पहिराका कारण आयोजनाको सुरुङबाहेक अरु संरचनामा क्षति पुगेको छ ।

रासस

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ५ : १५ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई