२६ बैशाख २०८१, बुधबार | May 9, 2024

मेलम्चीको पानी आउन तीन महिना लाग्ने



काठमाडौं । काठमाडौं उपत्यकामा पुनःमेलम्चीको पानी ल्याउन कम्तीमा तीन महीना लाग्ने देखिएको छ ।

मेलम्ची खानेपानी विकास समितिले स्थानीय तह र सङ्घका सम्बन्धित निकायसँगको समन्वयमा असोजको अन्तिमसम्ममा पानी पुनःसुन्दरीजल ल्याउने लक्ष्य लिएर मर्मत अघि बढाइने भएको छ ।

सो आयोजनास्थलसम्म पुग्न सडक, पुललगायतका संरचनामा क्षति पुगेको छ भने निर्माणस्थलका कतिपय संरचनामा समेत क्षति पुगेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । अहिले सडक खुलाएर र बेलिब्रिज राखेर आयोजनास्थलसम्म पुग्न सकेमा अस्थायी बाँधबाट भए पनि पानी ल्याउने लक्ष्य लिइएको समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । पन्तका अनुसार वर्षाभरमा नै प्रवेशमार्ग र पुल बनाउन सकियो भने अबका तीन महीनामा पानी सुन्दरीजल झार्न सकिनेछ ।

अझै पनि वर्षा कति लम्बिन्छ वा वर्षाले संरचनामा अझै कति क्षति गर्छ भन्ने यकिन नभएकाले कति समयमा पुनः पानी ल्याउन सकिन्छ भनी यकिन नभएको उनले बताए । पन्तले भने, “त्यसका लागि हामीले सरोकार राख्ने निकायका प्रतिनिधिसँग छलफल गरिरहेका छौँ ।”

भदौसम्ममा हेडवर्कसम्म पुग्न सकेमा असोजमा सुरुङको लेदो सफा गर्न सकिने समितिले जनाएको छ । सुधारका काम लामो समय लागेमा पानी सुन्दरीजल आउने अवधि अझै लम्बिन सक्ने देखिएको छ । वर्षा भइरहँदा तत्काल खुलाइएका सडक पुनःअवरुद्ध हुने सम्भावना हुन्छ ।

पछिल्लो समय चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले आयोजनाका बाँकी निर्माण अघि बढाइरहेको छ । आयोजनअन्तर्गतको सुरुङ, हेडवर्क र पानी प्रशोधन केन्द्रमध्ये अहिले हेडवर्क मात्रै सम्पन्न हुन बाँकी छ । ‘हेडवर्क’ निर्माणको ठेक्का नसकिएकाले कम्पनीले नै मर्मतको समेत काम गर्ने सूचना अधिकारी पन्तले बताए। अरु संरचनामा भने सोही कम्पनीले गर्ने वा अरुले गर्ने कि भन्ने टुङ्गो लाग्न बाँकी छ ।

समितिले आयोजनाको मर्मतको कामलाई तत्काल र दीर्घकालीन काम गरी छुट्याएको छ । तत्काल गर्नुपर्ने काममा प्रवेशमार्ग निर्माण र मर्मतको काम रहेको छ । प्रवेशमार्गमा रहेका पुल र सडक निर्माण पहिले गर्नुपर्ने देखिएको छ। प्रवेशमार्गको निर्माण गरेर अम्बाथानसम्म पुग्न सकिन्छ । आयोजनस्थलसम्म पुगेपछि त्यहाँ रहेका अम्बाथान अडिट र डाइभर्सन टर्नेल खोलिने पन्तले बताए ।

अम्बाथान अडिट र डाइभर्सन टर्नेल खोल्दासम्म मेलम्ची नदीमा पानी सफा भयो भने पुनःडाइभर्सन गनरेर पानी ल्याउन सकिने समितिले जनाएको छ । अहिले ढुङ्गा, बालुवा थुपारेर सतह डाइभर्सन टनेलको मुखभन्दामाथि पुगिसकेकाले त्यो पनि हटाउनुपर्ने सूचना अधिकारीले पन्तले बताए । उनले भ, “आयोजनास्थलमा मर्मत गर्न अहिले एक अर्ब लाग्ने हामीले अनुमान गरेका छौँ ।”

अहिले पुनःमेलम्चीको पानी सुन्दरीजल झार्नका लागि सडक, पुलको निर्माण र डेडवर्कसम्म सफा गर्ने काम तत्काल गर्नुपर्ने देखिएको छ । वर्षापछि भने आगामी वर्ष आयोजनामा क्षति हुन नपाओस् भनी संरक्षणका काम गर्नुपर्ने पन्तले बताए । आयोजना मर्मतसँगै सडक र पुल मर्मत गर्नुपर्ने भएकाले यसमा सङ्घीय सरकारअन्तर्गतकै सडक विभाग, सेना र समिति गरी तीन निकाय जोडिएका छन् ।

त्यस्तै तत्कालका लागि आयोजनास्थलसम्म पुग्न स्थानीय तहको सहयोगमा सडक खुलाउन सकिन्छ । हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकासँगको समन्वयमा उनीहरुसँग रहेका डोजर, तार जाली प्रयोग गर्न सकिने उनको भनाइ छ । उनले भने “तत्काल अस्थायी रुपमा सडक खुलाएर निर्माणस्थल पुगेपछि पछाडिबाट स्थायी काम अघि बढाउन सकिने देखिएको छ ।”

सडक पूरै अवरुद्ध भएर निर्माणस्थलसम्म पुग्न नसकिएकाले समितिले अहिले ड्रोनबाट नै त्यहाँ भएको क्षतिको अध्ययन गरिरहेको छ । केही दिनमा नै खानेपानी मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, वन तथा भूसंरक्षण विभाग, राष्ट्रिय निकुञ्जलगायतका सरोकार राख्ने निकायका प्रतिनिधि जहाँसम्म सकिन्छ त्यहाँसम्म जाने योजना बनाइएको छ । टोलीले त्यहाँ पुगेर स्थानीयसँग छलफल र त्यहाँको क्षतिको अध्ययन गर्नेछ ।

समितिको मेलम्ची, पुलबजारस्थित कार्यालयका प्रतिनिधिसमेत अझै अम्बाथानसम्म पुग्न सकेका छैनन् । केही दिन पहिले प्राविधिकसहितको टोली पैदल हिँडेर किउलसम्म पुगेर फर्किएको थियो ।

आयोजनामा तत्काल गर्नुपर्ने मात्रै नभएर आगामी आवमा समेत आयोजनामा क्षति नपुगोस् भनी संरक्षणका कामसमेत गरी रु दुई अर्ब खर्च गर्नुपर्ने देखिएको छ । त्यसमा सडक र पुलको मर्मतसँगै आयोजनास्थलमा अपनाउनुपर्ने सावधानी तथा अध्ययनका कुरा समेटिने पन्तले बताए ।

अहिले तत्काल बेलिब्रिज निर्माण गरेर यातायात सञ्चालन हुनेछ भने दीर्घकालीनरुपमा कङ्क्रिटको नै पुल निर्माण हुनेछ । अहिले भइरहेको पुलभन्दा उचाइ बढाएर र ठूलो पुल बनाउनुपर्ने हुन्छ । अहिले तत्काल पहिरो हटाएर सडक सञ्चालन गरिएपछि दीर्घकालीनरुपमा त्यही ठाउँबाट नै कालोपत्र सडक निर्माण गर्नुपर्ने हुन्छ । हेडवर्कको क्षतिको अध्ययन गरेर भविष्यमा यस्तो दुर्घटना नहोस् भनी सुरक्षाका कार्यक्रम गर्न सकिने उनले बताए । उनले भने, “विज्ञबाट हेडवर्कमाथि के काम सकिन्छ भनी अध्ययन, अनुसन्धान हुनेछ ।”

सुरुङको निर्माण सम्पन्न भएर केही महीना पहिलेबाट मात्रै काठमाडौँ उपत्यकामा पानी ल्याउन थालिएको थियो । आयोजनाले यही असार १ गतेदेखि सुरुङको निरीक्षण थालेको थियो । सोही दिन हेडवर्क माथिबाट आएको पहिराका कारण आयोजनाको सुरुङबाहेक अरु संरचनामा क्षति पुगेको छ ।

रासस

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ५ : १५ बजे

आठ दिनअघि कलङ्कीबाट हराएकी छात्रा पशुपति क्षेत्रमा भेटिइन्

काठमाडौं । आठ दिनअघि काठमाडौँको कलङ्कीबाट हराएकी चितवनकी २० वर्षीया

यात्रु भएर गृहसचिव विमानस्थल छिर्दा…..

काठमाडौं । गृह सचिव एकनारायण अर्यालले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित

राष्ट्रपतिका आर्थिक विज्ञ डा नेपालद्वारा स्पष्टोक्ति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डा चिरञ्जीवी नेपालले

भृकुटीमण्डपको खुला (हङकङ)बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले

China’s Xi welcomed with ‘respect and love’ in Serbia

Serbia’s President Aleksandar Vucic reaffirmed his strong support for China’s