१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

बुटवलको हिलपार्क अब बिगबुद्ध पार्क बन्ने, जन्मस्थल लुम्बिनीबाट हिलपार्कको बिगबुद्ध देख्न सकिने



बुटवल । चार वर्ष अगाडि चुनावी घोषणापत्रमा सपनाकारुपमा आएको बुटवल हिलपार्कमा बिग बुद्धको प्रतिमा स्थापनागर्ने प्रतिबद्धताले निर्वाचन सम्पन्न भएको चार वर्ष पछि गति पाएको छ । स्थानिय तहको निर्वाचनमा एमाले घोषणापत्रमा समेटिएको बिगबुद्धको प्रतिबद्धतालाई बुटवल उपमहानगरपालिकाले अगाडि बढाएपछि प्रतिबद्धता अनुसारको हिलपार्कमा बिगबुद्ध पार्क निर्माणको कामले गति लिएको हो । बुटवल र यसआसपासका सर्वसाधारणका लागि हिल स्टेशनका रुपमा रहेको हिलपार्कलाई विस्तार गर्दै अब बुद्धको ३५ मिटरको अग्लो प्रतिमासहित बिगबुद्ध पार्क बन्ने निश्चित भएको छ ।

बुटवल उपमहानगरको पूर्वी तथा उत्तर पहाडी भागको थुम्कोलाई लुम्बिनी परिपथसंग जोडिने गरि बुद्धको ३५ मिटरको अग्लो प्रतिमासहितको बिगबुद्धपार्क निमार्ण गर्ने योजना अगाडि बढेको बुटवल उपमहानगर ले जनाएको छ । बिगबुद्धपार्कको गुरु योजनालाई साकार पार्ने क्रममा उपनगरपालिकाले प्रस्तावित क्षेत्र हिलपार्कको जग्गा किटान गर्ने गरि क्षेत्र निर्धारण गरेर सार्वजनिक सूचना समेत जारी गरिसकेको छ । उपमहानगरका अनुसार माटो परीक्षण सहित डीपीआरलगायतका आवश्यक काम यसअघि नै पूरा भइसकेका छन् । कोभिड महामारीका कारण ढिलागरेर अहिले आयोजनाको वातावरणीय प्रभाव मूल्याङकनको काम अगाडि बढेको छ । यो संगै बुटवलको बुद्धकालीन सभ्यताको पहिचान बढाउने ड्रिम प्रोजेक्टको निर्माणकार्यले गति लिएको छ ।

बुटवल उपमहानगरको पहिलो नगरसभाले बनाएको पाँच बर्षे आवधिक योजनामा हिलपार्कमा बुद्धप्रतिमा ध्यान केन्द्रसहितको पार्क निर्माण गर्ने योजनालाई पनि समावेश गरिएको थियो । योजनाअनुरुप ललितपुरको मल्टिडिसिप्लिनरी कन्सल्ट्यान्टले योजनाको पूर्वसम्भाव्यता अध्ययन गरी विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार पारेको थियो । डीपीआरलाई नगरसभाले स्वीकृत गरिसकेको पनि उपमहानगरले जनाएको छ ।

अहिले इआइएका लागि आवश्यक प्रक्रिया अगाडि बढेको हिलपार्कमा बौद्ध दर्शनका विज्ञ डा.विजयराज बज्राचार्य र देश विदेशमा बुद्धका प्रतिमा र अन्य विभूतिहरुकासमेत मुर्ति बनाएर ख्याती कमाएका मुर्तीकार राजकुमार शाक्यको राय तथा सल्लाहमा बौद्ध मान्यताअनुसारको प्रतिमा निर्माण गर्ने तयारी समेत थालिएको बुटवल उपमहानगरपालिकाका नगर प्रमुख शिवराज सुबेदीले जानकारी दिएका छन् । पुरातात्विक महत्व र गरिमालाई कायम गर्न बुद्धका प्रतिमा कहीँ पनि आफुखुशी निर्माण गर्न र राख्न नपाईने परम्परा र नियम रहेको विषयलाई ध्यानमा राखी बौद्ध मान्यता अनुसारका सबै प्रक्रिया पूरा प्रतिमा तयार गरिन थालिएको नगर प्रमुख सुबेदीले बताए ।

परामर्शदाताले आयोजनाका दुई विकल्पसहित विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) लिएर उपमहानगरका प्रमुख सुवेदी अर्थमन्त्री विष्णुप्रसाद पौडेल र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत शुशिल ज्ञवालीसमक्ष पुगेका थिए । अर्थमन्त्रालयका प्रतिनिधि तथा केही विज्ञहरुसमेतले प्रस्तावित आयोजनाको डीपीआरलाई उपयुक्त रहेको निष्कर्ष निकालेपछि संघीय सरकारको लगानीको वातावरण खुलेको थियो । अर्थमन्त्री पौडेलले बिगबुद्ध पार्कको प्रस्तावमा चासो देखाएपछि आफुहरुको एउटा अर्को ‘ड्रिम प्रोजेक्ट’ सफल हुने चरणमा प्रवेश गरेको प्रमुख सुवेदीले बताए । सो परियोजनामा प्रदेश सरकारको पनि लगानी सुनिश्चित भएको सुबेदीले दाबी गरे ।

नगर प्रमुख सुबेदीका अनुसार संघीय र प्रदेश सरकारको लगानीको स्रोत सुनिश्चितता भने ईआईए सकिएपछि हुनेछ । ईआईएका लागि उपमहानगरपालिकाले परामर्शदाता ह्यान्ड्स फर ग्रीनरी कन्जरभेसन प्रालि काठमाडौंलाई जिम्मेवारी दिएको छ । यो संस्थाले आगामी असोज १५ गतेसम्मको म्याद पाएको छ । इआइएका लागि बुटवलमा आएका कम्पनीका ईआईए एक्सपर्ट लिलाराज पौडेलले समयसीमा भित्रै इआईएको काम सक्ने लक्ष्यसहित आफूहरु ‘फिल्ड’मा खटिइरहेको बताए ।

ईआईए प्रतिवेदन वन मन्त्रालयले स्वीकृत गरेसँगै जग्गा प्राप्ती र स्रोत सुनिश्चितताका कामहरु हुने नगरप्रमुख सुवेदीको भनाई छ । पार्क निर्माणस्थल चुरे क्षेत्रमा पर्ने भएकाले जग्गा प्राप्तीका लागि राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति र वन मन्त्रालयबाट स्वीकृति पाउन पर्ने हुन्छ । यसका लागि पनि आवश्यक प्रक्रिया अगाडि बढिसकेको सुबेदीले बताए ।

बुद्धावलीको पहिचान :
बुटवललाई बुद्धावलीको ऐतिहासिक क्षेत्र मानिन्छ । बुद्धावलीको पहिचान बढाउने प्रयास स्वरुप हिलपार्कमा विग बुद्धपार्क बनाउन लागिएको बुटवल उपमहानगरले जनाएको छ ।

बुद्ध र लुम्बिनी पर्यटकीय हिसाबले ‘क्यास’ गर्न सकिने, पर्यटन उद्योगको केन्द्र र ऐतिहासिक पुँजी भएको र बुटवलको ऐतिहासिकता लुम्बिनीसँग सिधा जोडिएकाले बिगबुद्ध पार्क योजना प्रस्ताव गरिएको नगरप्रमुख सुवेदीको भनाई छ ।

यस्तो बन्नेछ बुद्ध पार्क
विस्तृत परियोजना प्रतिवेदनका अनुसार बुटवलबाट ४२ किलोमिटर दक्षिण–पश्चिममा रहेको बुद्ध जन्मस्थल लुम्बिनीबाटै देखिने गरी हिलपार्कमा बुद्ध प्रतिमासहितको पार्क बनाउने योजना बनाइएको छ । प्रतिवेदनका अनुसार पार्क चार वटा ब्लकमा निर्माण गरिने छ । पहिलो ब्लकमा बुद्धप्रतिमा बन्ने र त्यो आकर्षक हुने उपमहानगरका वरिष्ठ इन्जिनियर सुमन श्रेष्ठले बताए । बिगबुद्ध पार्क निर्माणमा इन्जिनियर श्रेष्ठ र अर्का वरिष्ठ इन्जिनियर गौतम रौनियारसहितको टोलीले आयोजना स्थलको प्राविधिक निगरानी गर्नेछन् ।

करिब आठ मिटरको गोलाकार आधार संरचनामाथि ३५ मिटर उचाईको शाक्यमुनी बुद्धको प्रतिमा बनाईने छ । बुद्ध अर्धकमलमाथि भूस्पर्श मुद्रामा बसिरहेका देखिनेछन् । बुद्धप्रतिमाको सतह तीन मिलिमिटर मोटाइ रहेको तामाले बनाइने छ । अनुहारमा सुनको जलप लगाइने छ । बाँकी शरिरमा सुनौलो ‘इपोक्सी’ अर्थात् नखुइलिने रंग लगाइने छ । सुनौलो रङमा पोतिएका शान्त मुद्राका बुद्ध करिब ४० किलोमिटर दक्षिण–पश्चिममा रहेको मायादेवी मन्दिरतर्फ फर्किएर घोत्लिइरहेका हुनेछन् ।

९५ करोड बढी लगानी हुनेछ बिगबुद्धपार्कमा :

प्रतिवेदन अनुसार बुद्धमुर्तिको अनुमानित लागत ८६ करोड ८० लाख ९२ हजार २ सय ८८ रुपैयाँ छ ।

पार्कको दोस्रो ब्लकमा तीन तले ‘मंक रेसिडेन्स’ अर्थात् भिक्षुगृह बनाइने छ । यसको अनुमानित लागत तीन करोड ६७ लाख ३४ हजार आठ सय सात रुपैयाँ रहेको छ ।

पार्कको तेस्रो ब्लकमा एक तले क्याफेटेरिया र चौंथोमा एक तले शौचालय बनाइने छ । यी दुई संरचनाको अनुमानित लागत क्रमशः ६७ लाख १४ हजार ६ सय ४३ रुपैयाँ र ३२ लाख ५८ हजार एक सय ८८ रुपैयाँ रहेको छ ।
यीबाहेक पार्कमा टेलिकम्युनिकेशन, सरसफाई तथा ढल प्रणाली, पानी आपूर्तिलगायतका संरचना बन्नेछन्, जसको अनुमानित खर्च चार करोड ८९ लाख एक हजार तीन सय ४७ रुपैयाँ रहेको छ । बुद्धपार्कको निर्माण सम्पन्न भएपछि दैनिक नियमित रुपमा हुने पुजाआजा, ध्यान तथा मेडिटेशनको साथै अवलोकनका लागि आउने आगन्तुकहरुसमेत गरी दैनिक रुपमा करिब तीन हजार भन्दा धेरै मानिसहरुको आवतजावत हुने उपमहानगरको आंकलन छ ।

 

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  ८ : ५० बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर