१५ चैत्र २०८२, आइतबार | March 29, 2026

पर्यटनलाई पहिलेकै अवस्थामा फर्काउन सबैलाई खोप आवश्यक : वरिष्ठ उपाध्यक्ष ढकाल



दोलखा । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोरोना महामारीका कारण नेपालमा सबैभन्दा बढी पर्यटन क्षेत्र प्रभावित भएकाले यसलाई पहिलेकै अवस्थामा ल्याउन सबै नेपालीलाई कोरोनाविरुद्धको खोप आवश्यक रहेको बताएका छन् ।

कोभिड महामारीले देशका धेरै क्षेत्रमा नकारात्मक प्रभाव पारेको र पर्यटन क्षेत्र अझ बढी तहसनहस भएकाले मुलुकका उद्योगी व्यवसायीले सरकारको सहयोगको अपेक्षा गरेको ढकालले बताए ।

वरिष्ठ उपाध्यक्ष ढकालले भने, “मुलुकको पर्यटन क्षेत्रलाई पहिलेकै अवस्थामा ल्याउन आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका कार्यक्रम आवश्यक छन् । पर्यटकका रूपमा नागरिक ढुक्क भएर घुम्न तथा व्यवसाय सञ्चालन गर्नका लागि पनि सबै नागरिकलाई खोप दिनु आवश्यक छ ।”

दोलखाको चरिकोटमा निर्मित होटल एम्ब्रोसियाको आज एक कार्यक्रमबीच उद्घाटन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले कोभिडले मुलुकको आर्थिक क्षेत्र जर्जर भएको अवस्थामा पनि दोलखामा खोलिएको यो होटलले मुलुकको समग्र उद्योग व्यवसाय क्षेत्रका लागि सकारात्मक सन्देश दिएको बताए ।

उनले भने, “हामी सबैलाई थाहै छ कि हाम्रो देशको आर्थिक क्षेत्र कोरोना महामारीका कारण थला परेको छ, यस्तो अवस्थामा पूर्वाधार निर्माण एवं पर्यटकीय संरचना बन्ने क्रम पनि छैन, तर आजदेखि सञ्चालनमा आएको यस होटलले दोलखा जिल्लामा मात्र नभएर मुलुकमै सकारात्मक सन्देशको सञ्चार गरेको छ ।”

दोलखाका सफल व्यवसायी दिनेश बस्नेतले करिब रु १३ करोडको लागतमा दुई तारे होटल सञ्चालनमा ल्याएका हुन् । पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको दोलखा जिल्लाको चरिकोटमा पहिलोपटक तारे होटल सञ्चालनमा आएको हो ।

पर्यटकलाई लक्ष्य गरी चरिकोटमा दुई तारे होटल एम्ब्रोसिया आजबाट सञ्चालनमा आएपछि कोरोना महामारीका कारण थला परेको पर्यटन क्षेत्रमा नयाँ आशाको सञ्चार भएको यहाँका उद्योगी व्यवसायीले बताएका छन् ।

होटल एम्ब्रोसियामा एकैपटकमा करिब एक सय जना बस्न सक्ने गरी गरी ३५ कोठा रहेको छ भने ५०० जना क्षमताको ‘ब्याङ्क्वेट’ पनि रहेको छ । एकैपटकमा करिब एक सय जनासम्मले खाना खाने सुविधा तथा रेष्टुरेन्ट र बार करिब २०० जनासम्म धान्न सकिने गरी रुफटपको व्यवस्थासमेत रहेको यो नै दोलखाको पहिलो ठूलो होटल हो ।

दोलखा चरिकोटमा रहेको होटल एम्ब्रोसियाबाट चरिकोट तथा दोलखाका विभिन्न पर्यटकीय क्षेत्रको अवलोकन गर्न सकिन्छ । पछिल्लो समय दोलखा जिल्ला पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको र आन्तरिक एवं धार्मिक पर्यटनको सम्भावना पनि बढ्दै गएकाले जिल्लामा तारे होटलको अभाव रहेकाले दोलखाको पर्यटनलाई लक्ष्य गरी करिब रु १३ करोडको लागतमा होटल सञ्चालनमा ल्याएको सञ्चालक बस्नेतले बताए ।

यस होटल सञ्चालनमा आएपछि दोलखा जिल्लाको पर्यटन क्षेत्रमा ठूलो सहयोग पुग्ने विश्वास रहेको सञ्चालक बस्नेतले बताए ।

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  ६ : २७ बजे

सरकारको पहिलो कामलाई लगानीकर्ताको रेडलाइट, नेप्सेमा ७१ अङ्कको गिरावट

काठमाडौं । नयाँ सरकार गठन भएपछिको पहिलो कारोबार दिन आज

नेकपा संसदीय दलको नेतामा प्रचण्ड चयन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको नेतामा पुष्पकमल

बाँके एमालेको नेपालगन्जमा प्रदर्शन

नेपालगन्ज । पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको

ओली पक्राउको विरोधमा एमालेको प्रदर्शन, सीडीओलाई बुझाए ज्ञापनपत्र

काठमाडौँ । पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको

जलेको अवस्थामा नेपालगन्जमा फेला परेकी युवती सृजना बुढा मगर

नेपालगन्ज । बाँकेको नेपालगन्जमा मध्यराती जलेको अवस्थामा सडकमा मृत फेला