२१ माघ २०८२, बुधबार | February 4, 2026

खोप नपाउँदा वैदेशिक रोजगारमा जाने कामदार अलपत्र



काठमाडौं । सरकारले कोरोनाविरुद्धको खोप अभियान नियमित रूपमा सञ्चालन गर्न नसक्दा वैदेशिक रोजगारीमा जाने कामदार अलपत्र परेका छन् ।

विभिन्न श्रम गन्तव्य मुलुकहरूले आफ्नो मुलुकमा प्रवेश गर्ने जो कोहीलाई पनि कोरोनाविरुद्धको खोप लगाएको हुनुपर्ने निर्णय गरेका छन् । तर, नेपालमा खोप अभियान नियमित रूपमा सञ्चालन नहुँदा वैदेशिक रोजगारमा जाने कामदार बढी समस्यामा परेका छन् । निषेधाज्ञाका कारण वैदेशिक रोजगारमा जाने कामदार नेपालमा नै रोकिएर बसेका थिए । अहिले निषेधाज्ञा करीब करीब हटिसकेको छ भने अन्तरराष्ट्रिय उडान पनि खुला भएको छ । तर, खोप लगाउन नपाउँदा अधिकांश कामदार वैदेशिक रोजगारमा जान पाएका छैनन् ।

अधिकांश श्रम गन्तव्य मुलुकले तोकिएको खोप नै लगाउनुपर्ने बाध्यता छ । साउदी, कतारलगायत मुलुकले अमेरिकी खोप जोन्सन एन्ड जोन्सन, भारतीय खोप कोभिडसिल्डलगायत खोप अनिवार्य गरेका छन् । यस्तै, अन्य मुलुकले पनि सोहीअनुसार खोप तोकेका छन् । तर, नेपालमा तोकिएको खोप पर्याप्त मात्रामा छैन । त्यसको असरले पनि वैदेशिक रोजगारमा जाने कामदारले सहज रूपमा खोप लगाउन पाएका छैनन् । फलस्वरूप उनीहरू समयमा वैदेशिक रोजगारमा जान नपाउने अवस्था आएको छ ।

झापाका विजयकुमार गहतराज विगत ७ वर्षदेखि साउदी अर्बमा कार्यरत छन् । उनी बिदा मनाउन गत चैतमा स्वदेश आएका थिए । वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाइयो । उनले जेठको अन्तिम साता श्रम गन्तव्य मुलुक साउँदी जाने गरी कतार एयरलाइन्सबाट हवाई टिकट पनि लिए । तर, त्यसबेलासम्म पनि निषेधाज्ञा कायम हुँदा उनी साउदी पुग्न सकेनन् ।

साउदी अरबले अहिले आफ्नो मुलुकमा आउने सबैलाई जोन्सनलगायत खोप अनिवार्य गरेको छ । तर, सहज रूपमा खोप पाउन नसकेपछि गहतराज अझै काममा जान पाएका छैनन् ।

काठमाडौंका विभिन्न खोप केन्द्रमा साउन ४ गतेदेखि ६ गतेसम्म जोन्सन खोप अभियान सञ्चालन गरिएको थियो । झापामा यो खोप नआउने भएपछि उनी गत शुक्रवार हवाई उडानमार्फत काठमाडौं आए । तर, उनले अझै खोप लगाउन सकेका छैनन् ।

उनी प्रतिनिधि पात्र मात्र हुन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा खोप नपाएर अलपत्र परेका वैदेशिक रोजगारमा जाने कामदारको भीड बाक्लो हुने गर्छ । उनीहरूले बारम्बार खोपको व्यवस्था गर्न माग गर्दै आएका छन् । तर, सम्बद्ध निकाय भने यस विषयमा अझै उचित निर्णय गर्न सकेको छैन । त्यहाँ बस्ने प्रहरी तथा सुरक्षाकर्मीले समाचार हेरेर सोहीअनुसार खोप लगाउन आउनु भन्दै फर्काउने गरेको त्यहाँ उपस्थित कामदारहरूको भनाइ छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले यस मामिलामा मन्त्रालय गम्भीर भएको बताए । ‘यसलाई कसरी समाधान गर्ने भनेर योजना बनाएका छौं,’ उनले भने, ‘यसलाई छिट्टै व्यवस्थापन गर्ने गरी मन्त्रालयले काम गर्नेछ ।’ स्वास्थ्य सेवा विभाग खोप शाखाका प्रमुख झलक शर्मा गौतमले काठमाडौं उपत्यकामा छुट्ट्याइएको खोप सकिँदा यस्तो समस्या आएको बताए । ‘काठमाडौं उपत्यकालाई छुट्ट्याइएको जोन्सन एन्ड जोन्सनलगायत खोप सकिँदा यस्तो समस्या भएको हो,’ उनले भने ।

अन्य जिल्लामा पनि खोप पठाइएको छ । तत्काललाई वैदेशिक रोजगारमा जानेहरूले आआफ्नो जिल्लाबाट पनि खोप लगाउन सक्ने छन्,’ उनले भने, ‘काठमाडौंमा पनि खोप आएपछि पुनः अभियान सञ्चालन हुनेछ ।’

वैदेशिक रोजगारमा जाने तथा अत्यावश्यक क्षेत्रमा काम गर्नेका लागि छुट्टै खोप केन्द्र बनाउने तयारी भइरहेको उनले बताए । खोप अभियान बन्द भए पनि वैदेशिक रोजगारमा जाने कामदारलाई लक्षित गरेर छुट्टै केन्द्र बनाइने र त्यो सधैं खुला रहने उनको भनाइ छ ।

‘खोप अभियान चलिरहेका बेला हामीले वैदेशिक रोजगारमा जानेलाई खोप दिइरहेका छौं । अहिले वैदेशिक रोजगारमा जाने तथा अत्यावश्यक क्षेत्रमा काम गर्नेका लागि छुट्टै स्थायी केन्द्र बनाएका छैनौं । त्यसको तयारी गरेका छौं,’ उनले भने, ‘हामीले जिल्लाअनुसार खोप पठाइसकेको र काठमाडौं उपत्यकामा दिइएको खोप सकिएकाले यस्तो भएको हो । अन्य जिल्लामा खोप लगाइराखिएको छ ।’

एक स्रोतका अनुसार वैदेशिक रोजगारमा जानेलाई लक्षित गरेर छुट्टै खोप केन्द्र बनाउने मामलामा स्वास्थ्य मन्त्रालयमा पनि निर्णय भइसकेको छ । तर, त्यो अझै आधिकारिक रूपमा सार्वजनिक गरिएको छैन । वैदेशिक रोजगारमा जाने कामदारका लागि टेकुसहित सिभिल अस्पताल, सशस्त्र प्रहरी अस्पताल बलम्बु र पाटन अस्पतालमा रहेका खोप केन्द्रलाई सञ्चालन गर्ने निर्णय भइसकेको बताइएको छ । सम्भवतः यो यसै साता कार्यान्वयन लैजान सकिने स्रोतको भनाइ छ । आजको आर्थिक अभियाान दैनिकमा मिलन विश्वकर्माले लेखेका छन ।

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ६ : ५४ बजे

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता

गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’

गुल्मी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल जापानको औपचारिक भ्रमण सकेर आज

एमाले उपाध्यक्ष पौडेलद्वारा राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष केसीकी धर्मपत्नीको स्वास्थ्य अवस्थाबारे लिए जानकारी

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय

स्वास्थ्य बिमा कार्यक्रममा देखिएका समस्या समाधानका लागि अर्थमन्त्रालयसँग बजेट माग

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले राष्ट्रिय स्वास्थ्य