काठमाडौं । ‘स्ट्रोक’ भएपछि बल्खुस्थित बयोधा अस्पतालमा उपचाररत वरिष्ठ जनगायक जेबी टुहुरेको स्वास्थ्य अवस्था बुझ्न नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अस्पताल पुगेका छन् । अस्पताल पुगेर अध्यक्ष प्रचण्डले चिकित्सकहरुसँग जनगायक टुहरेको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् ।
यही भदौ १ गते ‘स्ट्रोक’ भएपछि गायक टुहुरेलाई बल्खुस्थित बयोधा अस्पतालमा भर्ना गरिएको थियो । उनलाई अस्पतालको सीसीयू कक्षमा राखेर उपचार भईरहेको छ । उपचारमा संलग्न चिकित्सकहरुले उनलाई ‘स्ट्रोक’ भएको बताएका छन् ।
डेढ सयभन्दा बढी जनगीत गाएका टुहुरेको सबैभन्दा चर्चित गीत हो– ‘आमा दिदीबहिनी हो, कति बस्छौ दासी भई, सुखको सधैं प्यासी बनेर’हो भने ‘बसाइँ हिँड्नको ताँतीले बस्नेको मन रुँद छ, लाखौंको लागि उजाड छ यो देश मुठ्ठीभरलाई त स्वर्ग छ’, ‘छोराहरु हो, छोरीहरु हो बीर छोरा छोरी हो’, ‘दुःखको बोझलाई बिसाउन चौतारी बनाउँ है’ जस्ता गीतहरु लोकप्रिय छन् ।
सुनसरीको धरान घर भएका उनी दोस्रो संविधान सभामा तत्कालीन एकीकृत नेकपा माओवादीबाट समानुपातिक सभासदसमेत बनेका थिए।
अध्यक्ष प्रचण्डले संविधानसभा सदस्यसमेत रहेका टुहुरेको स्वास्थ्य उपचारमा कुनै पनि कसर बाँकी नराख्न चिकित्सकसँग आग्रह गरेका थिए ।
प्रतिक्रिया