प्राकृतिक प्रकोपः तराईमा बाढी, पहाडमा पहिरो

खबर कुरा
१३ भाद्र २०७८, आईतवार
                 

काठमाडौं । पछिल्लो अढाई महिनमा बाढी र पहिरोमा परी ८६ जनाले ज्यान गुमाउँदा ३१ जना बेपत्ता छन् । यो समयमा १ सय १५ जना घाइते भएको प्रहरीको तथ्यांक छ । अझै वर्षात् निरन्तर भएकाले क्षतिको तथ्यांक बढ्न सक्ने मौसमविद् बताउँछन् । वर्षाले १ हजार १ सय ५८ घरपरिवार विस्थापित भएका छन् । ३ हजार १ सय ६८ वटा घर डुबानमा परेको छ ।

जथाभावी विकास निर्माणले गर्दा बर्सेनि पहाडमा पहिरो र तराईमा डुवानका घटना बढ्दैछन् । पछिल्लो घटनालाई लिँदा बाढी र पहिरोमा नै बालकदेखि वृद्धसम्मले ज्यान गुमाउनु परेको छ । शुक्रबार पहिरो खस्दा उदयपुर कटारी नगरपालिका २ मिलन चोकका ७ वर्षीय कर्ण मगर पुरिए । उद्धार गरेर अस्पताल लाँदै गर्दा बाटोमा नै ज्यान गयो । नवलपरासीका रामग्राम नगरपालिका १८ का बाबु-छोरोलाई बाढीले निल्यो । घरमा बाढी पसेपछि साहाराको खोजीमा निस्किएका ३८ वर्षीय विनोद पासी र १३ वर्षीय छोरा प्रदीप छिमेकीको घर पुग्न पाएनन् ।

बुधबार रातिदेखि परेको वर्षाका कारण नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को हुप्सेकोटमा शुक्रबार बिहानै पहिरो गयो। पहिरोमा परेर एकै परिवारका तीनजना बेपत्ता भए । हुप्सेकोट-४ माथिल्लो चारघरे रुम्सिका हस्तबहादुर पुलामीकी ४० वर्षीया श्रीमती धनमाया, ७ वर्षीया नातिनी भूमिसरा र ६ वर्षीया नातिनी देउमाया पुलामी बेपत्ता भएका छन् । महोत्तरीमा रातु खोलाको बाढीले वितण्डा मचाएको छ । बलवास्थित तिलगढमा बाँध भत्काएर बाढी गाउँमा पस्दा ९ सय घर डुबेको छ । चुरेको शीरबाट बग्ने नदीहरूको बाढीले तराईको ३७ जिल्लालाई प्रत्येक वर्ष डुबाउँछ । सीमाक्षेत्रमा भारतले एकतर्फी बाँध निर्माण गर्दा तराईका कैयौं गाउँ डुबेको छ ।

वर्षासँगै चुरेबाट बग्ने खोलाले पनि रूप फेरेको छ। १ सय ६४ नदीको चरम दोहनले बस्ती प्रभावित हुनुका साथै हजारौंको उठिबास भएको छ । नवलपरासीको रामग्राम १ की राधिका राना भन्छिन्, ‘केटाकेटीहरू बिहानको खाना खाने समयमा भोक लाग्यो भनेर रोइरहेका छन्, ५ पिस बिस्कुट ४ जनालाई बाँडेर दियौं’, रानाले भनिन्, ‘खानेकुरा पाए पनि हुन्थ्यो।’ उनको घरमा बाढी पसेपछिको पीडा हो यो ।

चुरेविद् डा. विजय सिंह अत्याधिक चुरे दोहनकै कारण तराईमा डुवानको मात्रा बढेको बताउँछन् । लगातार २४ घण्टामा १४० मिलिलिटरभन्दा बढी पानी पर्यो भने जमिनले पानी सोस्न सक्दैन । झन् चुरे र तराईमा ३ सय मिलिलिटरभन्दा बढी पानी परेको विगतको रेकर्ड छ ।

लगातार झरी पर्दा पनि जमिनले पानी सोस्न सक्दैन र तराईमा डुबानको समस्या आउने डा. सिंहको तर्क छ । ‘विनासले चुरेमा पानी सोस्ने क्षमता कम हुँदै गयो, चुरेबाट माटो मिसिएको पानी बाढी भएर तराईमा पुग्छ,’ उनले भने, ‘पानीको घनत्वचाहिँ बाक्लो हुन्छ, पानी रिचार्ज हुन पाउँदैन ।’

बाढीले डुबान मात्रै गरेन गौरवका आयोजना पनि ध्वस्त पारेको छ । अढाई महिनाको अवधिमा हुलाकी राजमार्गसहितका देशभरमा ६० वटा पक्की पुल बाढीले भत्काएको छ । असार १ गतेको मेलम्चीको बाढीले ५ अर्ब रुपैयाँ लगानीमा २२ वर्षमा निर्माण सकिएको मेलम्ची खानेपानी आयोजना एक रातमा ध्वस्त बनायो । वर्षायाममा खोलामा बाढी आउनु स्वाभाविक हो तर यत्रो ठूलो राष्ट्रिय गौरवको आयोजना निर्माण गर्दा ‘सम्भावित जोखिम’ तर्फ ध्यान नपुग्दा क्षति भोग्नु परेको हो ।

यहाँ बाढीपछिको पुनर्निर्माणमा १ अर्ब ८८ करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । मेलम्चीको बाढीले बस्तीमा पुर्‍याएको क्षतिबारे सरकारले अध्ययन गर्दैछ। जेठ ३० गते यताको मुनसुनी वर्षाले देशभरिमा १५ करोड १९ लाख ९९ हजा रुपैयाँ क्षति भएको अनुमान छ ।

त्रिविका भूगर्व शास्त्री प्रा.डा.तारानिधि भट्टराईका जथाभावी विकास निर्माणले गर्दा भू-सतहको शक्ति सन्तुलनमा असर पर्दा पहिरो जाने गरेको बताए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा राजकरण महतोले याे समाचार लेखेका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*