१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

ढोरपाटनमा सिकारको तयारी



बागलुङ । ढोरपाटन सिकार आरक्षमा सिकार खेलाउन पाँच कम्पनीले दरभाउपत्र बुझाएका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गत भदौ १७ गतेदेखि शुक्रबारसम्मलाई दरभाउपत्र पेश गर्न समय तोकेको थियो ।

विभागका अनुसार सिकार कम्पनी नेपाल ट्राभल एक्पिडिसन, हिमालयन वाइल्ड लाइफ आउटफिटर, ट्र्याक एण्ड ट्रेल्र्स, हिमालयन सफारिज र ग्लोबल सफारिजले बोलपत्रमा भाग लिएको हो । बोलपत्रको प्रक्रिया पूरा गरेपछि मात्र कम्पनीले सिकारका लागि अनुज्ञापत्र पाउँछन् ।

प्रतिस्पर्धाबाट शिकार गराउनका लागि हरेक शिकार याममा विद्युतीय बोलपत्र आव्हान गर्ने गरिएको विभागका सूचना अधिकारी हरिभद्र आचार्यले जानकारी दिए । “प्रतिस्पर्धाबाट छानिएका कम्पनीले तोकिएको कोटाअनुसार आरक्षमा शिकार गराउन पाउँछन्”, उनले भने। आरक्षमा वर्षेनी (असोज–मङ्सिर), (फागुन–वैशाख) गरी दुई याममा नाउर र झारलको सिकार खुला हुन्छ । बोलपत्रको प्रक्रिया टुङ्गिएपछि पेशेवर विदेशी शिकारी, कम्पनीका प्रतिनिधिसहितको टोली सिकार खेल्न आरक्षमा पुग्ने विभागका सूचना अधिकारी आचार्यले बताए।

हरेक वर्ष असोज दोस्रो हप्तातिरबाट आरक्षमा सिकार खेल्न शुरु हुन्छ । गत वर्ष यही याममा भने ढिलो गरी सिकार खुलेको थियो । कोरोना महामारीलाई हेरेर स्वास्थ्य सुरक्षाको सुनिश्चितता र शर्तसहित सिकार खुला गरिएको थियो । गत (फागुन–चैत) याममा भने नौ नाउर र चार झारलको सिकार गरिएको थियो । विभागले अनुमति दिएकोमध्ये एउटा मात्र झारलको सिकार हुन नसकेको आरक्ष कार्यालयका सहायक संरक्षण अधिकृत सूर्य खड्काले जानकारी दिए ।

उनका अनुसार विभागले दुवै याममा गरी वर्षमा २० नाउर र ११ झारलको शिकार कोटा निर्धारण गर्नेगर्छ । सिकारको सबै काम विभागमार्फत हुने गरेको छ । स्थानीय व्यवस्थापन र अनुगमन मात्र आरक्ष कार्यालयले गर्छ । “सिकारका लागि आरक्षभित्रको सबै प्रबन्धका लागि हामी तयारी अवस्थामा छौँ”, सहायक संरक्षण अधिकृत खड्काले भने ।

विसं २०३९ मा स्थापना भएको आरक्ष देशकै एकमात्र वैधानिक सिकार गन्तव्य हो । सिकार कम्पनीबीच बोलपत्रमा हुने प्रतिस्पर्धाका आधारमा सिकारको राजस्व दर घटबढ हुने गर्छ । कुनै याममा सिकारको माग कम आउँदा कम्पनी प्रतिस्पर्धा गर्न चाहन्नन् । माग बढी हुँदा भने सीमित कोटाका लागि प्रतिस्पर्धा बढ्छ र कम्पनी पनि बढी राजस्व तिर्न तयार हुन्छन् । तीन वर्षअघि (फागुन–वैशाख) को याममा एउटा नाउर सिकारको रु १३ लाख ५१ हजार र झारल सिकारको रु १३ लाख ५० हजारसम्म राजस्व बुझाउन कम्पनी तयार भएका थिए । अहिले कोरोना महामारीको जोखिम घटेको, यात्रा प्रतिबन्ध पनि हटेको स्थितिमा विदेशी सिकारका लागि ढोरपाटन आउन आतुर छन् । फलस्वरुप बोलभाउपत्रमा प्रतिस्पर्धा हुने देखिएको छ । सिकार खेलाएर आरक्षले वर्षेनी कराडौँ रुपैयाँ राजस्व राज्यको ढुकुटीमा योगदान गर्दै आएको छ ।

व्यवस्थित सिकारका लागि आरक्षभित्र सुर्तीबाङ, फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ र सुनदह गरी सात ‘ब्लग’ तोकिएको छ । सिकारीले रोजेको ठाउँमा कम्पनीले सिकार गराउने गर्छन् । सिकारका लागि रुस, अमेरिका, क्यानाडा, नर्वे, जर्मनीलगायत देशबाट तालिमप्राप्त सिकारी ढोरपाटन आउँछन् । सौखिन र खर्चिला विदेशी शिकारीको रोजाइमा ढोरपाटन पर्ने गरेको छ । एउटै सिकारीले रु ३० देखि ३५ लाखसम्म सिकारमा खर्चने गरेको कम्पनी बताउँछन् । सिकारी हेलिकप्टरबाट आरक्षमा पुग्ने गर्छन् ।

सिकारी, आरक्ष कार्यालय तथा कम्पनीका प्रतिनिधि, भरिया र पथप्रदर्शकसहितको टोलीले १५ दिन आरक्षमा बिताउँछन् । १,३२५ वर्ग किमिमा फैलिएको आरक्ष बागलुङ, म्याग्दी र रुकुम जिल्लाको उच्च पहाडी र हिमाली भूभागमा अवस्थित छ । रोमाञ्चक र साहसिक सिकार पर्यटनका लागि ढोरपाटन विश्वमै प्रख्यात छ ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  २ : ०३ बजे

जलवायु परिवर्तनको सबैभन्दा बढी असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको

सुनको मूल्यले बनायो अहिले सम्मकै नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको भाउले शुक्रबार अहिले सम्मकै नयाँ रेकर्ड

चीनको ‘जीडीआई’बाट नेपालले पनि लाभ लिनसक्छ : एमाले उपाध्यक्ष पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले

महिला सशक्तिकरणको मुख्य आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख

जीर्ण महोत्तरी कारागारको तत्काल जीर्णोद्धार थाल्न सुझाव

महोत्तरी । महोत्तरी कारागार जीर्ण भएको छ । सङ्घीय संसद्को