७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

नारायणगढ-बुटवल सडक : खाल्डाखुल्डीले सवारी गुडाउन सकस



नवलपुर । विस्तारका क्रममा रहेको महेन्द्र राजमार्गको नारायणगढ-बुटवल सडकखण्डमा चालक तथा यात्रु सकसपूर्ण यात्रा गर्न बाध्य भएका छन । करिब ११४ किलोमिटर लम्बाइ रहेको सो सडकको खण्ड-१ मा पर्ने नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को ६५ किलोमिटर सडक खण्डमध्ये आधाभन्दा बढी भत्किएर खाल्डाखुल्डी छन ।

गैँडाकोटबाट सुरु हुने सडकको खाल्डाखुल्डी दाउन्नेसम्म उस्तै छ । चारवटा स्थानीय तहलाई छुने सो सडकको सबैभन्दा बढी खाल्डाखुल्डी गैँडाकोटमा रहेको छ । यो सडकको सबैभन्दा कम खाल्डाखुल्डी र केही राम्रो बाटो भने मध्यविन्दु नगरपालिकाको जङ्गल क्षेत्रमा मात्रै भेट्टाउन सकिन्छ । सो सडक भएर यात्रा गर्नेमध्ये सबैभन्दा बढी समस्या बिरामी र एम्बुलेन्स चालकलाई हुने गरेको छ ।

संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपालका केन्द्रीय अध्यक्ष नवराज लामिछानेले नारायणगढ-बुटवल सडक पहिलेको अवस्थामा भन्दा ९९ प्रतिशत बिग्रिएको बताए । ‘सामान्य नागरिकलाई त त्यो बाटोमा यात्रा गर्न गाह्रो हुन्छ । झन् हामी त बिरामी लिएर हिँड्नुपर्छ, बिरामीलाई चाँडो अस्पताल पुर्‍याउनुपर्छ । बाटोका कारण बिरामीलाई अस्पताल पुर्‍याउन ढिला हुँदा उनीहरूको अवस्था जटिल भइसकेको हुन्छ,’ उनले भने ।

नवलपुरका बिरामीलाई अस्पताल लैजाने बेलामा घरमा सामान्य बिरामी भएका मान्छेसमेत अस्पताल पुग्दा उनीहरूको अवस्था जटिल हुने गरेको लामिछानेले बताए ।

‘बिरामीलाई चाँडो अस्पताल पुर्‍याउनुपर्ने हुन्छ । तर बाटोको अवस्थाका कारण एम्बुलेन्स कुदाउन सक्ने स्थिति नै छैन । विस्तारै जाँदा अस्पताल ढिला पुगिने बाध्यता एउटा छ, अर्को बाटोमा भएका खाल्डाखुल्डीका कारण बिरामीको ज्यान शिथिल हुन्छ,’ उनले भने ।

यो सडकमा रहेको खाल्डाखुल्डीका कारण साह्रै समस्यामा हुने गरेको लामिछानेले बताए । सो सडक भएर यात्रा गर्ने अन्य निजी तथा सार्वजनिक सवारी साधनका चालकसमेत बाटोका कारण समस्यामा पर्ने गरेको बताउँछन ।

मध्यविन्दुबाट काठमाडौं चल्ने माइक्रोबसका चालक अजय चौधरीले बाटोमा खाल्डाखुल्डी बढी हुँदा सवारी साधन चाँडै बिग्रिने गरेको गुनासो गरे ।

‘पहिला महिनाको बढीमा दुईपटक सवारी सर्भिसिङ गर्दा हुन्थ्यो । अहिले दुईपटक काठमाडौँ पुगेर आउँदा गाडी सर्भिसिङ गराएन भने चलाउनै नसकिने हुन्छ,’ उनले भने ।

सडकमा भएका ठूला-ठूला खाल्डाका कारण गाडीको पट्टा भाँचिने, टायर खिइने समस्या बढी हुने गरेको चौधरीको भनाइ छ ।

घाम लाग्दा धुलो, पानी पर्दा हिलो

सडकको दुरवस्थाका कारण स्थानीयवासीसमेत मर्कामा परेका छन । कावासोती-१६ डण्डामा मोबाइल पसल सञ्चालन गर्दै आएका सन्तोष पोखरेलले बाटोमा उड्ने धुलोका कारण आफूहरूलाई समस्या हुने गरेको बताए ।

‘पानी पर्दा हिलो हुन्छ, घाम लाग्दा धुलो उडेर पसल फोहर हुने गरेको छ । मोबाइलका सामान लिन दैनिकरूपमा नारायणगढ जानुपर्ने मलाई बाटोको हिलो र धुलोका कारण झनै समस्या पर्ने गरेको छ,’ उनले भने ।

बाटोमा भएको खाल्डाखुल्डी र घाम लाग्दा उड्ने धुलो तथा पानी पर्दा हुने हिलोका कारण मोटरसाइकल चलाउन पनि समस्या हुने गरेको उनले बताए ।

‘नारायणगढ पुगेर सामान ल्याउन भनेर मोटरसाइकलमा जानसक्ने अवस्था नै छैन । डण्डाबाट नारायणगढ पुग्दा मान्छे पूरै धुलैधुलो भइन्छ, बाटोको अवस्थाका कारण यो सडकमा मोटरसाइकल चलाउन नपरे हुन्थ्योजस्तो लाग्छ,’ उनले भने ।

नारायणगढ-बुटवल सडकको खण्ड-१ मा पर्ने ६५ किलोमिटर सडकमध्ये करिब १५ किलोमिटर सडकमात्रै गाडी गुडाउन सकिने अवस्थाको छ ।

दाउन्नेको १४ किलोमिटर उकालो सडकमा पक्की सडक देख्नै मुस्किल छ । दुम्किबासबाट दाउन्नेसम्मको सडकको सबै कालोपत्र उप्किएर ग्रामीण क्षेत्रको कच्ची सडकजस्तै बनेको छ ।

दशैँमा सरर गाडी गुडाउन पाइने

नारायणगढ-बुटवल सडक आयोजनाका सूचना अधिकारी कृष्ण आचार्यले खण्ड-१ मा रहेका सबै खाल्डाखुल्डी दशैँ अगाडि नै पुरेर सकिने बताए ।

‘चिनियाँ कम्पनीका प्रमुख मान्छेले दशैँसम्म सबै खाल्डाखुल्डी पुरेर सकाउने प्रतिबद्धता जनाउनुभएको छ । पुल निर्माणका लागि बनाइएका डाइभर्सनबाहेक सडकमा रहेका सबै खाल्डाखुल्डी पुरेर दशैँमा सरर गाडी गुडाउन पाइन्छ,’ उनले भने ।

निर्माण कम्पनीको कन्ट्रयाक्ट म्यानेजरले आयोजनालाई नटेरेपछि पुरानोलाई हटाएर कम्पनीले नयाँ कन्ट्रयाक्ट म्यानेजर पठाएको भन्दै आचार्यले नयाँ म्यानेजरले आफूहरुले भनेअनुसार काम गरेको बताए ।

‘केही समय अगाडि मात्रै नयाँ म्यानेजर आउनुभएको छ । आयोजनालाई ब्लेम नलाग्ने (अबजस नआउने) गरी तीव्ररूपमा काम गर्छु भनेर उहाँले हामीसँग प्रतिबद्धता जनाउनुभएको छ,’ उनले भने ।

मनसुनसमेत सकिएकाले अब भत्किएका बाटो मर्मतसँगै सडक विस्तारको कामले तीव्रता पाउने उनले बताए । नारायणगढ-बुटवल सडकको खण्ड-१ मा काम सुरु भएको साढे दुई वर्षको अवधिमा करिब आठ प्रतिशत मात्रै काम सकिएको छ । रासस

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  ८ : ३४ बजे

हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना

काठमाडौं । आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई १२

विवादका बीच गण्डकीको प्रदेशसभाको बैठक बस्दै

गण्डकी । गण्डकी प्रदेशसभाको बैठक आज बस्दै छ । गण्डकी प्रदेशका

हेलिकोप्टर दुर्घटनामा केन्याका सेना प्रमुखको निधन

केन्या । केन्याका सैन्य प्रमुख फ्रान्सिस ओगोलाको हेलिकोप्टर दुर्घटनामा परी

युरोपा लिगको सेमिफाइनलको समीकरण पुरा

काठमाडौं । युइएफए युरोपा लिगको सेमिफाइनलको समीकरण पुरा भएको छ

आज मनकामना केबलकार बन्द

चितवन । मनकामना केबलकार आज एक दिनका लागि बन्द हुने