९ जेष्ठ २०८३, शनिबार | May 24, 2026

धवलागिरि अस्पताल पदाधिकारीविहीन



बागलुङ । उपप्रादेशिक तहमा स्तरवृद्धिको घोषणा गरिएको धवलागिरि अस्पताल पदाधिकारीविहीन अवस्थामा छ । अघिल्लो व्यवस्थापन समितिका पदाधिकारीको अवधि गत असोज २२ गते सकिए पनि अझैसम्म नयाँ नियुिक्त हुन सकेको छैन । समितिका अध्यक्षको नियुक्ति प्रदेश सरकारले गर्छ ।

राजनीतिक नियुक्ति भएकाले सत्तापक्षीय दलबीच कुरा नमिल्दा पदाधिकारी चयनमा ढिलाइ भइरहेको हो । एउटै दलभित्र पनि अध्यक्षका आकाङ्क्षी धेरै छन् ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन डा. शैलेन्द्र विक पोखरेलले पदाधिकारी नियुक्तिका विषयमा अहिलेसम्म कुनै जानकारी नआएको बताए । पदाधिकारी नहुँदा पनि अस्पतालको नियमित सेवा र प्रशासनिक काम नरोकिने उनको भनाइ छ। समितिको सदस्य सचिवमा अस्पतालका मेडिकल सुपरिटेण्डेन रहने व्यवस्था छ । पदाधिकारी नआउञ्जेल अस्पतालको व्यवस्थापकीय कामको जिम्मेवारी पनि मेसुमै थपिन्छ । व्यवस्थापन समितिमार्फत हुने कर्मचारी व्यवस्थापन र खटनपटनमा भने पदाधिकारी नहुँदा समस्या पर्ने गरेको छ ।

“आन्तरिक व्यवस्थापनसँगै पूर्वाधार विकासलाई गति दिन र अन्य महत्वपूर्ण निर्णय गर्नुपर्दा समितिका पदाधिकारीको आवश्यकता पर्ने भएकाले नियुक्तिको निर्णय छिटो भइदिए सहज हुने थियो”, मेसु पोखरेलले भने । सात सदस्यीय समितिमा अध्यक्ष, सदस्यसचिवसहित दुई महिला सदस्य, अध्यक्षले राख्न पाउने एक सदस्य, उद्योग वाणिज्य सङ्घ र अस्पताल रहेको स्थानीय तहका प्रमुख पदेन सदस्य रहने व्यवस्था छ ।

यसपालिदेखि समितिको संरचनामा केही फेरबदल हुनसक्ने जनाइएको छ । हालै सेवा निवृत्त भएका समितिका अध्यक्ष केवी रानामगरले अस्पताल जस्तो संवेदनशील संस्थामा पदाधिकारी नियुक्ति गर्दा सरकारले ढिलाइ गर्न नहुने सुझाव दिए। “पहिलेको समितिले कार्यकाल पूरा गर्नेबित्तिकै नयाँ समिति आउनुपर्ने हो तर हाम्रोमा यस्तै प्रवृत्ति छ, सरकार पनि जिम्मेवार छैन”, रानाले भने, “अस्पताल सुधारका कैयौँ योजना अघि बढाइएकाले त्यसलाई नयाँ नेतृत्वले गति दिने विश्वास छ ।”

अघिल्लो समितिको पालामा अक्सिजन प्लान्ट, सघन उपचार कक्ष निर्माणलगायत काम भएका थिए । जिल्लामा कोरोना भाइरस सङ्क्रमण देखिँदाको अत्यासपूर्ण स्थितिमा पनि अस्पतालले सहजरुपमा सेवा प्रदान गरेको थियो । प्रदेश सरकार मातहत आएपछि सो अस्पताललाई २०० श्ययाको जनरल अस्पतालमा स्तरोन्नति गर्ने योजना अघि सारिएको थियो । सरकारको नीति तथा कार्यक्रममा पनि त्यो निर्णय समावेश छ तर पूर्वाधार र मानव संशाधनको अभावमा सो योजना कार्यान्वयनमा चुनौती छ ।

अस्पतालमा दरबन्दीअनुसारका चिकित्सक छैनन् । सोह्र विशेषज्ञ र छ मेडिकल अधिकृतको दरबन्दी रहे पनि अहिले १० मात्र विशेषज्ञ चिकित्सक कार्यरत छन् । ती पनि दरबन्दीका नभएर छात्रवृत्तिअन्तर्गत करारमा आएका चिकित्सक हुन् । अस्पताल भवन समयमा नबन्दा श्यया विस्तार हुन सकेको छैन । नयाँ श्यया ‘स्टोर’मा थन्किएका छन् । निर्माण सुरु भएको वर्षौं बितिसक्दासमेत अस्पतालको ‘सी’ ब्लक अझै बनिसकेको छैन । जनशक्ति, उपकरण र मानव संशाधनको अभावमा उपप्रादेशिक अस्पताल घोषणामा मात्र सीमित हुने डर छ । – रासस

 

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  १२ : ३७ बजे

८ बुँदै घोषणापत्र जारी गर्दै नेपाल पत्रकार महासंघ बाँकेको १५ औं साधारण सभा सम्पन्न

नेपालगन्ज । ८ बुँदै घोषणापत्र जारी गर्दै नेपाल पत्रकार महासंघ

बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध

म्याग्दी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुई जना भारतीय पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको

ऊर्जामन्त्री श्रेष्ठद्वारा स्युचाटारस्थित विद्युत् भार प्रेषण केन्द्रको निरीक्षण

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले स्युचाटारस्थित नेपाल

मदन भण्डारी नेपाली राजनीतिका दूरदर्शी नेता हुनुहुन्थ्यो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारी नेपाली राजनीतिक