१ पुस २०८२, मंगलबार | December 16, 2025

अदालतको परमादेशले संविधान र लोकतन्त्र बचाएको छ : प्रधानमन्त्री देउवा



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अदालतको परमादेशले संविधान र लोकतन्त्र बचाएको बताएका छन् ।

कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको ६८औँ स्थापना दिवसका अवसरमा नेपाल तरुण दल केन्द्रीय कार्यसमितिले आज यहाँ आयोजना गरेको कार्यक्रममा कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले अदालतको परमादेशले संसद्, संविधान र लोकतन्त्र बचाएको बताएका हुन् ।

देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ फर्काउँदै परमादेशबाट संसदीय व्यवस्था, संविधान र सिंगो देशलाई बचाउने काम भएको दाबी गरे । उनले परमादेशको विरोध गर्ने नाममा परमादेश दिने सबै न्यायाधीसलाई हटाउनुपर्छ भन्नु गैरजिम्मेवार भएको टिप्पणी गरे । एमाले अध्यक्ष ओलीले मंगलबार परमादेश दिने पाँचै जना न्यायाधीसले राजीनामा दिनुपर्ने बताएका थिए ।

“केपी शर्मा ओलीलाई संसद् भङ्ग गर्ने अधिकार संविधानले दिएको थिएन, संविधानले नदिएको अधिकारलाई दुई/दुईपटक प्रयोग गर्दा सर्वोच्च अदालतले संविधान बचाएको हो,” देउवाले भने । पाँच दलको गठबन्धनबाट बनेको सरकारसँग स्पष्ट बहुमत रहेकाले जनादेश छैन भन्नुको कुनै अर्थ नरहेको प्रधानमन्त्री देउवाले बताए ।

देउवाले प्रधानन्यायाधीश र अदालतका बारेमा सरकार र आफ्नो पार्टीले केही नबोल्ने स्पष्ट पारे। उनले भने, “यो अदालतभित्रको कुरा हो, उसैले यसको समाधान निकाल्न सक्छ ।” देउवाले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीबाट भर्खरै राजीनामा दिएका गजेन्द्र हमाल कांग्रेसकै नेता भएको समेत बताए।

कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले पार्टीको १४औँ महाधिवेशनलाई सफल बनाउन तरुण युवाको महत्वपूर्ण भूमिका रहेको बताए ।

सो अवसरमा नेपालको लोकतान्त्रिक आन्दोलनमा अनवरत योगदान गर्दै देशलाई सक्षम नेतृत्व दिएका युवाहरुका प्रेरणाका स्रोत प्रधानमन्त्री तथा पार्टी सभापति देउवालाई तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेतले अभिनन्दन पत्र प्रदान गरेका थिए ।

तरुण दलका पूर्वाध्यक्ष एवं गृहमन्त्री बालकृष्ण खाँणले पार्टीलाई सबल, सुढृढ र सफल बनाउन तरुण युवाको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे । “कांग्रेसको महत्वपूर्ण खम्बा भनेको तरुण हो, पार्टी बलियो बनाउन तरुण, युवाहरु एकजुट र बलियो हुनुपर्छ,” खाँणले भने ।

गृहमन्त्री खाँणले लोकतन्त्र र संविधानको रक्षा गर्नका लागि वर्तमान गठबन्धनको सरकार निर्माण भएको बताउँदै यसलाई सफल बनाउन तरुण युवाको उत्तिकै भूमिका रहेको स्पष्ट पारे । कांग्रेसले आफ्ना पार्टीका नेतालाई आलोचना गर्ने परिपाटीको अन्त्य भएमात्र पार्टीले आगामी निर्वाचनमा विजय हासिल गर्न सक्ने बताए ।

कार्यक्रममा खानेपानी तथा सरसफाइमन्त्री उमाकान्त चौधरीले लोकतन्त्रको रक्षा तथा पार्टीको विचारलाई संस्थागत गर्न र पार्टीले दिएको जिम्मेवारी पूरा गर्न तरुण युवाहरु लाग्नुपर्ने बताए । उनले तरुण दलले पूर्णता नपाएकामा चिन्ता व्यक्त गर्दै हाम्रो र राम्रो कांग्रेस निर्माणका लागि युवाहरु एकजुट हुन आग्रह गरे । युवाहरु देशको भविष्य र सम्पत्ति भएकाले यसलाई सही ढङ्गले परिचालन गर्नुपर्ने उनको भनाइ थियो ।

तरुण दलका पूर्वाध्यक्ष एवम् पूर्वमन्त्री महेन्द्र यादवले पार्टीलाई बलियो बनाउन तरुण दल एकजुट र क्रियाशील हुनुपर्नेमा जोड दिँदै आगामी निर्वाचनमा कांग्रेसलाई बहुमत दिलाउन तरुण युवाको महत्वपूर्ण भूमिका रहेको बताए । तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेतले पार्टीलाई बलियो बनाउन र अन्याय, विकृति र विसङ्गतिकाविरुद्ध सधैँ तरुण दल खरो भएर उभिने बताउनुभयो बताए।

कार्यक्रममा गृहमन्त्री खाँण र खानेपानी तथा सरसफाइमन्त्री चौधरीलाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।

यस्तै, दलका पूर्वाध्यक्ष यादव, विनोदप्रकाश कायस्थ, उदयशमशेर राणालाई समेत दोसल्ला ओढाएर सम्मान गरिएको थियो । तरुण दलको गीत रचना गर्नुभएका सञ्चारकर्मी एवम् साहित्यकार डा नवराज लम्साललाई समेत कार्यक्रममा सम्मान गरिएको थियो ।

कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको सक्रियतामा विसं २०१० कात्तिक १० मा स्थापना भएको नेपाल तरुण दल विसं २०१७ पुस १ मा राजा महेन्द्रले प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई पक्राउ गरेसँगै निष्क्रिय अवस्थामा रहेको थियो । पुनः विसं २०५४ मा तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले तरुण दलको पुनस्र्थापना गरेपछि तरुण दलले आफ्नो सङ्गठनलाई विस्तार गर्दै आएको छ ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  १ : ११ बजे

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि