प्रणयिनी

कथा
गणेशबहादुर जीसी
१३ कार्तिक २०७८, शनिबार
                 

स्मृति

उज्यालो चन्द्रमा मुनी, अँध्यारो भरिएको आँशुको झरिमा भिजेको मेरो ऐकान्तिक जिन्दगी । भयाक्रान्त स्मृति । उद्वेलित अतीत । प्रेमालिङ्गन रित्तिएको मेरो जिन्दगी ।

मेरो प्यारो कमलको न्यानो आल्हादित अँगालोमा प्रेमको रङ्गिलो जिन्दगी थियो,मेरो ।
उस्स ऽऽ । स्मृतिको यात्रामा थाकेको कस्तो नैराश्य जिन्दगी । रङ्गीन विगतले पछारेको कहालीलाग्दो यो वर्तमान । हिजो मेरो अँगालोभरि कमल थिए,कमलको अँगालोभरि म थिएँ, सिङ्गो शरीर थियो, मेरो पे्रमालिङ्गनमा । सुखमय अभिन्न आल्हादित दाम्पत्य जीवन थियो,मेरो । तर आज काखमा केवल छोरा छ, आलोक । उनकै प्रतिबिम्ब,उनकै प्रेमालिङ्गनको ताज, मेरो आलोक ।

कथाकार

छातिभरि बेदनाछ । मेरो जीवनको एउटा कालखण्डमा पर्न आएको त्यो अकल्पनीय बज्रपातले, मेरा प्रत्येक रातहरु आँशुमा डुबेका हुन्छन् । दिनका प्रत्येक पाइलाहरु बोझिलो हृदयमा लतारिदै टप्प रोकिन्छ । यो कस्तो आइसीयुको जिन्दगी मेरो ।

एकरात, स्वप्नमा, गरुडमा आरुढ निशापुञ्जकीदेवी, प्रकृतिले मलाई भनिन्–
”प्रणयिनी तँ निराश नहो । तँ एउटी नारी होस । तँ कसैकी पत्नी थिइस, कसैकी,बुहारी होस,कसैकी भाउजु भए तापनि, समग्रमा तँ आमा होस, प्रेम,माया,ममता र वात्सल्यताको शीतल छाहारी होस,सागर होस । सूर्यबिना फूल नफुले जस्तै,प्रेमबिना सुख फुल्दैन । आमाको कोखबिना कुनै साहित्यकार र बहादुर जन्मिदैन । त्यसैले तँ आमा होस सबकी । आश्था र श्रद्धाकी पुञ्ज । दुर्भाग्यबस तैंले शिरमा सिउरेको फूल झरे तापनि त्यो फूलको वासनादार विरुवा दीर्घायु छ । यसैलाई गोडमेल गरेर झाँगिलो बना, सुवासित हुनेछ । सूर्य एउटै छ,तर एक्लो छैन । उसका अनेकरङ्गी किरणहरु छन् । तेरो एक्लो यो अस्तित्व पनि चम्किलो र अटल हुनेछ । जिन्दगी क्षणभङ्गुर भए तापनि समय अविनासी छ । समयलाई सकारात्मक पाटोबाट सदुपयोग गरिस् भने इतिहास अमर छ, । तेरो हातमा छ । चिन्तामा नडुब् ।”

धन्य प्रकृति माता । ममाथि तिम्रो यस्तै कृपादृष्टि रहिरहोस् । निश्चय नै चिन्ताले चितामा पु¥याउनु अघि मैले केही गर्नु छ । म नारी हुँ,म फूल हुँ,वासना हुँ,प्रेम हुँ । मेरो लागि मेरो छोरो सुन्दर छ, सुशील छ, सर्वगुण सम्पन्न छ, । निश्छल छ, बलवान् छ,,बहादुर छ । सब छ । म उसकी ममतामयी आमा हुँ, आश्था र विश्वासकी धरोहर । माया र दयाकी खानी हुँ । सबथोक हुँ म,उसको लागि । वात्सल्यताको छहारी हुँ जीवनरुपी अलिखित कथाको पात्र हुँ म । हे प्रकृति माता ! मैले मेरो सन्तानलाई मेरो ममताको छहराबाट झरेको दूध पियाएर सर्व गुण सम्पन्न बनाउनेछु,तिमीले भने जस्तै । हे माता ! मलाई तिम्रो साथ चाहिन्छ, सत्य निष्ठाको । मानौं सत्य, निष्ठाबादी युधिष्ठिर, बलशाली भीम, विवेक र शक्तिशाली अर्जुन जस्तै मेरो सन्तान होस । यही मेरो प्रार्थनाछ,तिमीसंग ।
०००

मेरो हृदयमा झुण्डिएको उनको तस्वीरबाट मेरा कानमा ढुक्कुरको गीतहरुझैँ वर्तमान भएर गुञ्जिरहन्छन्,प्रिय कमलका हिजोका अप्राप्य स्वरछन्दहरु– “प्रणी ! अब हाम्रो जीवन दुईबाट तीन भयो । हाम्रो यो पे्रमिलो सांसारिक जीवनमा वहार आइरहोस । हाम्रो प्रेम, यौवन र विरागबाट उत्पन्न भएको यो साझा मुटुको ढुकढुकी हो, आलोक । यसलाई देशकै आलोक बनाउनुछ, हामीले । त्यसैले यसको नाम आलोक राखेँ मैले । हाम्रो सारा तन,मन, धन यसैमा समर्पित हुनेछ । हाम्रो सामु अमित लामो भविष्य छ,,अनिश्चय भए पनि । यो हाम्रो अगि अगि हिडिरहेको भविष्यका पलहरुलाई सत्कार्यमा उपयोग गर्दै अगि बढ्नुछ हामीले ।”

कठ,ै मेरो प्यारो कमल ! तिमी कहाँ हौला अहिले । तिमीलाई छोडेर बहेको समयको नदी धेरै अगि बढिसकेकोछ । हाम्रो आह्लादको अँगालोबाट अस्तित्वमा आएको सन्तान– आलोक अहिले पाँच बर्षको भैसक्यो । परिवेशले कोट्याउँदा ऊ बाबाको खोजी गर्छ । अनि मेरो मुटु भट्किएर विदीर्ण हुन्छ,घरिघरि । उसको सङलो जिज्ञासालाई म बर्खाको भेल जस्तो आँशुको धमिलो जवाफले कतिसम्म टालुँ ? तर्काउन खोज्छु । प्रत्येक पल्ट–
अरुका बाबा छन् मेरो बाबा खै आमु ?भन्छ,
गाउँ जानु भाछ, बाबु भन्छु ।
“कहिले आउनु हुन्छ बाबा?”भन्छ ।
धेरैदिनपछि आउनुहुन्छ बाबु । भन्छु ।
“किन धेरै दिनपछि आउने बाबा?” भन्छ ।
काम परेर बाबु । भन्छु ।
मेरो बोझिलो जिन्दगीमा त्यो एउटा निर्मम सपना थियो, मलाई जिस्क्याउन आएको निरर्थक सपना । विपना त उहिल्यै लुटिसकेको थियो,मेरो जिन्दगीबाट ।
“अनि मलाई के ल्याइदिनुहुन्छ?बाबाले” भन्छ ।
तिमीलाई गुलियो मह ल्याइदिनुहुन्छ । भन्छु ।
यसरी मैले मेरो मुटुको ढुकढुकीको कुतुहललाई बर्षाैंसम्म झूटको कालो पर्दाले छेकि रहेंँ । मेरो प्यारो कमल ! तिमी अब तस्वीरमा सीमित भयौ । म स्मृति बिम्बमा सीमित भएँ । मलाई भाग्यले किन यसरी छलेको होला ।
शहरको कोलाहलवीच वेदनाको आँशु पिएर कतिसम्म बाँचु म ?
अब कुन मिडियालाई सुनाउँ म ? मेरो मुटु हराएको कथा ।
अब कसलाई सुनाउँ म ? मेरो छाति चिरिएको व्यथा ।

मेरो जिन्दगीको हरेक पलहरुमा मेरो प्यारो कमलको तस्वीर ठिङ्ग उभिएर भन्छ्–
“मेरी प्यारी प्रणी ! राम्रोसंग बसे । छोरा आलोकलाई देशको आलोक बनाएर मेरो कल्पना साकार बनाउने जिम्मा तिम्रो काँधमा छोडेँ । जिन्दगीदेखि हार कहिल्यै नखाए । तिम्रो प्रेमको अँगालोबाट म हराए तापनि तिम्रो हरेक पाइलामा मेरो आत्मा साथ रहने छ, सपनामा, कल्पनामा । रात्रीको सुनसानमा, दिनको ऐकान्तिकतामा, बाटाघाटा र गल्लीहरुमा,छोराको आकृति र हर्कतहरुमा, जनोद्दारका परोपकारी कामहरुमा । वेदनाका छालहरुमा । सोझा,बाङ्गा घुम्तीहरुमा । अनि यस्तै दैनन्दिन मैले छोडेका अपूरा कामहरुमा । मेरो आत्मा तिम्रै आत्माको साथ रहनेछ ा”

क्रमशः बाँकी अर्काे शनिबार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*