७ मंसिर २०८३, सोमबार | November 23, 2026

सिमसारमाथि मानवीय अतिक्रमण, संकटमा जैविक विविधता



कपिलवस्तु । वातावरण सन्तुलन र जैविक विविधतामा महत्त्वपूर्ण सिमसार मानवीय अतिक्रमणको चपेटामा पर्दा जैविक विविधता सङ्कट पर्न थालेको छ । सिमसार क्षेत्रमा एकोहोरो दोहन, संरक्षणको अभाव तथा मानवीय अतिक्रमणका कारण सङ्कटमा पर्न लागेको सरोकारवाला बताउँछन् ।

नेपालमा करिब ५ प्रतिशत भूभाग सिमसार रहेका छन् । देशभर ९ सिमसार क्षेत्र अन्तर्राष्ट्रिय महत्त्वको रामसार सूचिमा सूचिकृत रहेका छन् । रामसार क्षेत्रमा सूचिकृत कपिलवस्तुको जगदीशपुर तालमा पर्यटकीय चहलपहल बढेसँगै मानवीय गतिविधि बढ्दै गएको छ । जसको असर देखिन सुरु भएको छ ।

कपिलवस्तुको जगदीशपुर तालमा बुधवार २६औं विश्व सिमसार तथा ९औं चरा दिवसमा मनाउँदै गर्दा सरोकारवालाको सिमसार दोहनमा चिन्ता व्यक्त गरेका छन् । वक्ताहरूले सिमसार संरक्षणमा सरकार र समुदायले चासो दिनु पर्नेमा जोड दिएका छन् ।

मानवीय चहलपहलकै कारण चराको स्वर्ग मानिँदै आएको जगदीशपुर तालमा चराको सङ्ख्या घट्नुले सिमसार क्षेत्र सङ्कटमा पर्न लागेको बताइएको छ । लुम्बिनी प्रदेशमा भौतिक पूर्वाधार विकास मन्त्री सहसराम यादवले सिमसार क्षेत्रको संरक्षणका लागि लुम्बिनी प्रदेश सरकारले ध्यान दिने जनाउँदै प्रस्तावना तयार गर्न स्थानीयसँग आग्रह गरे ।

सिमसार क्षेत्रमा फोहर फाल्ने, नदीबाट बगेर आएका फोहर मैला प्लास्टिक जम्मा हुने कारणले जीव जन्तु खतरामा परेको बताइएको छ । डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख विजय राज सुवेदीले भने, ‘अब सिमसार विभिन्न किसिमले सकिँदै छ । पानी निकालेर सुकाएर खेतीपाती गर्ने प्रचलन रहेको छ । सिम मासेर धान रोपिएको छ । सिमसारमा फोहर फाल्दा नचाहिने बस्तु जम्मा हुँदा जीवजन्तु लाई असर गर्ने र सिमसार पनि मासिने समस्या थप भएको छ ।’

यता सिमसार क्षेत्रमा मानवीय गतिविधि बढ्दै जाँदा त्यसको प्रत्यक्ष असर देखिन सुरु भएको छ । जगदीशपुर तालमा मानवीय क्रियाकलाप बढेको छ । डुङ्गा चलाउँदा चराहरूको चहलपहलमा बाधा उत्पन्न देखिएको छ । पछिल्ला तीन वर्षमा आगन्तुक चराको संख्यासमेत घट्दै गएको स्थानीय फोटो पत्रकार बृजेश जयसवालले बताए । नेपाल पन्छी संरक्षण संघले गरेको चरा गणनाअनुसार जगदीशपुर तालमा चराको सङ्ख्या वर्षेनी घटेको छ ।

संघका प्रोजेक्ट अफिसर भूपाल नेपालीका अनुसार जगदीशपुर तालमा सन २०१९ मा १४९८०, सन २०२० मा २०८००, सन २०२१ मा १२०६३ चरा गणना भएका थिए । तर, यस वर्ष १३ हजारको हाराहारीमा चरा गणना भएको नेपालीले बताए । हिमाली नेचरले गरेको गणनामा ९३०० चरा फेला परेका थिए ।

मानिसको चहलपहल, चोरी सिकारी, प्रजनन कार्यमा बाधा पुर्‍याउने, बास स्थानमा समस्याले गर्दा चराको सङ्ख्या घट्दै गएको छ । सिमसार क्षेत्रमा किनारहरू स्थानीयले मिच्दै गएको कारणले समेत सिमसार साँघुरो बन्दै गएको छ । कृषि कार्यमा रासायनिक मल र विषादीको प्रयोग बढ्दै जाँदासमेत सिमसार क्षेत्रको जैविक विविधतामा समस्या भएको बायोलोजीस्ट दिलीप चन्दले बताए ।

सिमसारलाई जैविक, सामाजिक पर्यावरणीय, पर्यटकीय, आर्थिक दृष्टिकोणले महत्त्वपूर्ण मानिए पनि समुदाय र सरकार बिचको असमझदारीको कारण चपेटामा पर्दै गएको छ । नेपाल सरकारले सिमसार संरक्षणका लागि सिमसार नीति २०६९ जारी गर्दै संरक्षण र व्यवस्थापन गर्ने नीति लिएको छ ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ८ : ३६ बजे

Your email address will not be published.

प्रधानमन्त्रीको ‘होम एन्ड अवे’ प्रणाली लागू गर्ने घोषणाले मोफसलका क्लब सञ्चालक उत्साहित

चितवन । नेपाल प्रिमियर लिगको तेस्रो संस्करणको फाइनल खेल सकिँदै

विदेशबाट फर्किएर ८० लाख लगानीमा पशुपन्छीपालन

कञ्चनपुर । छ वर्ष दक्षिण कोरियामा बिताएर स्वदेश फर्किएका कञ्चनपुरको

पञ्चकोटमा ठडिँदै १०८ फिट अग्लो विश्वशान्ति कलश

बागलुङ । धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको बागलुङको

वैकुण्ठ चतुर्दशी पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्दशीका दिन मनाइने वैकुण्ठ

अपी हिमाल : जहाँ प्रकृति बोल्छ

बझाङ । चारैतिर चाँदीझैँ टल्किएका हिमाल, बीचमा फैलिएको विशाल पाटन