६ बैशाख २०८१, बिहिबार | April 19, 2024

प्रदेशसभाको दुई विषयगत समितिको सभापति पदका लागि मतदान हुँदै



जनकपुर । मधेस प्रदेशअन्तर्गतका दुईवटा विषयगत समितिको सभापति पदका लागि आज प्रदेशसभामा मतदान हुँदैछ । प्रदेशसभा सचिवालयका अनुसार आज बिहान ९ बजे बस्ने प्रदेशसभाको बैठकमा कृषि तथा भूमि व्यवस्था समिति सभापतिका लागि मतदान हुनेछ भने दिउँसो १ बजे सार्वजनिक लेखा समितिको सभापति पदका लागि मतदान हुने कार्यतालिका छ ।

लामो समयदेखि रिक्त प्रदेशसभाअन्तर्गतको सार्वजनिक लेखा समिति र कृषि तथा भूमि व्यवस्था समिति सभापति पदमा सत्तागठबन्ध र प्रतिपक्षी गठबन्धनका तर्फबाट चार जनाले उम्मेदवारी दर्ता गराएपछि मतदान हुन लागेको हो । सार्वजनिक लेखा समिति सभापतिमा सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेस नरेशकुमार राययादव र प्रतिपक्षी गठबन्धनतर्फ लोकतान्त्रिक समाजवादी पार्टीका प्रह्लाद गिरीले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै कृषि तथा भूमि व्यवस्था समिति सभापति पदमा सत्ता गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी)का मदनसेन श्रीवास्तव र प्रतिपक्षी गठबन्धनको तर्फबाट नेकपा (एमाले)का जगतारन देवी साह सुडीले उम्मेदवारी दर्ता गराएका छन् । प्राकृतिक स्रोत तथा वातावरण समितिको सभापतिमा भने नेकपा (माओवादी केन्द्र)का जगतप्रसाद यादव निर्विरोध निर्वाचित भएका छन् । सो समितिको सभापतिमा उनको मात्र उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित भएको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए ।

प्राकृतिक स्रोत तथा वातावरण समितिका तत्कालीन सभापति माओवादी केन्द्रका प्रदेशसभा सदस्य रामचन्द्र मण्डल बर्खास्त भएपछि सो पद रिक्त भएको थियो । यस्तै कृषि तथा भूमि व्यवस्था समिति सभापति भएका वीरेन्द्रसिंह मन्त्री नियुक्त भएपछि उक्त समिति रिक्त छ । सार्वजनिक लेखा समिति भने सुरुदेखि नै सभापति चयन हुनसकेको छैन । सार्वजनिक लेखा समितिमा ज्येष्ठताका आधारमा नेकपा (एमाले)का लगनलाल चौधरीलाई सभापतिको जिम्मेवारी दिएको थियो । सार्वजनिक लेखा समिति पद अहिले रिक्त रहेको प्रदेशसभा सचिवालयका सचिव यादवले बताए ।

प्रदेशसभाअन्तर्गतको अर्थ तथा योजना समिति सभापतिमा जनता समाजवादी पार्टीका मनिष सुमन, विकास समितिमा जसपाकै शेष अब्दुल कलाम आजाद र प्रदेश मामिला सभापतिमा जसपाकै अशोक यादवलाई चयन गरिसकेको छ । महिला बालबालिका समितिको सभापतिमा लोसपाका जयनुल राइन छन् ।

प्रमुख प्रतिपक्षीको हैसियतमा सार्वजनिक लेखा समितिको सभापति पनि आफूहरूले नै पाउनुपर्ने लोसपाका सचेतक परमेश्वर साहले बताए । मधेस प्रदेश सरकारमा सङ्घीय गठबन्धनजस्तै जसपा, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहभागी छन् । यस प्रदेशमा केही दिनअघि सम्पन्न राष्ट्रियसभाको निर्वाचनयता लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा (एमाले)को प्रतिपक्षी गबन्धन कायम छ । एक सय ४ सदस्यीय प्रदेशसभामा सत्तारुढ पाँच दलको ७८ प्रदेशसभा सदस्य छन् भने प्रतिपक्षी दल लोसपाका १६ र नेकपा (एमाले)का आठ गरी प्रतिपक्षी गठबन्धनसँग २४ मात्र प्रदेशसभा सदस्य छन् ।

एमाले मधेस प्रदेशको सचेतकमा थापा चयन

नेकपा (एमाले) मधेस प्रदेश संसदीय दलको सचेतकमा शारदादेवी थापालाई चयन गरिएको छ । एमाले प्रदेश संसदीय दलका नेता सत्यनारायण मण्डलको अध्यक्षतामा बसेको बैठकले सचेतकमा थापालाई चयन गर्ने निर्णय गरेको हो । महोत्तरी क्षेत्र नं १ को (क)बाट निर्वाचित थापा प्रदेश सभासदस्य छन् ।

विसं २०६१ बाट कम्युनिस्ट राजनीतिमा लागेकी थापाले २०६४ मा पार्टीको सङ्गठित सदस्यता लिएका थियो । थापा हाल एमालेको प्रदेश कमिटी सदस्यसमेत हुन् । थापालाई सचेतकमा चयन गरेको सम्बन्धमा प्रदेशसभा सचिवालयलाई पत्रद्वारा जानकारी गराइसकेको एमाले संसदीय दलका नेता सत्यनारायण मण्डलले जानकारी दिए ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  ९ : २१ बजे

मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम

मधेश प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विहीवार मन्त्री परिषद

बुटवलको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारमा शेयर जारी गर्दै

बुटवल । बुटवलको ड्रिम इन्टरनेशनल होटलले साधारण शेयर (आईपीओ) जारी