१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

सभामुखको विकल्प खोज्न कांग्रेस तयार



काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी प्रतिनिधि सभाबाट पास गर्ने विषयमा सत्ता गठबन्धनभित्र असहमति चुलिएपछि प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस गठबन्धनको विकल्प खोज्दै अघि बढ्न तयार भएको छ ।

पाँच दलीय गठबन्धन बनेको १० महिनामा नै प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धन तोड्दै एमसीसी पास गर्न तयार भएका हुन् । बिहीबार प्रतिनिधि सभा बैठक स्थगित भएपछि प्रधानमन्त्री देउवा र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच एकै दिन दुई चरणमा वार्ता भएको थियो । दिउँसो संसद् भवनमै र साँझ प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा वार्ता भएको हो । प्रमुख सत्तारूढ दल कांग्रेसले गठबन्धनभित्रबाट एमसीसीमा सहमति हुने अवस्था नदेखेपछि एमालेको साथ खोज्दै आइरहेको छ ।

बिहीबार डाकिएको प्रतिनिधि सभाको बैठकअघिसमेत गबन्धनभित्र एमसीसीका विषयमा सहमति नजुटेपछि कांग्रेस विकल्पको रोज्न अघि बढेको हो । कांग्रेस पछिल्ला केही दिनयता सभामुखको भूमिका प्रतिसमेत असन्तुष्टसँगै सचेत बनेको छ ।

उच्च स्रोतका अनुसार प्रमुख प्रतिपक्षी दल एमालेले एमसीसीमा सहमति गर्ने अवस्था बन्दै गर्दा कांग्रेससमेत एमालेले उठाउँदै आएका मागप्रति लचक बनेको छ । ‘गठबन्धनमा पनि बस्ने सरकारको प्रस्तावको विरोधमा पनि उत्रने, यो शैली देशकै लागि हानिकारक छ भन्ने कांग्रेसको निष्कर्ष हो, एमसीसी पास गर्ने विषयमा एमाले लचक भए उसले उठाएका माग पूरा गर्न सरकार पनि लचक हुन्छ, अब अवस्था त्यस्तो बन्दै छ, त्यहीअनुसार तारन्तार संवाद अघि बढेका छन्,’ स्रोतले भन्यो ।

बैठकमा सहभागी कांग्रेस महामन्त्री गगन थापाले एमालेसँगको संवाद सकारात्मक रहेको जानकारी दिए । ‘एमालेसँग कांग्रेसको प्रस्ताव राष्ट्रिय महत्वको विषयमा सँगै जाऔं भन्ने हो, संविधान बनाउँदादेखि पटकपटकसँगै उभिएका छौं, यो कुनै सहयोगको विषयभन्दा पनि अन्तर्राष्ट्रिय सम्बन्धको विषय भएकाले एउटै धारणा बनाऔं भन्ने हाम्रो प्रस्ताव हो, उहाँहरू पोजेटिभ हुनुहुन्छ, अब कसरी अगाडि बढ्ने भन्नेमा केही कुरा अड्किएको छ, त्यसमा पनि सहमति बन्ने अवस्था छ,’ कांग्रेस महामन्त्री थापाले भने ।

बैठकमा सहभागी एमाले नेता सुवास नेम्वाङले वार्ता सकरात्मक दिशामा अघि बढेको जानकारी दिए । ‘एमाले र कांग्रेसबीचको संवाद सकारात्मक दिशामा अघि बढेको छ, हाम्रा मागका विषयमा कांग्रेस सहमतिनजिक छ, हामी पनि माग पूरा भए एमसीसी पारित गर्न र संसद् सुचारु गर्न तयार छौं,’ बैठकपछि नेम्बाङले भने ।

नेम्वाङले शुक्रबार बिहान पुनः दुई दलका शीर्ष नेताहरूबीच छलफल हुने जानकारी दिए । स्रोतका अनुसार १० फागुनमासमेत प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नै गठबन्धनभित्र असहमति कायम भए विकल्पमा गएर एमसीसी पास गर्ने र एमालेले उठाएका मागमा कांग्रेसले साथ दिने विषयमा प्रधानमन्त्री दे उवा र एमाले ओलीबीच भद्र सहमति बनेको थियो ।

कांग्रेस नेताहरूले सो सहमतिलाई ‘जेन्टल एग्रिमेन्ट’ भन्दै आएका छन् । ‘एमालेसँग विभिन्न चरणमा वार्ता भएको छ, प्रधानमन्त्री देउवा र केही मन्त्री तथा कांग्रेस शीर्ष नेताहरू एमालेसँगको नियमित संवादमा हुनुहुन्छ, दुवै दलबीच शंका निवारण र सर्त पूरा गर्न लिखित प्रतिबद्धता गर्नेसम्म कुरा भएको छ, शुक्रबार सबै विषय टुंगिन सक्छ,’ स्रोत भन्छ ।

प्रधानमन्त्रीसँगको वार्ताका क्रममा एमाले अध्यक्ष ओलीले आफ्नो दलले विगतदेखि नै केही राजनीतिक मुद्दाको माग राखेर संसद्मा अवरोध जारी राखेकाले ती माग पूरा गर्नेतर्फ सरकारले सहज वातावरण बनाए एमसीसीमा सघाउने बताएका थिए । त्यसबखत प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच वान टु वान वार्ता भएको थियो ।

निरन्तरको भेटवार्ताका क्रममा ओलीले सभामुख अग्निप्रसाद सापकोटाको भूमिका र माधव ने पालको दलमा गएका १४ सांसदको विषयलाई प्राथमिकताका साथ उठाउँदै आइरहेका छन् । यस्तै, सभामुख सापकोटाले एमालेले ती सांसदहरूमाथि गरे को कारबाहीको सूचना संसद्मा टाँस नगरेको र सभामुखको भूमिका उचित नभएको भन्दै विकल्पमा पनि ध्यान दिन सरकारलाई भन्दै आइरहे का छन् ।

पछिल्लो समय कांग्रेसभित्रैबाट सभापति देउवालाई गठबन्धन तोड्न तथा सभामुखको विकल्पमा पनि अघि बढ्न दबाब बढ्दै आएको छ । प्रधानमन्त्रीसमेत रहेका देउवालाई उनीनिकट केही नेता र कांग्रेसभित्रको संस्थापन इतर समूहका नेताहरूले गठबन्धन तोडेर अघि बढ्न सुझाउँदै आइरहेका छन् ।

बिहीबार नै कांग्रेस नेता रामचन्द्र पौडेलले गृह जिल्ला तनहुँमा आयोजित पत्रकार भेटघाटमा सरकारको प्रस्तावको विरोध गरेर सत्तामा बसिरहन नमिल्ने भन्दै गठबन्धनको विकल्प खोज्न कांग्रेस तयार रहेको बताएका थिए । उनले एमालेसँग कांग्रेसको सहकार्य हुन सक्ने बताएका थिए ।

ओली र प्रचण्डबीच पनि ‘वान टु वान’ वार्ता

एमसीसीका विषयमा सत्तारूढ दलभित्र असहमति बढ्दै गरेका बेला दुई कम्युनिस्ट पार्टीका अध्यक्षबीच पनि वान टु वान वार्ता भएको छ । बिहीबार संसद् बैठक स्थगित भएसँगै कांग्रेससँगको बैठकमा बसेका एमाले अध्यक्ष केपी ओली कांग्रेससँगको बैठकपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग वान टु वान वार्तामा बसेका थिए ।

सो क्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसी राष्ट्रघाती परियोजना भएको भन्दै सो परियोजनाका विपक्षमा उभिन एमाले अध्यक्ष ओलीलाई आग्रह गरेका थिए । तर, ओलीले भने आफू प्रधानमन्त्री हुँदा संसद्मा सो परियोजना दर्ता भएको भन्दै त्यसलाई आफूले कुनै राष्ट्रघाती प्रावधान नदेखेको बताएका थिए ।

छलफलमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रतिनिधिसभाको अवरोध खोलेर छलफलको वातावरण बनाउन एमाले अध्यक्ष ओलीसँग आग्रह गरेका थिए । तर, एमाले अध्यक्ष ओलीले भने पहिले आफूहरूले कारबाही गरेका १४ जना सांसदहरूलाई प्रतिनिधिसभामा सहभागी नहुने वातावरण बनाउनुपर्ने सर्त राखेका थिए ।

‘हाम्रा केही रिजर्भेसन छन्, हामीले कारबाही गरेका १४ जना सांसदलाई प्रतिनिधिसभामा सहभागी नगराउने वातावरण बनाउनुस्,’ त्यसपछि प्रतिनिधिसभाको अवरोध खोल्छौं अनि एमसीसीबारे छलफल गरौंला ।’ प्रचण्डसँगको छलफलका क्रममा एमाले अध्यक्ष ओलीले भने का थिए ।

संसद् रोकेर एमालेसँग संवाद

बिहीबार प्रतिनिधि सभाको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा सैद्धान्तिक छलफल गर्ने कार्यसूची तय भइसकेको थियो । सभामुख अग्निप्रसाद सापकोटाले एमसीसीसम्बन्धी विषय कार्यव्यवस्था समिति बैठकमा छलफल गराएर कार्यसूचीमा चढाएका थिए ।

तर, प्रधानमन्त्री शेरबहादुर देउवाले एकाएक सभामुखलाई प्रमुख प्रतिपक्षी दल एमालेसँग छलफल गर्नुपर्ने भन्दै आग्रह गरेर बैठक स्थगित गर्न लगाए । स्रोतका अनुसार सभामुख सापकोटा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार साँझ भएको भेटका क्रममा एमसीसी परियोजनासम्बन्धी प्रस्तावको छलफलका क्रममा मत विभाजनको माग गर्ने सहमति भएको थियो ।

सो सूचना प्रधानमन्त्री देउवाले पाएका थिए । देउवाले एमसीसीसम्बन्धी सरकारको प्रस्ताव प्रचण्ड र सभामुखका कारण अल्पमतमा पर्ने संकेत पाएपछि संसद् बैठक स्थगित गर्न लगाएका हुन् । प्रधानमन्त्री देउवाले संसद् बैठक स्थगित गर्न लगाएलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरूसँग संवाद गरेका थिए ।

सो क्रममा उनले सभामुख र माओवादी केन्द्रको रणनीतिबारे समेत प्रतिपक्षी दलका नेताहरूलाई जानकारी गराएका थिए । एमालेका नेताहरूसँगको वार्तामा प्रधानमन्त्री देउवाले माओवादीका २८ जना सांसद उभिएर एमसीसीमाथि छलफल गरियोस् भन्ने प्रस्तावमा मत विभाजन माग्ने तयारी भएको भनेका थिए । आजको राजधानी दैनिकमा महेश्वर गौतमले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ७ : १३ बजे

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौं। नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ

सुदूरपश्चिम सरकार छोड्न नाउपा अध्यक्ष रञ्जिताको लिखित निर्देशन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम

लोकेश बमको शतकका बाबजुद आयरल्याण्ड वोल्भ्ससँग नेपाल पराजित

काठमाडौं। आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई पराजित गरेको छ ।

नेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न

काठमाडौँ । रक्षा मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा गत

निर्धारित लागत र समयभित्र आयोजना सम्पन्न हुनेछन् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला आयोजनामा भएका कामकारबाहीको