काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलामा ३ हजार ५१४ जना सहभागी हुने जनाएको छ ।
पार्टीको केन्द्रीय नेतृत्वदेखि पालिका तहका कमिटीका पदाधिकारी र विभिन्न तहमा निर्वाचित जनप्रतिनिधिसम्मको सहभागिता रहने भेलालाई एमालेले महाधिवेशनपछिको ठूलो संगठनात्मक कार्यक्रमका रूपमा लिएको छ ।
सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख निरज आचार्यले भेलाको तयारीबारे जानकारी दिँदै पार्टीको वैचारिक तथा संगठनात्मक एकता सुदृढ गर्नु र आगामी स्थानीय तह निर्वाचनको व्यवस्थित तयारी गर्नु यसको मुख्य उद्देश्य रहेको बताए ।
उनका अनुसार एमालेको इतिहासमा पहिलोपटक पालिका तहका कमिटीदेखि केन्द्रीय नेतृत्व तथा संघीय संसददेखि स्थानीय तहसम्मका जनप्रतिनिधि एउटै मञ्चमा सहभागी हुने गरी राष्ट्रिय भेला आयोजना गर्न लागिएको हो ।
भेलाबारे जानकारी दिँदै महासचिव शंकर पोखरेलले यसको उद्देश्य पार्टीभित्र नयाँ निर्णय गर्नु नभई यसअघि भएका निर्णयहरूको कार्यान्वयनमा एकरूपता ल्याउनु रहेको स्पष्ट पारे ।
राष्ट्रिय भेला नीति निर्माण वा नयाँ निर्णय गर्ने निकाय नभएको उल्लेख गर्दै उनले पार्टीका निर्णय र राजनीतिक बुझाइलाई सबै तहसम्म पुर्याएर सिंगो पार्टीलाई एउटै राजनीतिक लयमा अघि बढाउने मञ्चका रूपमा यसलाई व्याख्या गरे । नयाँ निर्णय गर्ने अधिकार कार्यकारिणी कमिटी र आवश्यकताअनुसार केन्द्रीय कमिटीमा रहने उनको भनाइ छ ।
भेलामा शीर्ष नेताहरूको सम्बोधन र कार्यपत्र
एमालेका अनुसार राष्ट्रिय भेलाको उद्घाटन मंसिर २ गते बिहान ११ बजे पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ । उद्घाटन सत्रमा ओलीले मुलुकको वर्तमान राजनीतिक अवस्थाको विश्लेषण, पार्टीको दृष्टिकोण र आगामी कार्यदिशाबारे सम्बोधन गर्नेछन् ।
त्यस्तै, वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समसामयिक राजनीतिक विषय र पार्टीका कार्यभारबारे विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
भेलामा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले संसदीय संघर्षसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नेछन् भने अर्का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमाले सरकारमा रहँदा भएका महत्त्वपूर्ण काम तथा उपलब्धिहरूको समीक्षा प्रस्तुत गर्नेछन् ।
महासचिव पोखरेलले पार्टी सुदृढीकरण, शुद्धीकरण तथा आगामी स्थानीय तह निर्वाचनसम्बन्धी कार्ययोजना प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रचार विभाग प्रमुख आचार्यले जानकारी दिए ।
भेलामा केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी, प्रवासी नेपाली मञ्चका प्रतिनिधि र पालिका कमिटीका अध्यक्ष तथा उपाध्यक्ष सहभागी हुनेछन् । त्यसैगरी संघीय सांसद, प्रदेशसभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख, पालिका प्रमुख तथा उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष र जनसंगठनका प्रतिनिधिको पनि सहभागिता रहनेछ ।
एमालेले भेलामा सहभागी सबैबाट स्थानीय निर्वाचन केन्द्रित सुझाव लिखित रूपमा संकलन गर्ने जनाएको छ । यसबाट आगामी निर्वाचनको रणनीति र संगठनात्मक तयारीलाई थप प्रभावकारी बनाउने पार्टीको अपेक्षा छ ।
भेलाको व्यवस्थापनका लागि १९० जना स्वयंसेवक परिचालन गरिनेछ । सहभागीले आफ्नो आवासको व्यवस्था आफैँ गर्नुपर्ने भए पनि त्यसो गर्न नसक्नेहरूका लागि सम्बन्धित जिल्ला सम्पर्क कमिटीले समन्वय गर्ने आचार्यले बताए ।
त्यस्तै, कार्यक्रमस्थलको मुख्य प्रवेशद्वारमा स्वास्थ्य सहायता कक्ष राखिने र सवारीसाधन पार्किङको व्यवस्था पार्टी केन्द्रीय कार्यालय च्यासलमा मिलाइने एमालेले जनाएको छ ।
















प्रतिक्रिया