१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

एमाले चुनावी प्रचारमा महिलाहरुको सहभागिता उत्साहजनक



रुपन्देही । बुटवल उपमहानगरपालिका-१३ जितगढीकी जमुना सुवदीलाई अहिले पार्टीको प्रचारका लागि घरदैलो गर्न भ्याइनभ्याइ छ ।

स्थानीय तहको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट बुटवल उपमहानगरको प्रमख पदका उम्मेदवार बाबुराम भट्टराई र उपप्रमुख पदका उम्मेदवार सावित्रा अर्याल तथा वडाका उम्मेदवारलाई जिताउन उनी रातदिन नभनेर लागि परेकी छिन । वडाको निर्वाचन कमिटी सदस्य रहेकी सुवेदी अहिले मात्रै होइन पार्टीका हरेक अभियान र गतिविधीमा संलग्न रहँदै आएकी छिन । “हामीलाई त उत्सव आए जस्तै भएको छ , दिनरात नभनी नाच्दै गाउँदै प्रचारमा खटिएकी छु”, उनी भन्छिन ।

बुटवल १३ कै सरस्वती मरासिनी पनि पार्टीको प्रचारमा सक्रिय ढंगले लागेकी छिन । एमालेका वडा अध्यक्षका उम्मेदवार शोभाखर पोखरेल सहितको टिमलाई विजयी बनाउन वडाबासीसँग मत माग्दै उनी पाँच दिनदेखी घरदैलोमा व्यस्त छिन । व्यवसाय सञ्चालनको जिम्मा श्रीमानलाई लगाएर उनी प्रचारमा लागेकी छिन । “घरको काम राती सकेर पनि पार्टीको प्रचारमा लागेकी छु । प्रचारले गर्दा समयमा खान र बस्न भ्याइएको छैन”, मरासीनीले भन्छिन । पार्टी निर्माण र प्रचारमा खेलेको भूमिकाको एकदिन मूल्यांकन गर्ने अपेक्षाका साथ उनी खटिएकी छिन ।

बुटवल ११ की दिलकुमारी भट्टराई पनि उम्मेदवारहरुसँग घरदैलोमा छिन । बुटवलको सबैभन्दा धेरै मतदाता रहेको क्षेत्रलाई आफ्नो पक्षमा पार्न उनी वडा अध्यक्ष रामचन्द्र क्षेत्रीसहितका एमालेका उम्मेदवारहरुलाई सघाइरहेकी छिन । अहिले स्थानीय तहको निर्वाचनमा मात्रै होइन यसअघिका निर्वाचनमा पनि उनी प्रचारको काममा निकै खटिइन । “कुनै पनि हालमा पार्टीले चुनाव जित्नुपर्छ एउटा इमान्दार कार्यकर्ताको हैसियतले उम्मेदवारलाई जिताउनु मेरो कर्तव्य हो भनेर लागेकी छु ” माझगाउँ क्षेत्रको घरदैलोमा भेटिएकी भट्टराईले भनिन् ।

तिलोत्तमा नगरमा पनि चुनावी प्रचारमा महिलाको उपस्थिती बाक्लो छ । एमालेबाट नगरका प्रमुख पदका उम्मेदवार मोहन चापागाइँ र उपप्रमुखका उम्मेदवार जागेश्वरदेवी चौधरी सहित वडाका उम्मेदवारलाई जिताउन महिलाहरुको रस्साकस्सी छ ।

सैनामैना नगरको घरदैलोमा पनि महिलाहरु सक्रियतापूर्वक लागेका छन् । प्रमुख पदका उम्मेदवार चित्र कार्की र उपप्रमुख पदका उम्मेदवार बिना रानाको पक्षमा भोट माग्दै महिलाहरुले दिनहुँ घरदैलो गरीरहेका छन् । वडा स्तरमा पनि एमाले उम्मेदवारहरुको घरदैलोमा महिला सहभागिता राम्रो रहेको उपप्रमुख पदका उम्मेदवार राना बताउछिन ।

लुम्बिनी साँस्कृतिक १० की मञ्जु ढकाललाई पनि चुनावी प्रचार गर्न भ्याइ नभ्याइ छ । एमालेका प्रमुख पदका उम्मेदवार रमावती यादव र उपप्रमुख कल्पना हरिजन सहित वडाका उम्मेदवारलाई जिताउन उनी घरदैलोमा व्यस्त हुन्छिन ।

देवदहमा पनि एमाले उम्मेदवारका पक्षमा मत माग्दै महिलाहरु उत्साहजनक रुपमा घरदैलोमा जुटेका छन् । प्रमुख पदका उम्मेदवार ध्रुब खरेल र उपप्रमुख पदका उम्मेदवार विद्यालक्ष्मी गुरुङको पक्षमा महिलाहरुको लहर छ ।

उता सिद्धार्थनगरमा एमालेको चुनावी प्रचारमा महिला सहभागिता उत्साहजनक छ । प्रमुख पदका उम्मेदवार डाक्टर रामप्रसाद बस्याल र उपप्रमुख पदका उम्मेदवार उमा अधिकार जिताउँ अभियानमा महिलाहरु एकताबद्ध भएर लागेको छन् ।

स्थानीय तहको निर्वाचन आउन अब आठ दिन मात्रै बाँकी छ । निर्वाचनमा नतिजा आफ्नो पक्षमा पार्न विभिन्न राजनीतिक दलहरु प्रचार प्रसारमा जुटेका छन् । समय धेरै नभएकाले पार्टीका उम्मेदवारहरुलाई मत माग्न भ्याइ नभ्याइ छ । उम्मेदवारहरुले आफ्ना कार्यकर्ताका साथमा मतदाताका घरमा पुगेर मत मागिरहेका छन् । टोलटोलमा पार्टीका गित, नारा, झण्डा र ब्यानरले उल्लासमय वातावरण बनेको छ । टोल नगर निर्वाचनले रंगिएको छ । पार्टीका गितमा नाच्दै उम्मेदवार र कार्यकर्ताले मत माग्ने गरेका छन् ।

पार्टीले गरेको घरदैलो, सभा र जुलुसमा सबैभन्दा धेरै सहभागिता महिलाको छ । खासगरी एमाले पार्टीको प्रचारमा महिला सहभागिता धेरै छ । महिलाहरुको उत्साहजनक सहभागिताले प्रचार कार्य प्रभावकारी बनेको छ । नेकपा एमाले लुम्बिनी प्रचार विभाग प्रमुख डिआर घिमिरे भन्छन, “हेर्दा लाग्छ महिलाहरुको सक्रियताले गर्दा पार्टीको प्रचार धानिएको छ । पार्टीलाई जिताउन यस क्षेत्रका महिलाहरु दिन रात नभनेर लागी परेका छन्, यसको मूल्यांकन पार्टीले गर्नुपर्छ ।”

स्थानीय तहको अहिलेको निर्वाचनमा मात्रै होइन यसअघि भएका निर्वाचनमा पनि महिलाहरुको सहभागिता उत्साहजनक नै हुने गथ्र्यो । त्यसो त पार्टीका सभा, जुलुस र अन्य कार्यक्रममा पनि महिलाको उपस्थिती बाक्लो छ भन्छन, राजनीतिकर्मी टिका कटेल । “घरको काम थाँती राखेरै प्रचारमा लागेकी छु ”, खरेल भन्छिन ।

संबिधानले सुनिश्चित गरेको पालिकाको प्रमुख तथा उपप्रमुख मध्ये महिला हुनुपर्ने प्राबधानलाई अहिले जिल्लाका सत्ता पक्षीय गठबन्धनले लत्याएका छन् । जिल्लामा पाँच दलबिच गठबन्धन भएपछि पालिकाका प्रमुख र उपप्रमुखमै पुरुष उम्मेदवार बनेपछि गठबन्धनका महिलाहरु भने असन्तुष्ट छन् । उनिहरुले जुन पार्टीको आएपनि उपप्रमुखमा महिलालाई स्थान दिन आग्रह गरेका थिए । नेतृत्व तहका महिलाले यो कुरा पार्टीमा उठाए पनि कारबाहीको डरले बाहिर बोल्ने गरेको पाइएको छैन ।

“पार्टीलाई परेका बेला खम्बा बने उभिने महिलाहरुको योगदानको सबै पार्टीले मूल्यांकन गर्नुपर्छ”, राजनीतिकर्मी देवी वाग्ले भन्छिन ।
प्रचारलाई प्रभावकारी बनाउन महिलाहरु सबै पालिकामा कस्सिएका छन् । दोहोरो तेहेरो जिम्मेवारी पुरा गरेर पनि पार्टीको घरदैलोमा महिलाहरुको सहभागिता उल्लेखनीय रहेको राजनीतिकर्मी ज्ञानु केसी बताउछिन । “पार्टीका अभियान सफल बनाउन महिलाको भूमिका महत्वपूर्ण हुन्छ, महिलाको यो भूमिकाको पार्टीले मूल्यांकन गरेर स्थान दिन कञ्जुस्याइँ गर्नु हुदैन”, उनी भन्छिन ।

जिल्लामा ६ लाख ३२ हजार ३६० जना मतदाता छन् । जसमध्ये ३ लाख ८ हजार ५७४ जना महिला र तीन लाख २३ हजार ७७८ जना पुरुष मतदाता रहेका छन् । स्थानीय तहको निर्वाचनमा यहाँ ३८ दलले चुनावी प्रतिस्पर्धा गर्दै छन् । निर्वाचनका लागि रुपन्देहीमा सात सय मतदान केन्द्र र दुई सय आठ मतदान स्थल तोकिएका छन् ।

 

 

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  २ : ३८ बजे

महिला सशक्तिकरणको मुख्य आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख

जीर्ण महोत्तरी कारागारको तत्काल जीर्णोद्धार थाल्न सुझाव

महोत्तरी । महोत्तरी कारागार जीर्ण भएको छ । सङ्घीय संसद्को

पत्रकार महासंघको स्थापना दिवसको अवसरमा सभामुख घिमिरेले दिए शुभकामना

काठमाडौ. । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका पत्रकारहरुको साझा संस्था

व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै म्याग्दीको प्राविधिक शिक्षालय

म्याग्दी । विद्यालयमा पढाइसँगै तरकारी खेती र मौरीपालन गरेर म्याग्दीको

संस्थागत विद्यालयलाई नेपालीपन झल्कने नाम राख्न काठमाडौं महानगरको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयहरूलाई नेपालीपन झल्कने नाम राख्न