मंकीपक्स भाइरसले विश्वव्यापी रूप लिने त्रास

खबर कुरा
१२ जेष्ठ २०७९, बिहीबार
                 

काठमाडौं । विश्वभर फैलिएको कोभिड-१९ महामारीको त्रास कम भइरहेको बेला फेरि अर्काे भाइरसको त्रास बढेको छ । मंकीपक्स भाइरस सूक्ष्मरूपमा बढ्दै गएपछि त्यसले विश्वव्यापी रूप लिने आशंकासमेत बढेको छ ।

यही त्रास र आशंकाबीच सरकारले मंकीपक्स भाइरस संक्रमण पुष्टि भएका देशबाट नेपाल प्रवेश गर्नेमाथि निगरानी बढाउन थालेको छ र उनीहरूलाई कम्तीमा दुई साता घरमै बस्न आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले मंकीपक्स भाइरस देखिएका राष्ट्रबाट आएका नागरिकलाई कम्तीमा दुई साता घरमै बस्न आग्रह गरेका हुन् । उनले यो भाइरस नौलो र अन्य संक्रामक रोग जस्तो चाँडै नसर्ने भए पनि सचेत भने हुनुपर्नेमा जोड दिएका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले आइतबारसम्म १४ देशमा यसको संक्रमण देखिइसकेको, ८० भन्दा बढी संक्रमण पुष्टि भएको र शंकास्पद ५० अनुसन्धान भइरहेको जनाएको छ । डब्लूएचओले अन्य धेरैमा संक्रमण भएको हुन सक्ने औंल्याएको छ । डब्लूएचओले यो भाइरसका मध्य अफ्रिकी र पश्चिम अफ्रिकी गरी दुई भेरिएन्ट भएको पनि जनाएको छ ।

हालसम्म अमेरिका, क्यानडा, अस्ट्रेलिया, बेलायत, इजरायल, जर्मनी, पोर्चुगल, स्विट्जरल्यान्ड, स्पेन, बेल्जियम, फ्रान्स, द नेदरल्यान्ड्स, इटाली र स्वीडेनलगायतका मुलुकमा मंकीपक्सको प्रभाव देखिइसकेको छ । यीमध्ये अधिकांश मुलुकमा नेपाली बसोबास गर्छन् । साथै यी देशबाट नेपाल भ्रमणमा आउने पर्यटकको संख्या पनि उल्लेख्य छ । त्यसो त मंकीपक्सको प्रभाव पश्चिम अफ्रिकामा सामान्य भए पनि अफ्रिकाबाहिर भने खासै देखिएको थिएन ।

उता, गैरआवासीय नेपाली संघको विश्व स्वास्थ्य समितिले पनि मंकीपक्सको सम्भावित फैलावट’bout विश्वभरका नेपालीलाई सचेत गराएको छ । समितिले प्रेस विज्ञप्तिमार्फत विशेषगरी पश्चिमी युरोपमा रहेका नेपालीलाई मंकिपक्स भाइरल संक्रमणबाट बच्न सतर्क रहन सुझावसमेत दिएको छ ।

डब्लूएचओले बिफर रोग लाग्ने प्रजातिको भाइरसबाटै मंकीपक्सको संक्रमण हुने जनाएको छ । मंकीपक्सले कमैलाई मात्र गम्भीर बिरामी बनाउने उसले जनाएको छ । डब्लूएचओले संक्रमण भएको खण्डमा ज्वरो आउने, जिउ सुन्निने र ढाड, टाउको र मांसपेशी दुख्ने, संक्रमण भएको केही दिनमा अनुहारमा बिमिरा देखा पर्न थाल्ने र शरीरका अन्य भागमा फैलिने बताएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीका अनुसार, मंकीपक्स मुखको छिटाबाट समेत सर्दछ । मास्कको प्रयोग गरे, साबुन पानीले नियमित हात धोएको अवस्थामा, शंकास्पद संक्रमित व्यक्तिको नजिक नगएको अवस्थामा बच्न सकिन्छ ।

पछिल्लो समय यो भाइरस असामान्य रूपमा देखा परेको भन्दै वैज्ञानिकले समेत चिन्ता व्यक्त गरेका छन् । यद्यपि, कोरोना संक्रमणजस्तो यसको फैलावट तीव्र गतिको छैन । यो भाइरस एक मानिसबाट अर्को मानिसमा सहज रूपमा सरेको पाइँदैन । जसका कारण मंकीपक्स कोरोनाजस्तो आमरूपमा फैलने सम्भावना देखिन्न ।

वैज्ञानिकहरूका अनुसार, मंकीपक्स संक्रमण भएका दसमध्ये एक जनाको ज्यान गएको छ । पश्चिम अफ्रिकामा मंकीपक्सका कारण मानिसको मृत्यु भएको तथ्यांक छ ।

डब्लूएचओका अनुसार मंकीपक्स भाइरस एकबाट अर्को व्यक्तिमा घाउ, हाच्छिउँ गर्दा निस्कने थुकलगायतका तरल पदार्थका माध्यमबाट फैलिन्छ ।

ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने र थकान देखिने यसका लक्षण हुन् । ज्वरो देखापरेको १ देखि ३ दिनभित्र रोगीको छालामा रेसा देखा पर्ने, रेसा प्रायः अनुहारबाट सुरु हुने र त्यसपछि शरीरका अन्य भागहरूमा फैलिने यसका विशेषता हुन् । यस्तै, रेसाहरू पानी भरिएको फोकामा परिणत हुन्छन् ।

खासगरी हात र गोडाका पैतालामा बिमिरा बढी देखिने गर्छ । ती बिमिराले केही दिन निकै चिलाउने मात्रै होइन, सहनै नसक्ने गरी दुख्ने गर्छ । यद्यपि, बिमिरा बिस्तारै हराउँदै जान्छन् । बिमिरा आएका ठाउँमा दाग भने रहिरहन सक्छ ।

मंकीपक्सका लागि अहिलेसम्म कुनै विशेष उपचार छैन । तर, बिफरविरुद्धको खोप मंकीपक्सविरुद्ध प्रभावकारी देखिएको छ । अन्य भाइरल रोगहरूका लागि काम गर्ने एन्टिभाइरल औषधि पनि मंकीपक्सविरुद्ध प्रभावकारी देखिएको छ ।

मंकीपक्सको इन्क्युबेसन अवधि ७ देखि १४ दिनलाई मानिएको छ । यो समस्या दुईदेखि चार साताभित्र समाधान हुन सक्छ । बुढेसकाल भएका र इम्युनोलोजिकल रूपमा कमजोर भएकालाई भने मंकीपक्सले गम्भीर जटिलता निम्त्याउँदै मृत्युसम्म पनि पु-याउन सक्छ ।

मंकीपक्स सन् १९७० मा पहिलोपटक देखापरेको थियो । प्रारम्भिक खोजमा बाँदरबाट यो भाइरस भेटिएकाले यसको नाम मंकीपक्स राखिएको हो । तर, जंगली जनावरमा हुने मंकीपक्स भाइरस बाँदरभन्दा बढी मुसामा हुने वैज्ञानिकहरूको भनाइ छ ।

संक्रमितले प्रयोग गरेका लुगा वा सामानबाट पनि यो भाइरस सर्न सक्ने जनाइएको छ । यौन क्रियाकलाप गर्दा पनि यो सर्न सक्छ । पछिल्लो समय देखिएका अधिकांश संक्रमण यौन सम्पर्कको समयमा सरेको मानिएको छ । धेरैजसो संक्रमितका यौनांगनजिक डाबरहरू देखिएकाले संक्रमितसँगको यौन सम्पर्कलाई पनि यसको फैलावट मानिएको छ । आजको राजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*