२७ बैशाख २०८३, आइतबार | May 11, 2026

शोकमग्न चुरे काछका बस्ती, ‘गाउँको रानो नै हरायो’



महोत्तरी । महोत्तरी र धनुषा जिल्लालाई छुट्याउने रातु नदी वारिपारिका चुरे काछका बस्ती अहिले शोकमग्न बनेको छ ।

आइतबार पोखरा-जोमसोम उडानको तारा एयरको विमान दुर्घटनामा पर्दा परिवारभित्रकै सात जनाको अकल्पनीय मृत्यु भएपछि महोत्तरी, बर्दिबास-३ का पर्साहीधाप, रजबास र धनुषा, मिथिला-११ का लोटा, चुरे र बाहुनमारा बस्तीमा शोक छाएको हो ।

दुर्घटनामा परी लोटा बस्तीका ७३ वर्षीय मकरबहादुर तामाङ उहाँकी धर्मपत्नी ७१ वर्षीया सुकमाया तामाङ, सोही बस्तीका मकरबहादुरकै दिदी-भिनाजु ७५ वर्षीया राममाया गोले, ७६ वर्षीय इन्द्रबहादुर गोले र भाञ्जा ४५ वर्षीय राजन गोलेको मृत्यु भएको छ ।

यसैगरी मकरबहादुरकै बहिनी र ज्वाइँ हाल काठमाडौंका बासिन्दा ६५ वर्षीया तुलसादेवी तामाङ र पुरुषोत्तम गोलेको पनि सोही घटनामा परी मृत्यु भएपछि यहाँका जोडिएका यी बस्तीमा अहिले रुवाबासी छ । परिवारका नाताभित्रका सातै तीर्थ गर्न मुक्तिक्षेत्र जाँदै थिए ।

“मकर सर हामी सबैका अभिभावक हुनुहुन्थ्यो, बस्ती वरपरका सुख, दुःखमा खोजखबर गर्नासाथ पुग्नुहुन्थ्यो, अहिले हामीलाई घरकै मुख्य अभिभावक गुमाएको पीडा छ”, लोटा बस्तीकी ४५ वर्षीया दुर्गा ध्रुङ्च्याङ्री मगरले भने, “गाउँको रानो नै गयो ।”

विगतमा चुरेस्थित रातु ठाकुर आधारभूत विद्यालयका शिक्षक रहेका मकरबहादुरका महोत्तरी र धनुषाका यी बस्तीमा घरघरै शिष्य छन् । शिक्षण पेसाबाट सेवानिवृत्त भएपछि सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका मकर सर ‘आँखामा राख्दा पनि नबिझाउने’ व्यक्तिका रूपमा यहाँका बासिन्दाले सम्झना गर्छन् ।

“गत शुक्रबार बिहानपख त हो, ‘नानी, हामी तीर्थ गर्न हिँड्यौ, साता दिनमा आउँला, राम्ररी बस है’, भन्दै जानुभएको” ४५ वर्षीया छिमेकी तुलसा पौडेल भन्छन्, “कहिल्यै नफर्कनुरहेछ, आँखामा झलझली मकर सरको अनुहार नाचिरहेछ ।” यसैगरी यहाँका बासिन्दा मकरका भाञ्जा राजन गोलेलाई पनि सम्झँदै भक्कानिन्छन् ।

“कति फरासिला थिए राजन भाञ्जा, काठमाडौंबाट गाउँ झरेपछि खानेपानी, बाटोघाटो र बिजुलीको प्रबन्ध के-कस्तो छ बुझ्ने गर्नुहुन्थ्यो”, लोटाकै ६५ वर्षीया शान्ति श्रेष्ठ भनिन्, “कति सहयोगी राजन भाञ्जा, गाउँबाट बिरामी भएर उपचारका लागि काठमाडौँ पुग्नेहरू त्यहाँ राजन भेटेपछि ढुक्क हुन्थे ।”

काठमाडौंमै निजी व्यवसाय गर्ने राजन चाडपर्व मान्न भने गाउँ आउने गरेका श्रेष्ठ सम्झन्छन् । मकरसँग दाजुभाइको साइनो लगाउने सबैले राजनलाई भाञ्जाकै सम्बोधन गर्ने गरेको शान्तिले बताइन ।

विमान हराएको खबर सनसनी फैलिएपछि आइतबार दिउँसो नै मकर सरको घरमा इष्टमित्र, आफन्त र वरपरका छिमेकीको जमघट बढेको थियो । “विमान हराएको खबर फैलियो, आइतबार दिनभरि हामी मकर सरलगायत सबै आफन्त सकुशल भेटिउन् भन्ने प्रार्थना गरी रह्यौँ, तर दैवलाई यो हाम्रो पुकारा मञ्जुर रहेनछ”, सोमबार दुर्घटनाग्रस्त विमान भेटिएर यात्रु सबैको मृत्यु भएको पुष्टि भएपछि छिमेकको बस्ती महोत्तरीको पर्साहीधापका सामाजिक कार्यकर्ता बुद्ध मोक्तान भन्छन्, “हाम्रो पूरै बस्ती शोकमा छ ।”

रातु वारिपारिका दुवैतिरका बस्तीका बासिन्दा आपसी दुःखसुख साट्दै एउटै सामाजिक वातावरणमा बस्दै आएका बताउँदै मोक्तानले अहिले लोटा बस्तीको शोकको सन्नाटा आफ्नातिरका पर्साहीधाप र रजबासमा पनि उत्तिकै रहेको बताए ।

विमान दुर्घटनाको खबर फैलिएसँगै मकर सरको घरमा आफन्तको भीड लाग्दै आएको छ । छोरीहरु शान्ति र कान्ति विह्वल छन् । बुहारीहरु प्रेमा, पार्वती र प्रतिष्माका रुदारुदा आँखाका डिल सुनिएका छन् । त्यहाँ पुग्ने सबै रुन थालेपछि सान्त्वना दिने पनि कोही देखिँदैनन् ।

“शनिबार राति ९ बजेतिर बुवा-आमा र ठूली फुपू (राममाया गोले) सँग फोनमा कुरा भएथ्यो, दुई-तीन दिनभित्रै फर्कन्छौँ भन्नुहुन्थ्यो”, मकरबहादुरकी ठूली छोरी शान्तिले बिलौना गर्दै भनिन्, “बुवा, आमा, फूपु, फूपाजु र भानिज भाइ राजनले हामीलाई छाड्नुरहेछ, एकसाथ मान्यजन सबै रित्तिँदा टुहुरा बन्यौँ ।”

मकरबहादुर गाउँ नै बसेपनि आफ्नै बस्तीका दिदी भिनाजु राजनका बुवाआमा भने छोरा राजनका परिवारसँग काठमाडौं नै बस्दै आएकी थिइन । यसपालि सिङ्गो परिवारको तीर्थाटनको मेसोचाहिँ लण्डन बस्ने मकरका भाञ्जा (राजनका भाइ) मनोज गोलेले मिलाएका रहेछन् ।

“मनोजले लण्डनबाट फोन गरेर बुवा, आमा, मामा, माइजु, सानाबा र सानिमा दाइ (राजन)लाई लिएर तीर्थ जानु, म खर्च पठाउँछु भन्दै आउनुभएको थियो, गत चैतदेखिकै आजभोलि भन्दै जाने कार्यक्रम ढिलो भयो, गत साता राजनले काठमाडौंबाट फोन गरेर मामा, माइजु आउनु, अरु सबै हामी यतै (काठमाडौं) छौँ भनेपछि बुवाआमा गत शुक्रबार घरबाट काठमाडौं जानुभएको हो”, मकरबहादुरकी कान्छी छोरी कान्तिले भनिन्, “दिनदिनैजसो कुरा त भइनै रहेथ्यो, शनिबार रातिको बोली सुन्नु अन्तिम रहेछ ।”

घटना थाहा पाउनासाथ मकरबहादुरका ठूला छोरा उत्तम काठमाडौं हिँडे । माहिला भूषण विदेश छन् । कान्छा सुरेश काठमाडौंमै काम गर्छन् । यता राजनका भाइ मनोज लण्डनबाट यसतर्फ आउँदै गरेका खबर आएको मकरबहादुरका जेठा ज्वाइँ (शान्तिका पति) मदन लामाले बताए । सँगै करेसा जोडिएको ससुराली घरको वियोगले मदन पनि इन्तुनचिन्तु छन् ।

घरपरिवार आफन्तजनमात्र नभएर टोल छिमेकका अन्य बस्तीका पनि सबैलाई रिझाएर हिँड्ने मकर सर र राजन सधैँसधैँ सम्झनामा रहने छिमेकको रजबास बस्तीका सामाजिक कार्यकर्ता रामबहादुर थापा बताउँछन् । “उहाँहरु (मकरबहादुर र राजन) सधैँ सामाजिक कामलाई उच्च महत्व दिनुहुन्थ्यो, सधैँ उहाँहरुको अभाव खट्किरहनेछ”, थापाले विह्वल हुँदै भने । “जे नहुनु थियो, त्यही भयो”, अहिले लोटासहित चुरे काछ बस्तीका सबैको एउटै विलाप छ । रासस

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलबार  ९ : ३३ बजे

दोस्रो राष्ट्रिय महिला फुटबल : अभिशेक चर्च अन्तिम चारमा

बुटवल । बुटवलमा जारी दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिता–२०८३ अन्तरगत

कोहलपुरमा एक सय आठ घरटहरा हटाइयो

कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण

रुपन्देहीमा सार्वजनिक शान्तिमा खलल पुर्याउने ११ जना प्रहरी नियन्त्रणमा

बुटवल । रुपन्देही जिल्लाका बिभिन्न स्थानहरुमा शान्ति सुरक्षामा खलल पुर्याउने

पसल काउण्टरबाट पैसा चोर्ने समूहका एकजना पक्राउ

नेपालगन्ज । पसलको काउण्टरबाट पैसा चोर्ने समुहका एकजनालाई आज स्थानीयले

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको