काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधिका लागि भइरहेको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । सुदूरपश्चिमले बलिङ रोजेपछि साविक विजेता लुम्बिनी लायन्सले पहिले ब्याटिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी फाइनलमा दुवै टोली उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिएका छन् । टस जितेको सुदूरपश्चिमले लुम्बिनीलाई पहिले ब्याटिङको निम्तो दिँदै सुरुआतमै दबाब सिर्जना गर्ने रणनीति लिएको छ ।
फाइनलका लागि सुदूरपश्चिमले आफ्नो टोलीमा एक परिवर्तन गरेको छ । उसले फाबियन एलेनको स्थानमा सैफ जैबलाई पहिलो रोजाइमा समावेश गरेको छ । अन्य खेलाडीको संयोजन भने टोलीले यथावत् राखेको छ ।
यता, लुम्बिनी लायन्सले भने पहिलो क्वालिफायरमा खेलेकै टोलीलाई फाइनलमा निरन्तरता दिएको छ । पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई पराजित गर्दै फाइनलमा पुगेको लुम्बिनी सोही टोलीको प्रदर्शन दोहोर्याउने लक्ष्यमा छ ।
साविक विजेता लुम्बिनी लगातार दोस्रोपटक एनपीएलको उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिएको छ । पहिलो संस्करणको उपाधि जितेको लुम्बिनी यसपटक पनि च्याम्पियन बनेर आफ्नो उपाधि रक्षा गर्न चाहन्छ ।
अर्कोतर्फ, सुदूरपश्चिम लगातार तेस्रोपटक फाइनलमा पुगेको हो । अघिल्ला दुई संस्करणमा उपविजेतामा सीमित भएको सुदूरपश्चिम यसपटक उपाधि खडेरी तोड्दै पहिलोपटक च्याम्पियन बन्ने योजनामा छ ।
पहिलो क्वालिफायरमा लुम्बिनीसँग पराजित भएको सुदूरपश्चिमले दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो । त्यसैले यसपटक सुदूरपश्चिमसँग पहिलो क्वालिफायरको हारको बदला लिने र पहिलोपटक उपाधि उचाल्ने अवसरसमेत रहेको छ ।
लुम्बिनीका लागि उपाधि रक्षा गर्ने चुनौती छ भने सुदूरपश्चिमका लागि पहिलोपटक च्याम्पियन बन्ने अवसर दुवै टोलीको यही लक्ष्यका कारण तेस्रो संस्करणको एनपीएल फाइनललाई विशेष प्रतिस्पर्धाका रूपमा हेरिएको छ ।
















प्रतिक्रिया