२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

मन्त्रीपदका कारण एकीकृत समाजवादी र जनता समाजवादी भित्र विवाद



काठमाडौं । नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)मा आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । विवादको कारक भने मन्त्री पद हो ।

मन्त्री बन्‍ने समयसीमा ६ महिना भएको र २२ असोज २०७८ मा मन्त्री भएकाहरूलाई फिर्ता बोलाउन दुवै पार्टीमा एकथरी सांसदहरूले नेतृत्वलाई चर्को दबाब दिइरहेका छन् । तर, दुवै पार्टीमा मन्त्री बनेकाहरू सरकारबाट फिर्ता हुन चाहिरहेका छैनन् ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले न्युज कारखानासँग भनेका छन्, ‘हामीलाई फिर्ता बोलाउने र नयाँ मन्त्री पठाउने केही भएको छैन । भएको भए पो भन्‍नु । तपाईंहरूले केही नभई बारम्बार सोध्नुहुन्छ ।’

एकीकृत समाजवादीका खतिवडाको यो भनाइले मन्त्री पद छाड्न उनी पनि तयार छैनन् भन्ने पुष्टि हुन्छ । जबकि, पार्टी सचिवालय बैठकले उनको ठाउँमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री भवानीप्रसाद खापुङको नाम अघि सारेको छ ।

खतिवडासहित एकीकृत समाजवादीबाट देउवा नेतृत्वको सरकारमा चार जना मन्त्री र एक जना राज्यमन्त्री छन् ।

उनीहरूमध्ये खापुङको बढुवा, तीन जना मन्त्री र एक जना राज्यमन्त्रीको रूपमा नयाँ अनुहारको नाम सचिवालय बैठकले पठाएको छ ।

स्रोतका अनुसार एकीकृत समाजवादीमा झण्डै बहुमत सांसद संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयनमन्त्री प्रेमबहादुर आलेले ‘होल्ड’ गरेका छन् ।

उनी पनि सरकारबाट फिर्ता हुन चाहिरहेका छैनन् । उनको ठाउँमा पार्टी संसदीय दलका प्रमुख सचेतक जीवनराम श्रेष्ठको नाम सिफारिस भएको छ ।

यी दुई मन्त्री मात्र होइन, पार्टीबाट सरकारमा सहभागी अन्य मन्त्रीहरू पनि फिर्ता हुन चाहिरहेका छैनन् ।

सहरी विकास मन्त्रीको रूपमा सिफारिस भएका सांसद मेटमणि चौधरीले आजसम्ममा आफूसहित पार्टीले सिफारिस भएका नयाँ मन्त्रीहरूको शपथ ग्रहण हुने दाबी गर्दै आएका छन् ।

उनले बुधबार पनि सङ्‍घीय संसद् बैठकदेखि बाहिरिने क्रममा यही अभिव्यक्ति दोहोर्‍याएका थिए । यद्यपि, मन्त्री भएकाहरू फिर्ता हुन नचाहँदा पार्टीमा विवाद बढेको छ ।

विवादका कारण पार्टी अध्यक्ष माधवकुमार नेपाल अफ्ठ्यारोमा परेका छन् ।

अर्को दल जसपामा भने विवाद भुसको आगोझैँ सल्किरहेको उक्त दलका एक नेताले बताए । विवाद समाधान गर्न अध्यक्ष उपेन्द्र यादवले ढिलाइ गरे विभाजन हुने चरणमा पार्टी पुगेको ती नेताको भनाइ छ ।

विवादको कारण मन्त्री पद नै हो । पार्टीको तर्फबाट सरकारमा गएका मन्त्रीहरू छ महिना त के आठ महिनामा पनि फिर्ता नहुने पक्षमा छन् ।

२२ असोज २०७८ मा मन्त्री भएकाहरू रेनुकुमारी यादव, महेन्द्रराय यादवलगायत मन्त्री भएका थिए । पार्टीका सङ्‍घीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले मन्त्री भएकाहरूलाई छिटो फिर्ता गर्न दबाब दिइरहेका छन् ।

तर, अध्यक्ष यादवले भने भट्टराईको मागलाई वास्ता गरेका छैनन् । भट्टराई पार्टीको तर्फबाट नयाँ मन्त्रीहरू पठाउनुपर्ने पक्षमा छन् । यादवको चाहना भने वर्तमान मन्त्रीहरूलाई नै निरन्तरता दिनेमा छन् । सोही कारण जसपामा विवाद भएको हो ।

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहिबार  ९ : ३४ बजे

क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा पाँच नेपाली नागरिक पक्राउ

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले रुपन्देहीको सिद्धार्थनगर

अधुरा तथा अपूरा आयोजनाको विवरण सङ्कलन गर्न समिति गठन

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशअन्तर्गत रहेका अधुरा तथा अपूरा

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडौँ । हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीले

चीनमा कार्गो जहाजमा आगलागी : कम्तीमा २० जनाको मृत्यु

काठमाडौँ । चीनको पूर्वी भागस्थित एक बन्दरगाहमा राखिएको विदेशी झण्डावाहक

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौ. । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ