१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

कहिले पुरा होला बुटवल उपमहानगरको ७ र ८ नम्बर वडाबासीको सफा पानी पिउने सपना ?



बुटवल । बुटवल उपमहानगरपालिकाको वडा नम्बर ७ र ८ नामले मात्र सुख्खानगर होईन व्यवहारमा पनि सुख्खा क्षेत्र हो । स्वच्छ खानेपानी अभावका कारण बुटवल उपमहानगरपालिका वडा नं ७ को दीपनगर र ८ को सुख्खानगरका स्थानीय वर्षौ देखि समस्या ग्रस्त छन् ।

स्थानीय निर्वाचन २०७९ मा प्रत्येक दलहरुको पहिलो चुनावी एजेण्डा खानेपानी समस्या समाधान नै भएपनि चुनाव सकिएपछिका उनीहरुको प्राथमिकतामा सो वार्डको खानेपानी परेको छैन । उपमहानगरको पहिलो बैठकमा फुलवारी र पार्क बनाउने प्रस्ताव पास भएपनि काकाकुल वडा नम्बर ७ र ८ का विषय बैठको एजेण्डामा परेनन् ।

नेपालको संविधान २०७२ को धारा ३५ मा स्वास्थ्य सम्बन्धि हक अन्तर्गत प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाईमा पहुँचको हक हुनेछ भनि स्पष्ट व्यवस्था गरिएको भएता पनि बुटवल उपमहानगरपालिका वडा नं ७ र ८ का स्थानियहरुले बर्षौदेखि स्वच्छ खानेपानीको समस्या झेल्दै आइरहेका छन्।

आफ्नो ५ वर्षे कार्यकालमा खानेपानी समस्याको समाधानमा असफल जस्तै देखिएका बुटवल ८ का निवर्तमान वडा अध्यक्ष भिम बहादुर श्रेष्ठले वडा नम्बर ७ र ८ को खानेपानीको समस्या नयाँ नभएको बताउँछन् । पानी नआउने, धमिलो पानी आउने र खानेपानीका लागि बोरिङमा धाउनु पर्ने समस्या त्यस क्षेत्रका नागरिकको स्थायी समस्या बनेको उनले बताए ।

धारामा कहिलेकाँही मात्र पानी आउने गरेको र आएपनि पानी मोटर लगाएर तान्नुपर्ने बाद्यता रहेको स्थानियहरुको गुनासो छ । फागुन चैत महिना लागे देखि नै २ वटा वडामा खानेपानीको चरम समस्या हुने गरेको र वर्षातको समयमा धमिलो पानी मोटरले तानेर टङ्कीमा सँगाली समेत प्रयोग गर्नुपरेको स्थानीयहरूको दुखेसो छ ।

वडा नं ७ मा खानेपानीको पाईप लाईन बिछ्याउने कामको सुरु गरिएपनि पाइप भने सडकछेउमै अलपत्र परेका छन्। बुटवल उपमहानगरपालिका वडा नं ७ र ८ मा जनसंख्या अत्याधिक भएको र जनसंख्या अनुसारको खानेपानीको आपूर्ति न्यून हुने गरेका कारण स्थानीय तथा सर्वसाधारणलाई वर्षौदेखि खानेपानीको समस्या हुने गरेको वडा नं ७ का होटल व्यवसायी अर्जुन इटानीले बताए।

बुटवल उपमहानगरपालिका वडा नं ७ मा करिव १० हजार ५०० जनसंख्या रहेका छन् भने वडा नं ८ मा ११ हजार ७७९ जनसङ्ख्या रहेका छन्। बुटवल उपमहानगरपालिका वडानं ७ मा २ हजार ७०३ घरधुरी र वडा नं ८ मा २ हजार १३१ घरधुरी रहेका छन् । वडा नं ७ र ८ गरी कुल ४८३४ घरधुरीमध्ये करिब ३ हजार घरधुरीले प्रत्येक वर्ष खानेपानीको समस्या झेल्दै आएका छन्।

त्यस क्षेत्रका अधिकांस नागरिक तिनकुने स्थित खानेपानी संस्थानको बोरिङमा खानेपानी थाप्न जाने नियति बर्षौदेखि निरन्तर जारी छ । खानेपानी समस्याका‌ कारण बालबालिकालाई विद्यालय पठाउन तथा समयमै सरसफाई गर्न समेत समस्या हुने गरेको वडा नं ७ कि स्थानीय एन्जिला ज्ञवालीले बताइन् ।

पानी धमिलो आउन थालेपछि फिल्टर गरेर र उमालेर पिउने गरेको वडा नं ८ स्थानीय जानुका खनालले बाध्यता सुनाईन् । बोरिङबाट पानी ओसारेको पानीले नपुगेपछि खानेपानीकै धाराको पानी छानेर तताएर मात्र खान योग्य बनाउँदा समयको वर्वादी हुने गरेको उनको भनाई छ ।

बुटवल उपमहानगरपालिकामा नेपाल खानेपानी संस्थान बुटवलले दैनिक २ करोड ५० लाख लिटर पानी वितरण गर्दै आएको छ। जवकी बुटवल उपमहानगरमा वर्तमान अवस्थामा खानेपानीको माग दैनिक ४ देखि ५ करोड लिटर रहेको छ। विगत लामो समयदेखि स्थानीयहरूले खानेपानीको समस्या झेल्दै आएपछि खानेपानी समस्या समाधान गर्न संघीय सरकारले वृहत खानेपानी आयोजनाको लागि ६ अर्व ३५ करोड लगानी पास गरेको छ । बुटवलमा खानेपानी समस्या समाधान गर्न भन्दा झुम्सा खोलामा ३ पटक खानेपानी आयोजनाको शिलान्यास समेत भईसकेको छ । १ पटक बुटवल नगरपालिकाका पूर्व मेयर स्व। सुर्यप्रसाद प्रधानले र २ पटक एमाले नेता विष्णु पौडेलले शिलान्यास गरेपनि झुम्सा खोलाको खानेपानी कहिले बुटवल आईपुग्ने हो, भन्न सकिने अवस्था छैन ।

खानेपाली संस्थानका अनुसार जारी परियोजनामा १० र २०ईन्च पाइप लाईनको काममा १ करोड ६२ लाख खर्च भएको छ भने ड्याम र इन्टेक निर्माण कार्यमा १४ करोड २४ लाख खर्च भइसकेको छ । पाइप लाइनको विस्तार हुदै आएको क्षेत्रमा पर्ने निजी तथा सडक डिभिजनको मातहतमा रहेको जग्गामा पाइपलाइन बिछ्याउने क्रममा दुई पक्षीय समन्वय तथा समझदारीमा ढिलाई हुँदा लक्षित समयमा काम पुरा गर्न नसकिएको बुटवल खानेपानी आयोजनाका उपप्रमुख मन्दिप श्रेष्ठले बताए।

झुम्साको पानी शुद्धिकरण गरि वितरणका लागि ट्याङ्की निर्माण भईरहेको र पाईपलाइनको काम भइरहेको तथा रामनगरको २३ लाखको बोरिङ योजना पास भइसकेकोले छिट्टै खानेपानी पाइपलाइनमा जडान गरि वितरण गरिने नेपाल खानेपानी संस्थान बुटवलका प्रमुख मोहनदत्त भट्टले बताए। उनले २०८० साल सम्ममा पानी वितरण गर्ने लक्ष्यका साथ काम अगाडि बढेको पनि बताए । ‘ड्याम निर्माणको काम सकिएको छ , पाइपलाईनको काम सकिएसँगै वितरणको प्रक्रिया सुरु हुन्छ ।’ उनले भने ।

बुटवलको कुल जनसंख्या १लाख ९५ हजार ५४ जसमध्ये ९५ हजार ७०५ जना पुरुष ९९,३४९ महिला छन्। बुटवल उपमहानगरपालिकामा खानेपानी संस्थानले करिब १७५०० धारा वितरण गरेको संस्थानले जनाएको छ। झुम्सा खानेपानी आयोजनाको काम सम्पन्न भएपछि थप १७ हजार घरधुरी लाभान्वित हुने खानेपानी संस्थानको लक्ष्य रहेको छ।

फोहोर पानीका कारण छाला सम्बन्धी रोग फैलन सक्ने भन्दै स्थानिय चिन्तित बनेका छन्। बसाई सरेर आउने क्रम जारी रहेकाले ती २ वडामा खानेपानीको समस्या झन्झन् विकराल बन्दै गएको छ। खानेपानी संस्थानले तिनाउ खोलाको धमिलो पानी सामान्य शुद्धीकरण नगरी उपभोक्तालाई पठाउने गरेको छ।

स्थानियहरुका स्वास्थ्यलाई ख्याल गरी शुद्ध पानी वितरण गर्न शुद्धीकरण प्रकृयाका बारेमा नेपाल खानेपानी संस्थानका प्रमुखसँग छलफल भइरहेको र आगामी दिनमा खानेपानीको समस्याबाट स्थानियले सास्ती व्यहोर्नु नपर्ने बुटवल उपमहानगरपालिका नगरप्रमुख खेलराज पाण्डेले बताए। उनले खानेपानीको समस्या पूर्ण रुपमा समाधान हुने दाबी गर्दै स्थानीय सरकारले खानेपानीको नियमन गर्ने तथा सम्बन्धित निकायबाट खानेपानी सुरक्षा योजनालाई कार्यान्वयन गरिने प्रतिबद्धता जनाए ।

खानेपानी शुद्धिकरणका लागि घरायसी तरिकाहरू बारे सामूदायिक चेतना विस्तार गरि खानेपानीको गुणस्तर वृद्धि गर्नुपर्ने स्थानीयको माग छ । खानेपानीको सुविधाबाट बञ्चित जनसंख्यासम्म खानेपानीको वितरणमा‌ सुनिश्चित गरेर प्रत्येक घरधुरी अनुसार एक घर एक धारा नारालाई व्यवहारिक रुपमा बिकास गर्न सकेमात्र स्थानीय सरकारलाई नागरिकले आफ्नो सरकारको अनुभूति गर्नेछन् ।

प्रकाशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार  १० : २१ बजे

चीन भ्रमण गर्ने योजनामा पुटिन

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित

काठमाडौ । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको

रेशम चौधरीको मुद्धामा मिसिल झिकाउन आदेश

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अभावमा राजनीतिक स्वतन्त्रता प्राप्त हुन सक्दैन् : सञ्चारमन्त्री शर्मा

ललितपुर । सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले प्रेस स्वतन्त्रता

एकल र साझा अधिकार सूचीमा रहेका कानुनहरू तीनै तहका सरकारले छिटो बनाउनुपर्छ : प्रदेशमन्त्री श्रेष्ठ

हेटौँडा । बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा