६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

डेढ घण्टा यात्रा अवधि बीस मिनेटमा छोटियो



म्याग्दी । बेनी-दरवाङ सडकको बेनी-सिमखण्ड कालोपत्र भएपछि यात्राअवधि छोटिएको छ । १२ किलोमिटर ५०० मिटर दूरीको सडक कालोपत्र भएपछि डेढ घण्टाको यात्रा अवधि २० मिनेटमा छोटिएको हो ।

मङ्गला गाउँपालिका-२ सिमलचौरका अशोक पौडेलले यसअघि एक घण्टादेखि डेढ घण्टा लाग्ने सडकको यात्रा अवधि कालोपत्र भएपछि १५ देखि २० मिनेटमा छोटिएको बताए ।

“म्याग्दीको पश्चिमी भेगका नागरिकलाई आवज जावतमा सहज भएको छ”, उनले भने, “ढुवानी र आवतजावतमा सहजतासँगै यस क्षेत्रको ब्यापार व्यवसायमा पनि फरक हुन थालेको छ ।” बेनी नगरपालिका-४ तातोपानीका कृषक भविलाल सापकोटाले बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने समस्याबाट मुक्ति पाएर सहज, सुरक्षित र छिटो यात्रा गर्न पाएको बताए । “हिलो, धुलो, खाल्डाखुल्डी र साँघुरो सडकमा हिड्नै गाहे थियो”, १२ वर्षदेखि बेनीमा मोटरसाइकलमा दूध ढुवानी गर्दै आएका उनले भने, “सडकका कारण कुनै दिन बजारमा दूध पु¥याउन सकिँदैनथ्यो ।”

बेनीदेखि मङ्गला गाउँपालिका-२ सिमसम्मको सडक कालोपत्र भएपछि जिल्लाको पश्चिमी भेगमा पर्ने तीन पालिकाका बासिन्दा लाभान्वित भएका छन् । मङ्गला, मालिका र धौलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने म्याग्दीको रणनीतिक महत्वको बेनी-दरबाङ सडकको बेनीदेखि सिमखण्ड पूर्वाधार विकास कार्यालयले कालोपत्र भएको हो ।

कार्यालयका निमित्त प्रमुख गुरुदत्त अधिकारीले बेनी-सिमखण्डको सडक कालोपत्र सकिएको जानकारी दिए । “पहिरोको समस्या र जग्गा विवाद भएकोबाहेकका ठाउँमा कालोपत्र सकिएको छ”, उनले भने, “११ मिटर फराकिलो सडकमा सात मिटर चौडाइका दरले कालोपत्र गरिएको हो ।”

डिबिएसटी प्रविधिको कालोपत्र गरिएको हो । कार्यालयका सडक इन्जिनियर सञ्जय सुवेदीले गत चैत पहिलो हप्तादेखि थालिएको कालोपत्र गर्ने काम असार अन्तिम साता सकिएको बताए । सडक विस्तार गरेर फराकिलो, नाली र पर्खाल निर्माण सकिएपछि प्राइम कोट, बिटुमिन र चिप्स राखेर दुई चरणमा कालोपत्र गर्नुअघि रोडा, गिट्टी, बालुवा, ढुङ्गा र माटोलाई सडकमा पेलेर लेभल मिलाइएको थियो ।

विसं २०७४ असोज ४ गते रु ४५ करोडमा ठेक्का सम्झौता भएको यो सडकमा पर्याप्त बजेट विनियोजन नहुने, निर्माण कम्पनीले उपकरण र मजदुर परिचालन गर्न नसक्दा ढिलाइ भएको हो । तत्कालीन सडक डिभिजन कार्यालय बागलुङले ठेक्का लगाएको यो आयोजना २०७५ पुसमा प्रदेश सरकारलाई हस्तान्तरण भएको थियो । कालोपत्र भएको खण्डको ढुवानी र यात्रु भाडा समायोजन गर्न स्थानीयवासीले माग गरेका छन् ।

जिल्लाको ‘लाइफलाइन’ मानिने बेनी–दरवाङ सडकको २०६३ मा मार्ग खुलेको थियो । आयोजनाको दोस्रो चरणमा लाम्पाटादेखि दरवाङसम्म आठ किलोमिटर खण्ड सडक कालोपत्रे गर्न रु २२ करोड ५७ लाख ९३२ मा २०७६ जेठ ३१ गते बिरुवा–क्याराभान जेभीले ठेक्का लिएको थियो ।

पछिल्लो एक वर्षयता निर्माण कम्पनीले काम नगर्दा अलपत्र परेको यो सडकमा हिलो, धुलोको समस्याका साथै दुर्घटनाको जोखिम बढेको मङ्गला गाउँपालिका-२ बाबियाचौरका श्रीराम पौडेलले बताए । यो खण्डको हालसम्म करिब ५० प्रतिशत मात्र भौतिक प्रगति छ ।

मङ्गला गाउँपालिकाको सिमदेखि लाम्पाटासम्मको साढे दुई किलोमिटर सडक स्तरोन्नतिका लागि सम्झौता गरेका निर्माण कम्पनीले प्रारम्भिक चरणको काम थालेका छन् । चार किलोमिटर सडक कालोपत्रे गर्न २०७८ पुुस १८ गते ओमबुद्ध निर्माण सेवा वसुन्धराले रु १० करोड ७० लाख २१ हजारमा ठेक्का सम्झौता गरेको थियो ।

ठेक्का सम्झौताको म्याद १८ महिनाको हो । सडकलाई आठ मिटर फराकिलो बनाएर, सात मिटर चौडाइमा डिबिएसडी कालोपत्र, नाली र पर्खाल निर्माण गर्न लागिएको हो ।

 

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ८ : २७ बजे

इरान-अमेरिका तनाव : एफ-३५ जेटमाथि आक्रमण दाबी, अमेरिका भन्छ- आपतकालीन अवतरण

काठमाडौं । इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अमेरिकी एफ-३५

कांग्रेस केन्द्रीय समिति बैठक आज, सभापति थापाको राजीनामा मुख्य एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।

खानीडाँडा-याम्खा-रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु

खोटाङ । खानीडाँडा-याम्खा-रातमाटा हुँदै दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कार्यालय भएर पञ्चमी

खाद्यको नेपालगन्जस्थित गोदाममा थन्कियो १९ हजार क्विन्टल चामल

बाँके । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित गोदाममा

नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यबिन्दु साझेदारी वन उपभोक्ता