१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

बगर खेतीले फेरिँदै मुसहरको जीवन



महोत्तरी । सधैँको उपेक्षा, अभाव र उत्पीडनको जाँतोमा पिसिँदै आएका मधेसका मुसहर अब आफ्नै मेहनतले उभिन लागेका छन् । ‘राख्ने लुगा र साँच्ने धन नहुने’ आहानका लागि उदाहरणमा उभ्याइने पराले झुपड बस्तीका मुसहरले पछिल्ला केही वर्षयता आफ्नै पौरख र मेहनतले आयआर्जन र सञ्चय बढाएका छन् । महोत्तरीको गौशाला नगरपालिका-८ बेलगाछीका मुसहरको मेहनत अहिले अरुको लागि दृष्टान्त बनेको छ ।

कृषि मजदुरी नै मुख्य पुख्र्यौली पेसा बनाउँदै आएका महोत्तरी जिल्लाका मुसहर अब अतिरिक्त आर्जन गरेर सञ्चय गर्न थालेका छन् । बस्ती नजिकैको सोनी खोला किनारको नदीउकास बगर अहिले ६२ घरपरिवारका मुसहरको मेहनतले हराभरा देखिएको छ । केही वर्ष पहिलेको बगरमा फलफूलका बिरुवा हुर्कदैछन् । बारीमा मौसमअनुसारका तरकारीका लहरा लहलहाएका देखिन्छन् । “हजुर, यसपालि वैशाखी तरकारी नै रु २० हजारको बेचिएछ”, बस्तीका हेमन्ती सादा मुसहरले भने, “घरमा पनि हरियो सागसब्जी टन्नै खाइएको छ ।” हेमन्ती नदीउकास बगरमा नगरपालिकाले उपलब्ध गराएको एक कट्ठा जग्गामा दिनरात नभनी नङ्ग्रा खियाउछन । चार वर्षअघि सुरु गरिएको बगर खेती कार्यक्रमले यसअघि कुपोषणले दुब्लो जस्तो देखिने बालबालिका हरियो सागसब्जी खान थालेपछि शारीरिकरुपमा पनि हृष्टपुष्ट देखिन थालेका छन् ।

हेमन्तीजस्तै बस्तीका बुद्धु, चहेन्द्र, बिल्टु, सौखीया, फुलो र नथुनीयाँ सादा पनि बगरमै आफ्नो मेहनत खन्याइरहेका भेटिन्छन् । “हजुर, यो खेतीले हाम्रो बानी पनि सुधारेछ”, बगरमा फलेको भिण्डी टिप्दै भेटिएकी फुलो सादा भन्छिन, “पहिले बनी (मजदुरी गर्दा पाइएको पारिश्रमिकबापतको अन्न) गरेर ल्याएको अन्न पनि आधा बेचेर रक्सी खाइन्थ्यो, अब त तरकारी बेचेर पैसा हात पर्न थालेपछि रक्सी खाएर लड्ने हाम्रो बस्तीमा भेटिन छाडेका छन् ।” खेतीले आर्जन र सञ्चय गर्ने बानी बसेपछि फजुल खर्च हुन छाडेको त्यहाँका मुसहर बताउँछन् ।

पहिले रक्सी खाएर मातेर लड्ने आफ्ना बस्तीका युवा अब भने बगर खेतीमा रमाएका बुद्धु सादाको भनाइ छ । बगर खेती सुुरु गरेयता दुई-चार हजारको गर्जो टार्न कुनै मालिक (मुसहरले आफूले मजदुरी गर्ने अन्य समुदायकालाई मालिक भन्छन्) गुहार्नु नपरेको बुद्धु बताउछन । आफ्नै बस्तीका समुदायभित्रबाटै सापट पैँचोमा बिहेवारी, मरनहरण र उपचार गर्न सकिएको बुद्धुको थप भनाइ छ ।

नदीउकास बगरको करिब १२ बिघा जग्गा ६२ परिवार मुसहरलाई परिवार सङ्ख्याको आधारमा एक कट्ठादेखि तीन कट्ठासम्म उपलब्ध गराइएको छ । सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिबास (महोत्तरी) को सहकार्यमा २०७५ सालमा थालिएको बगर खेतीले केही वर्षभित्रै मुसहरको स्वास्थ्य, आर्थिक र शैक्षिक सुधार देखिएको बेलगाछी बस्तीका अन्य समुदाय बताउँछन् ।

हरियो सागसब्जी र तरकारी राम्रो उब्जेपछि बस्ती नजिककै खाल्टेमा बजार बसाइएको छ । अहिले बगर खेती गरिएको ठाउँ नजिकै खाल्टे बजार जम्दै गएपछि मुसहर आफ्नो फसल नजिकै बेच्न पाएर दङ्ग छन् । “बगरमा तरकारी उब्जन्छ, छेउमै बजार लागेको छ”, मनकामना महिला समूह ‘ख’ मा आबद्ध पसुलिया सादा खुसी हुँदै भन्छिन, “अब लाग्छ, हाम्रा दुःखका दिन गए, दुई-चार पैसा सबैसँग छ ।”

बगर खेतीमा मुसहरलाई अभिप्रेरित गर्दै सामुदायिक विकास तथा पैरवी मञ्चले चारवटा समूह गठन गरेको छ । जसमा बस्तीका सबै घरपरिवारका महिला सङ्गठित गरिएका छन् । समूह बैठकमा बगर खेती गरिएको बालीको अवस्था, नानीहरु विद्यालय गए-नगएकाबारे समीक्षा र समूह बचतबारे छलफल हुने गरेको छ । यस्ता बैठकमा बस्तीका गर्भवती छोरीबुहारी, सुत्केरी र ससाना नानीबारे पनि चासोपूर्वक छलफल हुने गरेको लालीगुराँस ‘क’ समूहकी पानवती सादा बताउछिन । लालीगुराँस र मनकामना ‘क’ र ‘ख’ नाउँका चारवटा समूहमा बस्तीका सबै घरका महिला सङ्गठित छन् ।

कृषि मजदुरी नै जीवन गुजाराको पेसा भएका मुसहर माटो काट्ने र टाला बोक्ने (माटो काटेर दुईतिर भार बनाएर काँधमा बोकिने काम) काममा अब्बल मानिन्छन् । माटोसँग खेल्नु दैनिकी नै भएका मुसहर समुदाय आफ्नो गुजाराबाहेकका अन्य सामाजिक गतिविधिमा हम्मेसी देखिँदैनन् । यद्यपि पछिल्ला दिनमा क्रमशः आर्थिक, सामाजिक र राजनीतिक गतिविधिमा यो समुदायको पनि चासो बढ्दै जाँदा पछिल्लो पुस्ताका नानी विद्यालय जान थालेका छन् ।

बगर खेती सुुरु गरिएयता रकम सञ्चय गर्नसँगै मुसहर समुदायमा बालवालिका विद्यालय पठाउने, बिरामी हुँदा अस्पताल जाने, हरियो सागसब्जी खाने र आफ्ना आवश्यकताका कुरामा सम्बन्धित निकायमा पैरवी गर्ने बानी बढेको बेलगाछीका अन्य समुदायका बासिन्दा बताउँछन् । मुसहर बगर खेतीमा लागेपछि बस्तीमा हुने गरेका अन्य सामाजिक गतिविधिमा सरिक हुन थालेका गौशाला-८ का बासिन्दा त्यहाँका सामाजिक, राजनीतिक कार्यकर्ता काशी महतो बताउछिन ।

नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ मा रु पाँच लाख खर्चेर नदीउकास बगरलाई सम्याउने, ग¥हा बनाउने र परिवारपिच्छे जग्गा बाँडीदिएपछि मुसहर बगर खेतीमा लागेका हुन् । अहिले नदीउकास बगरमा भाण्टा, परवल, लौका, फर्सी र अन्य तरकारीका बेला र बिरुवा मुसहरको श्रमले ल¥हाएका छन् । ढुङ्ग्यान र बलौटे ठाउँ हराभरा भएको छ । मुसहरले सुरु गरेका बगर खेतीलाई गौशाला नगरपालिकाले आव २०७६/०७७ देखि नै सहयोग गर्दै आएको छ ।

बगर खेतीमा लागेका मुसहरले आफूहरुले नङ्ग्रा खियाएको जग्गा सोनी खोलाले बर्खामा कटान गर्ने र बालु थुपारेर हैरान खेलाएको गुनासो गर्ने गरेका छन् । नगरपालिकाले जग्गा सुरक्षाका लागि तटबन्धका कार्यक्रम सञ्चालन त गरेको छ, तर खोलाको शिरानमै पक्की तटबन्ध भए दिगो सुरक्षा हुने मुसहर बताउँछन् ।

यसअघि नगरप्रमुख रहनुभएका शिवनाथ महतोले मुसहर समुदायको उत्थानका लागि थालेको प्रयत्न अहिलेको नगर नेतृत्वले पनि निरन्तरता दिने प्रतिबद्धता जनाएको छ । गौशालाका यसपालि निर्वाचित नगरप्रमुख डा दीपेन्द्र महतोले बगर खेतीलाई अझ व्यवस्थित र सुरक्षित बनाउन सहयोग जारी रहने बताएका छन ।

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  १० : ०५ बजे

तिब्बतमा सीमा क्षेत्रका बासिन्दाले भोग्नुपरेका समस्या समाधान गर्न उपप्रधानमन्त्री श्रेष्ठको आग्रह

ल्हासा । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल– चीन सीमा

चैत २३ र २४ गते लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति मेला

काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि

लुम्बिनीका होटल व्यवसायी आन्दोलित

भैरहवा । पटक पटक अन्दोलित बनेका लुम्बिनी क्षेत्रका होटल व्यवसायी

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको पनि स्टल राखिने

काठमाडौं । आगामी वैशाखमा हुने तेश्रो लगानी सम्मेलनका क्रममा प्रदेशस्तरीय

खुमबहादुर खड्कालाई भ्रष्टाचारको झुठ्ठो मुद्दामा फसाइयो, उनको योगदान अतुलनीय छ : सभापति देउवा

दाङ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस नेता खुमबहादुर