५ पुस २०८२, शनिबार | December 20, 2025

नेपाल–जापान सम्बन्ध अझ सुदृढ बनाउन आफ्नो भ्रमण केन्द्रित : प्रचण्ड



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–जापान सम्बन्धलाई अझ सुदृढ बनाउन आफ्नो ध्यान केन्द्रित हुने बताएका छन् ।

पाँचदिने जापान भ्रमणमा रहेका अध्यक्ष प्रचण्डले आज टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली पत्रकारसँगको कुराकानीमा नेपाल–जापान सम्बन्धका बारेमा त्यहाँका राजनीतिक दलका नेतासँग आफूले छलफल गर्ने बताए ।

“उच्चस्तरीय भ्रमणले सकारात्मक माहोल बन्छ, दुई देशबीचको सम्बन्धलाई विकसित गर्न, आर्थिकलगायत अन्य सहयोगको क्षेत्रलाई विस्तार गर्न यस्ता भ्रमणले वातावरण बन्छ”, उनले भने । जापान नेपालको विकासमा दातृ राष्ट्रका रुपमा रहेको औँल्याउँदै उनले नेपालको विकासमा आफूले बारम्बार जापान सरकारका प्रतिनिधिसँग कुराकानी गर्दै आएको स्मरण गरे ।

आफू जापानमा रहँदा त्यहाँका नेपालीका लागि नेपाल सरकारले के गर्न आवश्यक छ भन्नेबारेमा अध्ययन गर्ने उनको भनाइ थियो । “विभिन्न व्यवसायमा रहेका, विद्यार्थीलाई नेपालका तर्फबाट त्यहाँको सरकार र राजनीतिक दलका तर्फबाट के गर्न उचित हुन्छ भन्नेबारेमा म गहिरोसँग अध्ययन गर्छु”,प्रचण्डले भने ।

नेपाली जनताले विकास र समृद्धि चाहेको उल्लेख गर्दै अध्यक्ष वर्तमान सत्ता गठबन्धनको ध्यान विकास र समृद्धितर्फ केन्द्रित भएको बताए। “अहिले नेपाली जनताले समग्रमा विकास र समृद्धि खोजेका छन्, राजनीतिक स्थायित्व होस्, राजनीतिक अराजकतातर्फ नजाओस्, र विकासले गति लिओस् भने मुख्य चाहना छ”, अध्यक्ष प्रचण्डले भने, “राजनीतिक नेतृत्व, पार्टी र गठबन्धनले विकास र स्थायित्वका लागि प्रयास गर्नुपर्छ ।”

नेपालको विकासका लागि विश्वभर छरिएर रहेका नेपालीको अनुभव, ज्ञान र साधनस्रोतको सुदपयोग गर्नुपर्ने उपदेशले मात्र अब काम नगर्ने जनाउँदै उनले नेपालभित्र विकासको नयाँ प्रक्रियाको सुरु भएको सन्देश दिन सक्नुपर्ने बताए । “स्थायित्व र विकासको नयाँ प्रक्रिया सुरुआत गर्न सकेको खण्डमा छरिएर रहेका सबै नेपालीले आफ्नो अनुभव, सीप र साधनस्रोत नेपालमा प्रयोग गर्नसक्ने अवस्था रहन्छ”, अध्यक्ष प्रचण्डले भने, “विदेश रहेका नेपालीलाई स्वदेश आउनुस् भनेर फर्कने अवस्था हुँदैन, नेपालमा विकास र राजनीतिको आधार बनाउनुपर्छ । जसले गर्दा नेपालीहरु स्वतः आफ्नो ज्ञान, सीप र सम्पत्ति लिएर स्वदेश फर्कने वातावरण बन्छ ।”

नागरिकता ऐन संसद्बाट पारित गरेर गैरआवासीय नेपालीलाई राजनीतिक अधिकारबाहेक अन्य अधिकार प्रयोग गर्ने व्यवस्था मिलाइएको जानकारी गराउँदै उनले विधेयकमा गैरआवासीय नेपालीको हितलाई बढी ध्यान दिइएको बताए ।

पूर्वप्रधानमन्त्री प्रचण्डले आज जापानको फुकुओकामा आयोजना भएको नेपाल फेस्टिभल समारोहको समुद्घाटन गर्ने कार्यक्रम छ । उनले आइतबार जापानको हिरोसिमा क्षेत्रको भ्रमण गर्नेछन् । जापानको हिरोसिमा र नागासाकीमा अमेरिकाले परमाणु बम खसालेको थियो । सो घटना भएको ७५ वर्ष पूरा भएको छ ।

अध्यक्ष प्रचण्डले नेपाली जनप्रगतिशील मञ्च जापानले आइतबार टोकियोमा आयोजना गर्ने ‘समृद्ध नेपालको आधार र आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयको खुला अन्तक्र्रियामा सहभागिता जनाउनेछन् । जापानमा रहँदा अध्यक्ष प्रचण्डले जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टीका नेतासँग भेटवार्ता गर्ने पनि कार्यक्रम रहेकोे उनको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  ११ : १३ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता