२० बैशाख २०८३, आइतबार | May 3, 2026

ऐतिहासिक टक्सार बजारको अस्तित्व मेटिँदै



भोजपुर । एक समयमा नेपालभर आवश्यक पर्ने टक (डोली पैसा) छापिएको ऐतिहासिक टक्सार बजारको अस्तित्व अब भने मेटिँदै गएको छ । खासगरी टक्सार बजारमा बसाइँसराइका कारण कलात्मक शैलीमा निर्माण गरिएका घर जीर्ण बनेका छन् भने कतिपय घर भत्किन थालेका छन् ।

टक्सारमा टक छाप्ने पेशा शाक्य वंशले गर्दै आएको स्थानीय जानकार बताउँछन् । यहाँ टकमारी गरी बनाइएका एक तोला र दुई तोला तौलका टक (डोली पैसा) राणा शासनमा प्रचलनमा थिए । टक काट्ने पहिलो कालीगढ देवदत्त शाक्य रहेको स्थानीयवासी बताउँछन् । पाटनबाट टक्सार आएका नेवार जातिले आफ्नो भाषा, धर्म, संस्कार र संस्कृति यहाँ भित्र्याएका थिए । टक्सारमा नेपालकै पहिलो शाक्यमुनि बौद्ध विहारसमेत छ । उक्त बौद्ध विहार १९९३ सालमा स्थापना गरिएको हो । राणाहरूले टक्सारबाट डोली पैसा चलाएका बेला यहाँ मठमन्दिर, विहार, गुम्बा, चैत्य, धारा, पाटीपौवा र मूर्ति बनाइएको स्थानीय ८५ वर्षीय हरि ताम्राकारले बताए ।

विसं १८७२ देखि १८८७ सम्म यहाँ डोली पैसा बन्ने गरेको ऐतिहासिक तथ्य पाइन्छ । तत्कालीन सरकारले १८७० सालदेखि भोजपुर, खोटाङ, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, धनकुटा, तेह्रथुम, ताप्लेजुङ, इलामसहितका पूर्वी पहाडमा खनिज पदार्थ उत्खनन् गर्न थालेपछि टक्सारमा अड्डासमेत स्थापना गरिएको थियो ।

अड्डा स्थापनापछि पाटनबाट ल्याइएका कालीगढले फलाम र तामाका डोली पैसा बनाउने गरेका थिए । विसं २००७ पछि स्थापना गरिएको सरकारी अड्डा भोजपुर बजारमा स्थापना गरिएसँगै टक काट्ने काम हटेपछि बजार पनि सुनसान बनेको ताम्राकार बताए । विगतमा भोजपुरको धोद्लेखानीबाट तामा ल्याएर यहाँ डोली पैसा बनाउने गरिन्थ्यो ।

टक्सारमा बनेका हस्तकलाका सामग्री चीनको तिब्बत, भारतको दार्जिलिङ, आसाम, सिलगढी र कोलकातासम्म निर्यात हुने गरेको थियो । धोद्लेखानीबाट तामा ल्याएर टकसँगै विभिन्न सामग्री निर्माण गरिन्थ्यो । तर त्यो खानी पनि अहिले बन्द भएको छ । दशकौँ अघिसम्म सयौँको सङ्ख्यामा रहेका यहाँका उद्योग अहिले सातवटामा सीमित छन् । विसं १८७२ मा यही बजारबाट तामाको डोली पैसाका नामले प्रख्यात टक छापिने गरेको थियो । अहिले यस्तो ऐतिहासिकस्थल सुनसान छ ।

लाखौँ मूल्यका धातुका सामग्री उत्पादन हुने र डोली पैसा छाप्ने टक्सार बजार सुनसान छ । बजारको भू–भाग तत्कालीन खिकामाछा थुमअन्तर्गत रहेको यहाँका बूढापाका बताउँछन् । इतिहासअनुसार १६औँ शताब्दीको अन्त्यतिर पाल्पाका सेन राजाको राज्यअन्तर्गत यो रहेको पाइन्छ । माझकिरातको खिकामाछामा टक काट्ने काम भएसँगै त्यतिबेला यहाँ थुप्रै माल, अड्डा अदालत पनि खोलिएका थिए ।

“सम्पदा समय–समयमा मर्मतसम्भार नहुँदा जीर्ण बन्दै गएका छन्”, ताम्राकारले भन्नुभयो, “यहाँका बासिन्दा आफ्नो घरबार छाडेर अन्यत्र गएपछि बजारको बेहाल भएको छ ।” हुनेखाने वर्ग अन्यत्र गएपछि बजार दूरवस्थामा पुगेको हो । सोही क्षेत्रमा रहेको सरस्वती गुम्बाको पनि संरक्षण हुनसकेको छैन । टक्सार बजारबाट भोजपुरको सिद्धकालीसम्म गुफाबाट पुग्न सकिने उनले बताए ।

‘मिनी पाटन’ भनेर पनि चिनिने यो बजार भोजपुर सदरमुकामबाट करिब डेढ किलोमिटरको दूरीमा अवस्थित छ । यहाँ नजिकै टक्सार विमानस्थलसमेत छ । “टक्सार बजारका धातु उद्योगलाई ब्युँताएर यसको मौलिक पहिचानलाई जीवित बनाइराख्न पलायन भएका व्यवसायीलाई अभिप्रेरित गर्नुपर्ने खाँचो छ”, स्थायीय कुमार श्रेष्ठले भन्नुभयो । यहाँको मौलिक कला र उद्योगको संरक्षणका लागि आवश्यक साधन र स्रोत उपलब्ध गराउन जरुरी छ । यहाँका सामग्री देशभित्रमात्रै होइन, विदेशमा समेत निर्यात हुने गर्छन् । अहिले बजारको मागलाई यहाँका उद्योगले धान्न सकिरहेका छैनन् ।

“धातुका सामग्री बनाउने जनशक्ति पलायन भएपछि यस्तो अवस्था आएको हो”, उनले भने । बसाइँ सरेर गएकाहरुले आफ्नो घर बिक्री नगरी अलपत्र छाडिदिँदा बजारका घर मक्किन र भत्किन थालेका छन् । घुम्न आउने पर्यटकले ‘मिनी पाटन’को नामले पुकार्ने गरेका छन् । यो बजार सुनसान बन्दा भोजपुरकै चिनारी धमिलो हुँदै गएको श्रेष्ठ बताउँछन् । “टक्सार बजार देशकै पहिचान बोकेको ऐतिहासिक ठाउँ हो”, उनले भने । यहाँ कलात्मक शैलीमा निर्माण गरिएका घरसँगै मठ मन्दिर भत्किन थालेका छन् । यसको संरक्षणमा राज्यले ध्यान दिनुपर्ने स्थानीयको माग छ ।

प्रकाशित मिति : १७ भदौ २०७९, शुक्रबार  १० : ०२ बजे

लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे बोल्यो सरकार

काठमाडौँ । सरकारले लिपुलेक क्षेत्र नेपालको अभिन्न भू–भाग भएको प्रष्टीकरण

आगलागीबाट बत्तीस लाख बराबारको क्षति

काठमाडौँ । देशका विभिन्न भागमा भएका आगलागीका घटनामा रु ३२

‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले ‘होल्डिङ सेन्टर’का

राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाए संवैधानिक परिषद् अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारलाई फिर्ता

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

रसुवा । गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी राजमार्गअन्तर्गत स्याफ्रु रसुवागढी खण्डमा तीव्रगतिमा स्तरोन्नति भइरहेको