३ असार २०८१, सोमबार | June 17, 2024

कागे अष्टमी पर्व मनाइँदै



काठमाडौं । प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमी पर्व आज देशभरका कागेश्वरी महादेव मन्दिरमा पूजा आराधना गरी मनाइँदै छ ।

यस अवसरमा कागेश्वरी महादेव मन्दिरमा गई पूजा आराधना गरेमा कागको स्पर्शलगायत दोषबाट मुक्त भइने विश्वास छ । यसैले वर्ष दिनसम्म कागले स्पर्श गरेका वा अन्य काग दोष लागेका मानिसले आज कागेश्वरीको दर्शन गर्नैपर्ने मान्यता राख्छन् । यसै अवसरमा कागेश्वरीमा हरियो मकै चढाएमा कागले बारीमा लगाएको मकै नखाने धार्मिक विश्वाससमेत रहेको छ ।

श्रावण शुक्ल पूर्णिमा र गङ्गा दशहरा पर्वका अवसरमा रसुवाको प्रसिद्ध धार्मिकस्थल गोसाइँकुण्डमा पुगेका भक्तजनले त्यहाँबाट ल्याएको जल आज कागेश्वरीमा चढाउनुपर्छ भन्ने विधिसमेत रहेको छ । गोसाइँकुण्ड पुग्नेले कागेश्वरीमा आई आजका दिन जल नचढाए धार्मिक यात्रा पूरा नहुने जनविश्वास रहेको छ ।

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको ऐतिहासिक, धार्मिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण कागेश्वरी महादेव मन्दिरमा लाग्ने मेलामा देश-विदेशबाट लाखौँ भक्तजनको भीड लाग्छ । कागे अष्टमीसमेत भनिने आजका दिन कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं १ मा पर्ने यो मन्दिर क्षेत्रमा आउनेलाई सहज सुविधा दिन लागिएको छ ।

मन्दिर जान यातायात सहज बनाउने व्यवस्था गरिएको कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्कीले राससलाई जानकारी दिनुभयो । कोरोनाअघि नगरपालिकाले तीन दिनसम्म मेला गरी यो पर्व मनाउने गरेको थियो । कोरोना जोखिम कायमै रहेकाले विसं २०७७ देखि तीन दिने मेला नगरी एक दिन पूजा आराधना गर्ने व्यवस्था मिलाइएको छ ।

मन्दिर परिसरमा हाल दुई सय २७ किलोको अष्टधातुबाट बनेको कागको मूर्ति विशेष आकर्षणका रूपमा रहेको छ । यो नेपालकै ठूलो कागको मूर्ति हो । यहीँको लोकतान्त्रिक सहिद उद्यानमा एक हजार किलोको विश्वकै ठूलो कागको मूर्ति निर्माण भएको छ ।

एक हजार किलोको अष्टधातुको कागको मूर्ति बनाउन स्थानीयवासीले धातु दान गरी सहयोग गरेका छन् । यसै मन्दिरको समेत नाम जोडेर कागेश्वरी मनोहरा नगरपालिकाको नामकरण भएको छ । यस पर्वका अवसरमा नगरपालिकाले प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन नगरपालिकाभर सार्वजनिक बिदा दिँदै आएको छ ।

नामकरण भएदेखि नै महोत्सवको आयोजना नगरपालिकाले गर्दै आएको छ । भदौमा लाग्ने मेलाका अवसरमा यहाँको तामाङ एवं नेवार समुदायका सांस्कृतिक झाँकी प्रदर्शन गरिनुका साथै स्थानीय उत्पादनको समेत प्रदर्शन गरिन्छ ।

कागेश्वरीमा लाग्ने मेला भर्न काठमाडौं उपत्यकाका तीन जिल्लाका साथै नजिकका नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, रसुवा, दोलखा, रामेछाप, सिन्धुलीलगायत जिल्लाका मानिसको बढी भीड लाग्ने गरेको छ । देशका विभिन्न जिल्लाबाट आई काठमाडौं उपत्यकामा बसोबास गर्ने मानिस पनि कागको स्पर्शबाट बच्न आजका दिन कागेश्वरी जाने गर्छन् ।

कागे अष्टमीका अवसरमा कागेश्वरी महादेव मन्दिर जान नसक्ने भक्तजनले हनुमानढोका र पशुपति क्षेत्रमा रहेको कागेश्वरी मन्दिरमा पूजा, आराधना एवं दर्शन गर्ने गरेका छन् । देशका अन्य स्थानमा रहेको कागेश्वरी मन्दिरमा पनि आज पूजा, आराधना गर्न भक्तजन पुग्ने गर्छन् ।

प्रकाशित मिति : १९ भदौ २०७९, आइतबार  ७ : ५७ बजे

दार्जिलिङको नयाँ जलपाईगुडीमा रेल दुर्घटना, ८ जनाको मृत्यु

काठमाडौं । भारतको दार्जिलिङको नयाँ जलपाईगुडी नजिकै एउटा मालगाडी कञ्चनजङ्घा

व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न सक्छौँ र बदल्नैपर्छ : प्रधानमन्त्री

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको

मुकु सुवेदीको नयाँ गीत ‘डालीमा बसेछ चरी’ सार्वजनिक (भिडियो सहित)

बुटवल । कलाकार मुकु सुवेदीको नयाँ लोक गीत सार्वजनिक भएको

लुम्बिनी प्रदेशका अण्डर १९ पुरुष भलिबल खेलाडी छनौट

बुटवल । लुम्बिनी प्रदेशस्तरीय अण्डर-१९ भलिबल खेलाडी छनोट भएका छन्

गुलरिया-१२ बालविवाह मुक्त वडा घोषणा

बर्दिया । बर्दिया जिल्लाको गुलरिया नगरपालिकालाई बालविवाहमुक्त नगर पालिका बनाउने