२० बैशाख २०८३, आइतबार | May 3, 2026

चेपाङले मनाए ‘न्वागी’



भरतपुर । चितवनका चेपाङ समुदायले बुधबार ‘न्वागी’ पर्व मनाएका छन् । हरेक वर्ष भदौ महिनामा चेपाङ समुदायले यो पर्व मनाउँदै आएका छन् ।

भदौमा नयाँ अन्नबाली र फलफूल पाकेपछि यो पूजा गर्ने चलन छ । केही वर्षयता नेपाल चेपाङ सङ्घको पहलमा भदौ २२ गतेलाई छोनाम अर्थात् ‘न्वागी’ राष्ट्रिय पर्वको रूपमा मनाउने गरिएको छ । यस दिन चामल, पिँडालु, निबुवा आदि फलफूलले भूमि पूजा गरी पितृलाई खुवाउने गरिन्छ । झाँक्रीले पूजा नगरी गाउँमा नयाँ फलफूल तथा अन्न खाएमा रोगव्याधी लाग्ने विश्वास यो समुदायमा छ ।

बुधबार रत्ननगर-१० स्थित गामबेँसी चेपाङ संरक्षण केन्द्रमा पनि त्यसैगरी झाँक्रीले पूजा गरी न्वागी मनाइयो । पूजामा सरिक झाँक्री अमितलाल चेपाङले भने, “यो हाम्रो ठूलो चाड हो, हामीले पूजा नगरी नयाँ अन्न कसैले खानु हुँदैन ।” उनले नयाँ अन्नको पूजा नगरी खाँदा विभिन्न रोगव्याधी लाग्ने विश्वास रहिआएको बताए ।

न्वागीमा छरछिमेकी र नाताकुटुम्ब निम्तो गरेर सामूहिक भोज खाने, नाचगान गर्ने र सुख दुःख साट्ने गरिन्छ । तर, पछिल्लो समय यो पर्व पनि लोप हुने खतरा बढेको छ । धर्म परिवर्तनले उनीहरूको मौलिक परम्परा नै धुमिल बन्दै गएको छ । यो पर्व मनाउने चेपाङ घट्ने क्रममा छन् । राप्ती नगरपालिका–१२, वाकराङका सञ्जीव चेपाङ पछिल्लो समय यो पर्व मनाउनेको सङ्ख्या घट्दो क्रममा रहेको बताउछन ।

“पहिले धुमधामका साथ यो पर्व मनाइन्थ्यो, अहिले घट्दो अवस्थामा छ”, उनले भने, “पछिल्लो समय धर्म परिवर्तनले झाँक्री लगाएर पूजा गर्ने चलन हट्न थालेको छ ।”

राप्ती नगरपालिकाकै कृष्णलाल चेपाङलाई पनि विगतभन्दा अहिले यो पर्व मनाउने अवस्था फेरिँदै गएको महसुस हुन्छ । “धर्म परिवर्तन गर्नेले मनाउन छोड्दै गएका छन्”, उनले भने । चेपाङ राप्ती नदी उत्तर र त्रिशूलीपूर्व उठेको महाभारत पर्वत शङ्खला वरिपरिका रैथाने मानिन्छन् ।

मकवानपुर पश्चिम, चितवनको उत्तर र धादिङका दक्षिणी भेगमा चेपाङको बसोबास छ । चेपाङको आफ्नै भाषा, संस्कृति र वेषभूषा रहे पनि त्यसको संरक्षण चुनौती बनेको छ । विगतदेखि मान्दै आएको चाडपर्व कतै लोप हुने हो कि भन्ने उनीहरुमा चिन्ता छ ।

चेपाङको जीवन वनजङ्गल र जमिनसँग जोडिएको छ । उनीहरु वनजङ्गल नजिक, भिरालो परेको जमिन र खोला नजिक छरिएर रहेका छन् । राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा चेपाङको सङ्ख्या ६८ हजारभन्दा बढी छ । चेपाङको पर्वमा पहिलो पटक बागमती प्रदेशले सार्वजनिक बिदा दिएर सम्मान गरेको छ ।

गामबेँसी चेपाङ संरक्षण केन्द्रमा ‘न्वागी’

बुधबार रत्ननगरको गामबेँसी चेपाङ संरक्षण केन्द्रमा ‘न्वागी’ पर्व मनाइएको छ । चेपाङ बालबालिकालाई आवासीय रुपमा शिक्षा दिँदै आइरहेको संरक्षण केन्द्रले बालबालिकामा संस्कृति संरक्षणका लागि चेतना बढोस् भन्ने उद्देश्यले पर्व मनाइएको केन्द्रका अध्यक्ष केपीकिरण शर्माले बताए ।

“अहिले धर्म परिवर्तन गरेर धेरै चेपाङले आफ्नो पर्व नै मनाउन छाडेका छन्, यहाँ रहेका बालबालिकाले ज्ञान प्राप्त गरुन् भनेर आश्रममै पर्व मनाएका हौँ”, उनले भने ।

प्रकाशित मिति : २३ भदौ २०७९, बिहिबार  ७ : ३३ बजे

स्थानीय तहमा रास्वपा उम्मेदवार बन्न ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’ अनिवार्य

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह

सबै कम्युनिस्ट एकताबद्ध भएर क्रान्तिको सपना पूरा गर्छौ : प्रचण्ड

रुकुम पश्चिम । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री

एमालेमा डिजिटल सदस्यता प्रणाली लागू, नविकरण नगरे जिम्मेवारीबाट मुक्त

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी सदस्यता व्यवस्थापनलाई

स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह

काठमाडौँ । सहरी विकास मन्त्रालयले काठमाडौँको बागमती र सहायक नदी

कपनका साततले, पाथीभरा, तेन्जिङ चोकका अतिक्रमित संरचना धमाधम हटाइँदै

काठमाडौं । काठमाडौं उपत्यकाका वाग्मती र त्यसका सहायक नदी तथा