१२ बैशाख २०८१, बुधबार | April 25, 2024

भैरहवा बजारमा नेपाली उपभोक्ताको चहलपहल



भैरहवा । कोभिड महामारीको नकारात्मक पक्ष धेरै रहे पनि यसले केही क्षेत्रहरूमा सकारात्मक छाप छोडेको छ ।

बन्दाबन्दीले सीमा क्षेत्रमा कारोबार गर्ने नेपाली व्यवसायीहरुमा केही उत्साह जगाएको छ । सा-सानो सामग्रीका लागि पनि भारतीय बजारमा भर परेका नेपाली उपभोक्ताहरु बन्दाबन्दीका कारण नेपालमै सामान खरिद गर्न अभ्यस्त हुन थालेका छन् ।

यस अघिका दशैँ तिहारलगायतको नेपालीहरुको ठूलो चाड नेपालीहरुभन्दा भारतीय व्यापारीहरुलाई खुशी लिएर आउने गर्दथ्यो । सरकारको फितलो नियमनका कारण यस्ता पर्वहरुमा भारतीय बजार गुलजार भइरहँदा नेपालतर्फको व्यापारमा भने शून्यता देखिने गरेको थियो । तर अहिले त्यस्तो अवस्थामा थोरै भए पनि सुधार आएको छ । पहिलेको तुलनामा अहिले नेपाली बजारमा उपभोक्ताहरुको चासो बढेको छ ।

नेपालभन्दा तुलनात्मकरूपमा भारतमा सस्तो सामान पाइने भन्दै नेपालीहरु दैनिक भारतीय बजारमा ठगीमा परिरहेका हुन्छन् । भारतीय बजारमा कम तौल, गुणस्तरहीन सामग्री, बिक्रीपछिको सेवामा उदासीनतालगायतको गुनासो हुने गरेको नेपालका व्यवसायीको भनाइ छ । नेपाली व्यवसायीहरुको सचेतनामूलक कार्यक्रम, भारतीय बजार ‘फरेनी’ मा नियन्त्रण, सुपथ तथा छुटसहितका मूल्यलगायतका कारण नेपालीहरु पुनः नेपाली बजारतर्फ आकर्षित हुन थालेका छन् ।

उद्योग व्यापार सङ्गठन रुपन्देहीका अध्यक्ष अनिल ज्ञवालीका अनुसार नेपालीहरु नबुझेर नै सीमापारि सुनौलीमा खरिद गर्न जाने गरेको बताउछन । अधिकांश सामानहरु भारतभन्दा नेपालमै सस्तो रहेको उनको दावी छ । “कस्मेटिक सामग्री, जडीबुटी, पेय पदार्थलगायत कयौँ सामान नेपालबाट भारत जाने गरेको छ ।” ज्ञवालीले भने, “नेपालीहरु नेपालकै उत्पादन महङ्गो मूल्य हाली खरिद गरिरहेका छन् ।

नेपाली उपभोक्ताहरू सामान सस्तो पाइने भन्दै सीमावर्ती भारतीय बजार पुग्ने गर्छन् । तर, नेपाली उपभोक्ताहरूले कहिले पनि सामानको गुणस्तर, मूल्यमा तुलना गरेको पाइँदैन । “एकाध सामान भारतमा सस्तो होला, तर धेरै भारतीय सामान जसको भारतमा जति मूल्य छ त्यति मूल्यमै नेपालमा पनि उपलब्ध हुन्छ”, अध्यक्ष ज्ञवालीले भने, “त्यसतर्फ नेपाली उपभोक्ताको ध्यान जान सकेको थिएन, अहिले बिस्तारै बुझ्दै छन् ।”

कोरोनाका कारण सीमा नाका र सीमावर्ती बजारहरू बन्द हुँदा स्थानीय बजारमा खरिदारी गर्ने बानी नेपालीहरूमा परेको थियो र केही मात्रामा स्थानीय बजारहरूमा चहलपहल बढेको ज्ञवालीको भनाइ छ । सीमा नाका बन्द हुँदा सीमावर्ती क्षेत्रका नेपाली बजारहरू केही मात्रामा चलायमान देखिएका थिए । भैरहवा तथा यस आसपासमा पहिलेको तुलनामा २० देखि २५ प्रतिशतले कारोबारमा वृद्धि आएको उनको भनाइ छ । उद्योग व्यापार सङ्गठनअन्तर्गत भैरहवा तथा यस आसपासमा तीन हजार बढी व्यवसायी आबद्ध रहेको ज्ञवालीले बताए ।

ज्ञवालीकै जस्तै भनाइ छ सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष भीष्म न्यौपानेको पनि । उनले पनि कोभिडका कारण भैरहवा तथा यस आसपासको क्षेत्रमा कोभिडको समयमा व्यनपार बढेको बताए । तर नाका बिस्तारै सहज हुँदा अहिले बजारको गति पनि सुस्ताउन थालेको उनको भनाइ छ ।

उनले अहिले बजारमा चहलपहल नभएका कारण उपभोक्ताको क्रयशक्तिमा आएको कमी रहेको बताए । “उपभोक्ताको क्रयशक्ति घटेको छ, भएको थोरै पैसाले कहाँ सस्तो पाइन्छ भन्ने खोजिरहनुभएको छ”, उनले भने, “चाडपर्वका कारण स्थानीयस्तरमा आउने पर्यटकहरु पनि आउन सकेको अवस्था छैन । यसले पनि बजारमा असर पारेको छ ।”

कोभिडपछि बजारमा देखिएको चहलपहल कायम गर्न सङ्घले विभिन्न प्रयास गरिरहेको उनको भनाइ छ । चाडपर्व लक्षित छुट सुविधा दिएर नेपाली उपभोक्तालाई नेपालमै किनमेल गर्न प्रोत्साहित गर्ने उद्देश्यले भैरहवामा यही असोज ११ गते देिख चार दिनका लागि दशैँ सस्तो बजारको आयोजना गर्ने सङ्घको योजना रहेको उनले सुनाए ।

भारतमा सस्तो सामान पाइन्छ भन्दैमा कर नतिरी हजारौँको सामान ल्याउनेहरूलाई करको दायरामा नल्याएसम्म यो परिपाटी जारी रहने र नेपाली सीमावर्ती बजारहरू दीर्घकालीन चलायमान बन्न नसक्ने न्यौपानेको भनाइ छ । घरायसी सामानका नाममा दैनिक करोडौँका सामान भन्सार नगरी भित्रिने भएकाले दिनहुँ भारतमा खरिदारीका लागि जानेहरूको रेकर्ड नाकामा राख्नुपर्ने साथै संक्षिप्त प्रज्ञापन अनिवार्य रूपमा भर्नुपर्ने व्यवस्था हुनुपर्ने उनको भनाइ छ । त्यसैगरी आउने-जाने सबैलाई र ल्याएका सामानहरूको स्क्यान गर्न जडान गरिएको मेसिन पनि प्रयोगमा ल्याउन उनले आग्रह गरे ।

नेपाली व्यापारीहरु मात्र होइन पछिल्लो समय सीमा छलेर नेपालीहरु सामान खरिद गर्न कम आउने गरेको भारतीय व्यापारीहरुको पनि भनाइ छ । नब्बे प्रतिशत नेपाली उपभोक्ताहरुको भरमा रहेको भारतको सुनौली बजारमा अहिले चहलपहल कमै रहेको उत्तर प्रदेश उद्योग व्यापार प्रतिनिधिमण्डलका अध्यक्ष सुबासचन्द्र जयसवालले बताए ।

“कोभिड पछि व्यापारै नभएर किराना, मोबाइल, कपडालगायतका करिब १० पसल विस्थापित भए”, जयसवालले भने, “कतिपय हतास मनस्थितिमा पुगेका थियौँ, अहिले विस्तारै बजारमा चहलपहल बढेको छ ।”

नेपाल सरकारले बिलासिताका वस्तु भन्दै बन्द गरेको करिब तीन सय प्रकारका सामग्री आयातमा लगाएको प्रतिबन्धका कारण भारतीय बजारमा चहलपहल बढेको उनको भनाइ छ । “अहिले सुनौलीबाट सौन्दर्य सामग्री, मोबाइल, चिप्स, कोल्डड्रिंक्स, चिनी, कपडालगायतको कारोबार बढेको छ, विस्थापित भएका पसल फेरि खुल्दै गएका छन्”, जयसवालले भने

सुनौलीमा नेपाली उपभोक्ता लक्षित गरी मोबाइल, कपडा, किराना, हार्डवेयर, भाँडाकुडाका गरि आठ सय ५० बढी पसल रहेका छन् ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ७ : ०० बजे

सूर्य नेपाल काठमाडौं ओपन – दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

बुटवलमा रहेको सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि ७ औं वर्षमा प्रवेश

बुटवल । युवा विशेषज्ञ चिकित्सकहरुको लगानीमा स्थापना भएको बुटवलमा सञ्चालित

महोत्तरीको मटिहानीमा सयौ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा

रविको दाबी – हरेक महिना ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु, सप्राइज कुरेर बस्नु होला

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि

तिलोत्तमाको जंगलमा डढेलो निभाउन गएको दमकल आफै जलेर ध्वस्त

बुटवल । रुपन्देहीमा डढेलो निभाउन गएको एक दमकल आफै डढेलोको