१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

पारिवारिक पुनर्मिलनको पर्व बडादशैँ सुरु, पहिलो दिन घटस्थापना



काठमाडौं । विभिन्न पेशा, व्यवसाय एवं अध्ययनका लागि घरबाट टाढा रहेका परिवारका सदस्य आ-आफ्नो थातथलोमा जम्मा भएर मनाइने बडादशैँ पर्व आजदेखि सुरु भएको छ ।

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादशैँ आज घर घरमा घटस्थापना गरेसँगै सुरु हुन्छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । बडा दशैँको पहिलो दिन आज घरका पूजा कोठा र दशैँ घरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दशैँ घरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैँ घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोपिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा लगाइन्छ ।

जमरामा जौ बाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । कुल परम्परा अनुसार कसैले अन्य अन्न पनि जौसितै रोप्ने गरेका छन् । जमरालाई आयुर्वेदिक औषधीका रुपमा समेत प्रयोग गरिन्छ । जमराको जुस विभिन्न रोगमा औषधीको रुपमा सेवन गर्ने गरिएको छ ।

नौ दिन नौ दुर्गाको पूजा

यो पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।

आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजा आराधना गर्ने शास्त्रीय नियम छ । दुर्गा पूजा र दशैँ पर्व कुनै जात एवं धर्म विशेषको नभएको शास्त्रीय प्रमाण रहेको धर्मशास्त्रविद् गौतम बताउछन । दशैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ ।

दुर्गाको प्रतीकका रुपमा आजको दिनदेखि महानवमीसम्म प्रत्येक दिन छुट्टाछुुट्टै गरी नौवटी कन्याको पूजा समेत गर्ने गरिन्छ । यसरी पूजा गरिने कन्या दुई वर्ष माथिका हुनुपर्ने शास्त्रीय विधान छ । वडादसैँको सातौं दिन धार्मिक विधि अनुसार फूलपाती भित्र्याइन्छ । महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरुले दशैं घर, कोत र शक्तिपीठमा बलिसहित विशष पूर्जा गर्छन् ।

नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवं स्तुतिको पाठ पारायण पनि गर्ने गरिन्छ । यस अवसरमा गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ ।

विजयादशमीको साइत असोज १९ गते ११ : ५१ बजे

नवरात्र भनेर समेत चिनिने दशैँ नौ रात र दश दिनको हुन्छ । कुनै वर्ष तिथि घटेर आठ रात र नौ दिनको मात्र हुने गर्छ । तिथिको घटबढका कारण आठ राता र नौ दिनको नवरात्र हुने समयमा खोपेर पूजा र पाठ गरी देवीको आराधना गर्नुपर्ने तन्त्र विषयका पुस्तकमा लेखिएको अध्यक्ष अधिकारीले बताए ।

आज विधिपूर्वक घर घरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गा देवीलाई असोज १९ गते विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र फुल प्रसाद ग्रहण गर्ने गरिन्छ ।

असोज १९ गते देवी विसर्जनको साइत बिहान १० : ३४ बजे रहेको समितिले जनाएको छ । टीका प्रसाद ग्रहणका लागि साइत खोज्नेका लागि भने ११ : ५१ बजेको साइत उत्तम छ । विजयादशमीदेखि कोजाग्रत पूर्णिमा अखिल बलि पूर्ति नभएसम्म देवीको प्रसाद लगाउने शास्त्रीय विधि छ ।

विजया दशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ । पूर्णिमाका दिन धनधान्यकी प्रतीक महालक्ष्मीको व्रत बसी रात्रीमा जाग्राम रहेर पूजा लगाई धन ऐश्वर्य प्राप्तिको कामना गर्ने गरिन्छ । यस दिन जाग्राम बस्ने मानिसलाई लक्ष्मीले धन धान्य दिई सम्पन्न बनाइदिने धार्मिक विश्वास छ ।

आजको दिन घटस्थापना गरेर राखेको जमरा कोजाग्रत पूर्णिमाकै दिन चोखो स्थानमा लगी विसर्जन गरिन्छ । यस वर्ष असोज २३ गते आइतबार कोजाग्रत पूर्णिमा पर्व परेको समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ ।

बढ्न थाले थात थलो फर्कने यात्री

रोजगारी, अध्ययन एवं अन्य काम विशेषले आफ्नो घर बाहिर रहेका व्यक्ति दशैँको अवसर पारेर घर फर्कने र परिवारका साथ बसेर महान् पर्व मनाउँछन् । यसैले बडादशैँलाई पारिवारिक पुनर्मिलनको पर्वका रुपमा समेत लिइन्छ । काठमाडौं उपत्यका बाहिर जाने यात्री आजैदेखि बढ्ने गर्छन् । नयाँबसपार्क, कलङ्कीलगायत स्थानमा काठमाडौँ उपत्यका बाहिरिनेको भीड देखिन्छ ।

धेरैजसो शैक्षिक संस्थाले दशैँका अवसरमा आजैदेखि सार्वजनिक बिदा दिएका छन् । शैक्षिक संस्था बिदा भएसँगै विद्यार्थी, शिक्षक, प्राध्यापकलगायत आजैदेखि आ-आफ्ना घर जान्छन् । देश विदेशबाट गाउँ फर्कनेहरु बढ्न थालेसँगै देशका ग्रामीण भेगमा पनि बडादशैँको चहलपहल सुरु हुन्छ ।

 

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ६ : ५२ बजे

रुपन्देही प्रहरीले हराएका १२ थान मोवाईल फेला पारी मोबाइल धनिलाई बुझायो

बुटवल । रुपन्देही प्रहरीले जिल्लाका बिभिन्न स्थानबाट मोबाइल हराएको भन्दै

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्वास्थ्य विभागले बिहीबार

गगन थापाको टिप्पणी- ‘बा र भगवान प्रश्नभन्दा माथि !’

काठमाडौँ ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बा र भगवानलाई

बजेट मागिरहने तर पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट

राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालको राजीनामा

काठमाडौं । राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छन्