४ जेष्ठ २०८३, सोमबार | May 18, 2026

बारा दुर्घटनाका बालक भन्छन् – बुबाको हात देखेर चिनेँ र मान्छेको थुप्रोबाट निकालेँ



हेटौंडा । जितपुर—सिमरा उपमहानगरपालिकामा भएको बस दुर्घटनामा १६ जनाको मृत्यु भएको छ भने चालक सहित ३६ जना घाइते छन् । उक्त बसमा सवार केही यात्रुमात्र सामान्य रहेका र धेरैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । यही बसमा सवार १५ वर्षीय बालक हुन् बिरोज पाख्रिन ।

बारा घर भएर मकवानपुरगढी बस्ने बिरोज मूलघरको टीका सकेर बिहानै बाराको अमलेखगञ्जमा रहेको घरमा पुग्न बिहान ५ बजे नै हेटौंडा बसपार्क पुगेका थिए । आफ्ना ४५ वर्षीय बुबा ललित पाख्रिनका साथ उनी बस कुर्दै थिए । दसैँका कारण थोरै सवारी र त्यसमा पनि खचाखच भरिएर आएका सवारी साधनहरुका कारण ३/४ घण्टा बसपार्कमा नै कुर्नुपर्यो । धेरैपछि नारायणगढबाट बीरगञ्जका लागि छुटेको बा ०६–००१ ख ०११० नं को बस बसपार्कमा आइपुग्यो र पाख्रिनका बुबा छोरा चढे । बस बीचबीचमा यात्रुहरु चढाउँदै चुरियामाई मन्दिरनजिक पुगेर रोकियो । त्यहाँ पनि चार जना यात्रु बस चढे । त्यसको केहीबेरमा नै अगाडिबाट ब्रेक फेल भयो भन्ने आवाज आएको उनले सुने । बस चढेका चार यात्रु बस्न नपाउँदै अगाडिबाट बसको ब्रेक फेल भयो भन्ने आवाज सुनिएको उनले बताए ।

टाउको र घुँडामा चोट लागेका बिरोज भन्छन् “ब्रेक फेल भयो भन्ने सुनँे, गाडी यताउता गर्दै गुड्यो, त्यसपछि म त बगरमा पुगेको रहेछु ।” गाडी पल्टेको थाहा नै नभएको बताउदै उनी भन्छन् “झसङ्ग भएर बुबालाई हेरेको देखिन । उहाँलाई मानिसहरुको चेपमा देखेँ । चार जना मान्छे हटाएर बुबालाई तानेर निकालेँ । बुबालाई थिचेका वरपरका अरु यात्रु भने चलमल गर्नुभएको थिएन । उहाँहरुको बीचबाट बुबाको हात बाहिर निस्केको देखेर चिनेँ ।”

बाहिर निकालेपछि प्रहरी आयो । प्रहरीको बसमा बुबासहित अरुलाई पनि हेटौंडाको अस्पतालमा ल्याएको बिरोज बताउछन् । तर दुर्घटनाको कतिबेरपछि प्रहरी घटनास्थलमा पुग्यो भन्ने पत्तो नपाएको उनको भनाई छ । गम्भिर घाइते भएका कारण बिरोजका बुबा ललित पाख्रिनलाई भरतपुर लैजान एम्बुलेन्सको ब्यबस्थापन गरिएको अस्पतालले जनाएको छ । उनका आफन्तहरु पनि सम्पर्कमा आएको उनले बताए ।

त्यसैगरी अर्का घाइते ३५ बर्षीय बस चालक दिप्तनारायण ढकाल बसको ब्रेक फेल भएको थाहा पाएपछि बचाउने प्रयास गर्दागर्दै नसकेको बताउँछन् । उनले आफूले भने हामफालेर ज्यान जोगाएको बताए । नारायणगढबाट हेटौंडा हुँदै बीरगञ्जतर्फ गइरहेको बसमा यात्रु चढ्ने र झर्ने क्रम जारी रहेसँगै चुरियामाई मन्दिरमा पुग्दा मुसलधारे पानी परेको र त्यसलगत्तै बसको ब्रेक फेल भएको उनी बताउँछन् । ब्रेक फेल भएको गाडीलाई भित्तामा ठोक्काएर रोक्ने प्रयास गर्दागर्दै टाटासुमो, अटोरिक्सा र मोटरसाइकललाई छल्दै अघि बढ्दा भित्ता नभेटिएर दुर्घटना भएको उनको भनाई छ । उक्त क्रममा पुल नजिकै पुग्दा बसलाई नियन्त्रण गर्न सक्ने अवस्था नभएपछि आफु हामफाल्न बाध्य भएको उनको भनाई छ ।

बाराका १८ वर्षीय युवक आर्यन भोम्जनले पनि एक्कासी बस तीब्र गतिमा गुडेको थाहा पाएपछि डर लागेको र अगाडिबाट झाडीतिर हाल, भित्तातिर हाल भनेको आवाज सुनेको बताउँछन् । पछाडिको सीटमा रहेका उनी होसमा छँदा चिच्याएको आवाज सुनेको र पछि भने आफैले होस नपाएको बताए । उनको हेटौंडास्थित चुरहिल अस्पतालमा उपचार भइरहेको छ । उहाँको हातको शल्यक्रियाको तयारी हुदैछ ।

 

ब्रेक फेल – प्रारम्भिक अनुसन्धान
आज बिहान करिब १० बजे जितपुर सिमरा–२२ मा पर्ने तीन नम्बर पुल नजिक दुर्घटना भएको नारायणगढबाट पथलैयातर्फ जाँदै गरेको ०६–००१ ख ०१० नम्बरको बस ब्रेक फेल भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक मुनेन्द्र थापाले बताए ।

चालकसँग गरिएको अनुसन्धानका आधारमा बसलाई चालकले जोगाउन खोज्दाखोज्दै दुर्घटना भएको देखिएको उनको भनाई छ । बस चुरेमन्दिरबाट केही तल पुगेपछि ब्रेक फेल भएको र विभिन्न सवारीसाधन सडकमा गुडिरहेकोले उक्त सवारीसाधनहरुलाई जोगाउँदै गुड्दै गर्दा दुर्घटनामा परेको बुझिएको थापाको भनाई छ ।

अहिलेसम्म हेटौंडा अस्पतालमा १२, चुरेहिल अस्पतालमा दुई, मकवानपुर सहकारी अस्पतालमा दुई र चितवनमा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक वामदेव गौतमले जानकारी दिए ।
हेटौंडामा एम्बुलेन्सको कमी भएका कारण केही घाइतेहरुलाई भने निजी सवारी साधनमा थप उपचारका लागि पठाइएको बताइएको छ ।

प्रकाशित मिति : २० आश्विन २०७९, बिहिबार  ९ : ३२ बजे

एमाले सचिवालय बैठक आज बस्दै

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ। बैठक

जेनजी आन्दोलनमा जलेका लालपुर्जाको श्रेष्ता कायम गर्न सास्ती खेप्दै सेवाग्राही

नेपालगन्ज । गत सालको भाद्र २४ गतेको जेनजी आन्दोलनका क्रममा

विषादीको विकल्पमा ‘जैविक झोल’

म्याग्दी । म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वत कार्यक्षेत्र रहेको राष्ट्रिय

कोरलानाकामा थप ‘बिटिएस’ सञ्चार उपकरण जडान

मुस्ताङ । यहाँको नेपाल-चीन उत्तरी कोरलानाका दशगजा क्षेत्रमा माइक्रोवेब बिटिएस

सुनकोशीको बेलिब्रिज झिकिएपछि समस्यामा स्थानीय

खोटाङ । सुनकोशीस्थित फोक्सिङटार र बङ्शिलाघाटको अस्थायी बेलिब्रिज झिकिएसँगै खोटाङ