२० मंसिर २०८२, शनिबार | December 6, 2025

वाल्मीकि आश्रम पुग्न पुल बन्यो, बाटो बनेन


१९ मंसिर २०७९, सोमबार  

598
Shares

भरतपुर । चितवनको वाल्मीकि आश्रम र नवलपरासी (बर्दघाट सुस्तापूर्व) त्रिवेणीधाम जोड्ने आकर्षक झोलुङ्गे पुल बनेको छ । नारायणी नदीमा बनेको यस पुललाई स्थानीयले लव–कुश झोलुङ्गे पुलको उपनाम दिएका छन् । यहाँ पुग्ने जोकोहीलाई यो पुलले आकर्षित गर्छ । पुल निर्माण सम्पन्न भएको करिब एक वर्ष भइसक्यो तर सञ्चालनमा आएको छैन ।

नेपालकै भू–भाग हुँदै चितवनको वाल्मीकि आश्रम पुग्न यो पुल निर्माण गरिएको हो तर पुल हुँदै चितवन प्रवेश गर्न निषेध गरिएको छ । पुलको चितवनतर्फ जाली लगाएर प्रवेश निषेध गरिएको छ । सूचनामा लेखिएको छ, “चितवन राष्ट्रिय निकुञ्जभित्र प्रवेश गर्न सख्त मनाही छ । जङ्गली जनावरबाट बचौँ र बचाउने हामी सबैको साझा दायित्व हो ।”

वाल्मीकि आश्रम प्रवेशका लागि बनाइएको पुलमा यसरी प्रवेश गर्न रोक लगाएपछि अहिले यो पुल घुम्ने र फोटो खिच्ने ठाउँ बनेको छ । अहिले दैनिक एक सयको हाराहारीमा मानिस घुम्नका लागि पुलसम्म पुग्ने गरेका छन् । पुल तर्न नपाउँदा निराश भएर फर्कनुपरेको स्थानीय नारायणप्रसाद उपाध्यायले बताए । “पुल जे प्रयोजनका लागि बनाइएको हो त्यसको काम नै भएन उनले भने”, “अहिले यो ठाउँ घुम्ने ठाउँ मात्रै बनेको छ ।” चाँडै पुल तर्ने वातावरण बनाइदिए यहाँ पर्यटनको विकास हुने भन्दै उनले नेपाल हुँदै प्रसिद्ध धार्मिकस्थल वाल्मीकि आश्रम पुग्ने सबै नेपालीको धोको पूरा हुने बताए ।

नेपालीलाई चितवनको माडी नगरपालिका–१ मा पर्ने आश्रम पुग्न अहिले भारतीय भूमिको प्रयोग गर्नुपर्छ । गण्डकबाँध तरेर झण्डै आठ किलोमिटर भारतीय भूमि हुँदै आश्रम पुग्न सकिन्छ । नेपालीलाई सहजरुपमा प्रवेश गर्न पनि दिइँदैन । त्यसैले यो पुल चाँडै सञ्चालनमा आइदिए आश्रम पुग्न सहज हुने स्थानीय रामचन्द्र चालिसे बताउँछन् । अहिले झोलुङ्गे पुलको मुखैमा पसल सञ्चालनमा छन् । यहाँ घुम्न आउनेले यहाँको व्यापार बढाएको चालिसेले जानकारी दिए। पुलमा आएर फोटो खिच्ने क्रम बढ्दो छ । भारतको विहार, उत्तर प्रदेशबाट मान्छे यहाँ आएर फोटो खिचाउने गरेका उनले बताए ।

चितवन राष्ट्रिय निकुञ्जले व्यवस्थित बाटो र सुरक्षा पोष्ट नबनेकाले पुल सञ्चालनमा रोक लगाइएको जनाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले पुल बने पनि सुरक्षा पोष्ट नबनेकाले अहिले सञ्चालनमा कठिनाइ भएको बताए । उनले सुरक्षाको दृष्टिकोणले निकुञ्जको कोर एरिया भएकाले सुरक्षा पोष्ट र पैदल रुट बनेपछि पुल सञ्चालन हुने जानकारी दिए । आचार्यले पैदलमार्ग निर्माणका लागि नगरपालिकाले बजेट विनियोजन गरेर निकुञ्जसँग समन्वय गरे चाँडै त्यो कामलाई अगाडि बढाउन सकिने बताए ।

यो पुल निर्माण हुन झण्डै नौ वर्ष लाग्यो । निर्माण कम्पनीसँग ०७० असारमा सम्झौता भएको थियो । दुई वर्षमा काम सक्ने गरी सम्झौता भए पनि यो पुल गत साउनमा मात्रै निर्माण पूरा भएको हो । पुलको लागत छ करोड ६० लाख रुपैयाँ हो ।

वातावरणीय प्रभाव मूल्याङ्कन नगरी पुल निर्माणको सम्झौता गरेका कारण सुरुमा काम गर्न समस्या निम्त्यिो । चितवन निकुञ्ज विश्व सम्पदामा सूचीकृत रहेकाले युनेस्कोसँग सहमति लिनुपर्छ । पछि युनेस्कोलाई पत्रचार गरेर सबै प्रक्रिया पूरा भएपछि बल्ल निर्माणको काम अगाडि बढेको हो । यसका लागि पूर्वरक्षासचिव आत्माराम पाण्डेले निकै नै दौडधुप गरेका थिए । पहिले सम्झौता भएको निर्माण कम्पनीले काम नगरेपछि चितवनका तारा पौडेलले पुल निर्माणको जिम्मा लिएका थिए । उनले निकै हण्डर खाएर जसोतसो पुल सम्पन्न गरेरै छाडेको बताए । “यो पुल बनाउँदा एक जना कामदार नदीमै खसे, बेलैमा उद्धार भएकाले जीवन जोगियो, पुलको लठ्ठा तान्न मात्रै सात महिनासम्म लाग्यो, यो पुल बनाउँदाको दुःख सम्झिएर साध्य छैन”, उनले भने “यो पुल सञ्चालनमा आए वाल्मीकि आश्रम सहजै प्रवेश गर्न सकिन्छ । यहाँबाट आश्रमसम्म एक हजार सात सय मिटर बाटो बनाउनुपर्ने हुन्छ ।”

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  १० : १८ बजे

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल

जनकपुरबाट प्रचण्डले भने – “मधेशी जनताप्रतिको मेरो विश्वास अटल छ”

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेशी जनताप्रति

धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी ठोक्किए

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सात वटा सवारी

अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छ : सभामुख घिमिरे

सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबीच अविश्वास

रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी

काठमा । नेपाल प्रिमियर लिग ९एनपिएल०को आजको खेलमा पोखरा एभेन्जर्सले