१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

सुदूरपश्चिम प्रदेशसरकार गठनमा अन्योल


१८ पुस २०७९, सोमबार  

169
Shares

कैलाली । माग र मुद्दा सम्बोधन नगरिएसम्म सरकार गठनमा कसैलाई सहयोग नगर्ने र सहभागीसमेत नहुने नागरिक उन्मुक्ति पार्टीको अडानपछि तत्काल सुदूरपश्चिम प्रदेश सरकार गठनमा अन्योल देखिएको छ ।

५३ सदस्यीय प्रदेश सभामा सात सदस्य रहेको नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता रामेश्वर चौधरीले टीकापुर घटनाका बन्दी रिहाइ नभएसम्म आफूहरुले कसैलाई सरकार बनाउन सहयोग नगर्ने र सरकारमासमेत सहभागी नहुने बताएका छन् ।

प्रदेश सभामा कुनै पनि दलको एकल बहुमत छैन । प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका १९ सदस्य रहेका छन् । नेकपा (माओवादी केन्द्र) को ११, नेकपा (एमाले) को दश, नेकपा (एकीकृत समाजवादी)को चार, राप्रपा र स्वतन्त्र एक/एक जना रहेका छन् ।

सरकार गठनका लागि २७ सदस्यको बहुमत आवश्यक पर्दछ। सजिलैसँग सबै दललाई बहुमत जुटाउन कठिन छ । नागरिक उन्मुक्तिले केन्द्र सरकार गठनमा भने समर्थन गरेको छ ।

कांग्रेस र नागरिक उन्मुक्तिबाहेक प्रदेश सभामा माओवादी, एमाले, राप्रपा मिल्दा २२ सदस्य मात्र पुग्छन् । चार सदस्य रहेको (एकीकृत समाजवादी)ले सरकारमा जाने वा नजाने निर्णय अझै गरिसकेको छैन ।

समाजवादीले पनि सरकारमा जाने निर्णय गरेमा २६ सदस्य पुग्छन् । सरकार गठनमा अन्योल देखिँदा नागरिक उन्मुक्ति पार्टीका साथै डडेलधुराबाट स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका डा तारा जोशीलाई आ–आफ्नो पक्षमा पार्ने रणनीतिमा दलहरु देखिन्छन् ।

नेकपा (एमाले)का प्रदेशसभा सदस्य धर्मराज पाठक केन्द्रमा दलका शीर्ष नेतृत्वबीच कुन प्रदेशमा कसको नेतृत्वमा सरकार बनाउने भन्ने विषयमा छलफल चलिरहेकोले त्यसको टुंगो लागेपछि प्रदेश सरकार गठनमा देखिएको अन्योल हट्ने बताउँछन् ।

‘प्रदेशसभाको अहिले देखिएको अंक गणितले सरकार गठनमा केही अन्योल त छ नै’, उनले भने, ‘केन्द्र सरकार गठनमा नागरिक उन्मुक्तिले बाहिरबाट समर्थन गरेकै छ, प्रदेश तहमा पनि गर्नसक्ने सम्भावना छ ।’

प्रदेश सभाका सदस्य एवं कांग्रेसका नेता प्रकाश बमले सरकार गठनको विषयमा कांग्रेसले नागरिक उन्मुक्ति र स्वतन्त्र सदस्यसँग छलफल गरिरहेको बताए। उनले भने, ‘आजसम्म प्रदेश प्रमुखले सरकार गठनका लागि आह्वान गरेका छैनन्, कसको नेतृत्वमा र कुन कुन दलको सरकार गठन हुन्छ भन्ने कुरा नागरिक उन्मुक्ति र स्वतन्त्र सांसदको हात छ ।’

प्रदेश सभामा छ दलको प्रतिनिधित्व

प्रदेशसभा संसदीय दलको नेतामा एमालेका राजेन्द्रसिंह रावल, माओवादीका खगराज भट्ट, नेकपा (एकीकृत समाजवादी) का दीर्घबहादुर सोडारी, र नागरिक उन्मुक्ति पार्टीका रामश्वर चौधरी चयन भइसकेका छन् । कांग्रेसमा संसदीय दलको नेता अझै चयन हुन सकेको छैन ।

कांग्रेसका प्रदेशसभा सदस्य बमले भने, ‘संसदीय दलको नेता चयन गर्नमा पार्टीको प्रदेश समिति चासो लिनुपर्ने हो, आजसम्म लिएको देखिँदैन ।’ कांग्रेस संसदीय दलको नेताको आकांक्षीमा प्रकाशबमबहादुरसिंह थापा, देवानसिंह विष्ट, प्रकाशबहादुर देउवा, कमलबहादुर साह, र मेघराज खड्का देखिएका छन् ।

प्रदेश सभाका सबै ३२ निर्वाचन क्षेत्रमा पुरुष उम्मेदवार विजयी भएका छन् । समानुपातिक निर्वाचन प्रणालीतर्फका २१ सिटमध्ये तीन पुरुष र १८ महिला निर्वाचित भएका हुन् ।

निर्वाचित हुने प्रदेशसभामा खस आर्य समुदायका, ४३, दलित समुदायबाट तीन, थारुका पाँच, आदिवासी÷जनजाति समुदायबाट दुई जनाको प्रतिनिधित्व भएको छ ।

प्रदेशसभाको पहिलो कार्यकालमा दुई जनाको प्रतिनिधित्व रहेको कैलाली, कञ्चनपुरका आदिवासी रानाथारु समुदायको प्रतिनिधित्व दोस्रो कार्यकालमा शून्य भएको छ ।

प्रदेशसभाका सदस्यको पद तथा गोपनीयतको शपथग्रहण भइसकेको छ । प्रदेश प्रमुख देवराज जोशीले संविधानको धारा १८३ बमोजिम प्रदेशसभाको पहिलो अधिवेशन आह्वान गरेका छन ।

यसैबीच आइतबार बसेको सर्वदलीय बैठकले आउँदो माघ २ गतेभित्रमा प्रदेशसभाका सभामुखको निर्वाचन गरिसक्ने सहमति गरेको छ । प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले सभामुखको निर्वाचन माघ २ गतेभित्र गरिसक्ने गरी प्रक्रिया अघि बढाउने सहमति भएको जानकारी दिए ।

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  ८ : २१ बजे

मुग्लिन-पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

गण्डकी । निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’

प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु ४८ करोड

काठमाडौंमा फेरी बढ्यो वायु प्रदूषण

काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण फेरी अब्धेको छ ।

बुटवलमा हुने हाफ् म्याराथन प्रतियोगिताको आवेदन खुला

बुटवल । जननेता मदन भण्डारीको ३१ औं स्मृति दिवस पारेर