३ भदौ २०८३, बुधबार | August 19, 2026

पोखरा रङ्गशालामा छैन ‘फ्लड लाइट’



गण्डकी । अन्तर्राष्ट्रियस्तरको पोखरा रङ्गशालामा ‘फ्लड लाइट’ छैन । ठूलो धनराशि खर्चेर बनाइएको रङ्शालामा बत्ती जडानको योजना भने अलपत्र परेको छ । ‘फ्लड लाइट’ नहुँदा रात्रिकालीन खेलकुद सञ्चालन गर्न सक्ने स्थिति छैन ।

अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा)को मान्यता पाउन पनि रङ्गशालामा ‘फ्लड लाइट’ अनिवार्य हुनुपर्छ । सोह्र हजार पाँच सय दर्शक क्षमताको स्तरीय रङगशाला भइकन पनि बत्ती जडान नहुनुलाई खेल क्षेत्रका पदाधिकारीले दुर्भाग्यका रूपमा लिएका छन् ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगीले बजेट अभावमा बत्ती जडान हुन नसकेको बताए । “सङ्घ, प्रदेश सरकार कतैबाट बजेट परेको छैन, बत्ती जडानको योजना अन्योलमा छ”, उनले भने, “फ्लड लाइटका लागि करिब रु १२ करोडको लागत अनुमान गरिएको छ ।”

राष्ट्रिय खेलकुद परिषद्ले दुई वर्षअघि ‘फ्लड लाइट’का लागि छुट्याएको रु पाँच करोड बजेट कोभिड-१९ महाव्याधिका कारण काम हुन नसकी फिर्ता भएको थियो । कार्यालय प्रमुख योगीले देशकै ठूलो र सुविधायुक्त रङ्गशालाको सञ्चालन तथा व्यवस्थापनमा सङ्घ र प्रदेश सरकारले हातेमालो गर्नुपर्ने उल्लेख गरे ।

“सङ्घ र प्रदेश दुवैतिर ‘फ्लड लाइट’का लागि बजेट माग गरिरहेका छौँ, स्रोतको सुनिश्चिता हुनासाथ रङ्गशालामा बत्ती जडानको काम अघि बढ्छ”, उनले भने, “रङ्गशालाको विकास त प्रदेश सरकारको पनि दायित्वभित्र पर्छ, प्रदेशबाट पनि आवश्यक पहल हुनेमा हामी विश्वस्त छौँ ।” प्रदेश खेलकुद परिषद्का सदस्यसचिव तेजबहादुर गुरुङले अन्तर्राष्ट्रियस्तरको भएर पनि ‘फ्लड लाइट’ नहुँदा पोखरा रङ्गशालाको उपयोगिता खुम्चिन सक्ने धारणा राखे ।

“साउथ एसियन टिम आउने खालका प्रतियोगिता पोखरा रङ्गशालामा खेलाउन सक्नुपर्छ, त्यसका लागि फ्लड लाइटलगायत अन्तर्राष्ट्रिय मापदण्डका पूर्वाधार चाहिन्छ”, उनले भने, “ठूलो लगानी परेको रङ्गशालाबाट राज्यले पनि लाभ लिनुप¥यो, खेल गतिविधि बढ्दा यहाँको आर्थिक गतिविधि पनि चलायमन हुन्छ ।”

सदस्यसचिव गुरुङले खेल क्षेत्रमा अझै सङ्घीयता आउन नसक्नुको मार पोखरा रङ्गशालाले पनि खेपिरहेको बताए । सङ्घ सरकार मातहत रहेको रङ्गशाला व्यवस्थापन र सञ्चालनमासमेत प्रदेशसँग सहकार्य हुन नसकेको उनले बताए ।

“रङ्गशालाको व्यवस्थापन र प्रयोगमा केन्द्र सरकार उदार हुनसकेको छैन, त्यसले गर्दा प्रदेश सरकारलाई पनि हामीले किन लगानी गर्ने ? भन्ने भान परिरहेको छ”, सदस्यसचिव गुरुङले भने, “अब त्यसरी नसोची सबै मिलेर रङ्गशालाको विकासमा काम गर्नुपर्छ ।” साँझ र रात्रिपख प्रतियोगिता राख्न सकिएमा जागिरे र कामकाजी मानिसले समेत खेलबाट फाइदा लिन सक्ने उनको भनाइ छ ।

प्रतियोगितामात्रै नभएर रात्रिकालीन खेलाभ्यासका लागि पनि रङ्गशालामा ‘फ्लड लाइट’ अत्यावश्यक रहेको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दिनानाथ बरालले बताए । पटक-पटक यो विषय उठ्ने गरे पनि राज्यका खेलसम्बद्ध निकायले बेवास्ता गर्ने गरेको उनको भनाइ छ ।

“सवा अर्बभन्दा बढीको लागतमा बनेको अन्तर्राष्ट्रिय मापदण्डको रङ्गशालामा फ्लड लाइट नहुनु दुर्भाग्य हो”, अध्यक्ष बरालले भने, “दुई वर्षअघि नै बत्ती जडानका लागि काम थाल्ने भनिए पनि त्यसले अझै सार्थकता पाउन सकेको छैन ।” नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअघि नै बत्ती जडान गर्ने राखेपको प्रतिबद्धता पनि पूरा हुन सकेन ।

गत असोजमा गण्डकी प्रदेशमा भएको उक्त प्रतियोगिताअन्तर्गत फुटबललगायत मुख्य खेल पोखरा रङ्गशालामा भएका थिए । रु एक अर्ब २८ करोडको लगानीमा तीन वर्षअघि रङ्गशाला निर्माण गरिएको थियो ।

हाल १६ हजार पाँच सय दर्शक क्षमता रहेकामा त्यसलाई बढाएर २० हजार पु¥याउने सरकारको योजना छ । मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा ! रारा पोखरा गोल्डकपलगायत प्रतियोगिता पोखरा रङ्गशालामै हुँदै आएका छन् ।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  १० : ०५ बजे

फोटो प्रदर्शनीले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपाल र चाइना

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णयहरू

काठमाडौँ । सरकारले सङ्घीय अनुदानअन्तर्गत कार्यरत शिक्षक तथा विद्यालय कर्मचारीको

सबै सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न प्रधानमन्त्री कार्यालयको परिपत्र

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै सरकारी निकायहरूलाई स्वदेशी

पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले जनआस्था प्रकाशन प्रालिका अध्यक्ष तथा

प्रधानमन्त्रीद्वारा मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने