५ आश्विन २०८३, सोमबार | September 21, 2026

थारू बस्तीमा सुरु भयो माघीको रौनक


२९ पुस २०७९, शुक्रबार  

1.6k
Shares

नेपालगन्ज । बाँके र बर्दियाका थारू समुदायमा यतिबेला माघीको रौनक छाएको छ । थारू समुदायको मुख्य पर्व माघी नजिकिँदै जाँदा थारू बस्तीमा चहलपहल बढेको छ । कामका लागि बाहिर गएकाहरु माघी मनाउन घर फर्किएका छन् । गाउँघरमा माघी पर्वको चहलपहल सुरु भइसकेको बाँकेको बैजनाथ गाउँपालिका–८ निवासी थारू अगुवा एवम् पूर्वबडघर चन्द्रबहादुर चौधरीले जानकारी दिए ।

उनका अनुसार दसैँ तिहारमा घर नआएका व्यक्ति पनि माघीमा घर फर्किएका छन् । माघी पर्वलाई थारू समुदायले नयाँ वर्षका रुपमा समेत मान्ने गर्छन् । यस पर्वलाई थारू समुदायले बरका तेउहार (ठूलो पर्व) का रुपमा मनाउँछन् ।

“माघी हाम्रा लागि नयाँ वर्ष हो, माघीलाई हामी ठूलो पर्वका रुपमा मनाउँछौँ, वर्षभरि जो जँहा भए पनि माघी मनाउन भने घर फर्कने गर्छन्”, जिल्ला समन्वय समिति बाँकेका सदस्य सन्तकुमार थारूले भन्नुभयो, “माघी थारू समुदायको विशेष पर्व हो, माघीकै अवसर पारेर गाउँघरमा थारू संस्कृतिको जगेर्ना गर्न विभिन्न क्रियाकलाप हुने गर्छन् ।”

माघीका अवसरमा थारू संस्कृति झल्कने नृत्यले गाउँघर गुञ्जयमान हुने गरेको छ । गाउँ थारू बस्तीमा युवायवती माघीमा मघौटा, सखिया र हुरदङ्गा नाच नाच्ने गर्छन् । माघे सङ्क्रान्तिको अघिल्लो दिन अर्थात् पुस मसान्तमा थारू समुदायमा जिता मार्ने (सामूहिक रुपमा सुँगुर, बङ्गुर मारेर खाने) गरिन्छ ।

थारूहरुले माघीमै वर्ष दिनको योजना बनाउने गर्छन् । माघीमा बनाएको योजनाअनुसार नै परिवारका सदस्यहरु सबै आ–आफ्नो काममा लाग्छन् । घर छुट्टिने, खेतबाली लगाउने निर्णय पनि माघीमै गरिन्छ ।

थारू कल्याणकारिणीसभा बाँकेका अध्यक्ष विनोद चौधरी भन्छन्, “यतिबेला थारू बस्तीका चोकचोकमा युवाहरुको जमघट बढेको छ, बाहिरबाट कमाएर आएकाहरु आफ्ना साथीभाइसँग अनुभव साटासाट गर्नमा व्यस्त छन्, थारू बस्तीका घरघरमा माघी धुमधामले मनाइँदैछ ।”

उनका अनुसार माघे सङ्क्रान्तिका दिन गाउँको चोकमा आगोको धुनी बाल्ने प्रचलन छ । थारु समुदायमा माघे सङ्क्रान्तिको अघिल्लो दिन रातभर जाग्रम बसेर भजन कीर्तन गर्ने चलन छ । माघीका दिन बिहानै नजिकैको खोला नदीमा गई नुहाउने गरिन्छ । यस दिन खोला नदीमा गई नुहाउँदा वर्षभरिको पाप पखालिने जनविश्वास छ । नुहाइवरी आफूभन्दा ठूला मान्यजनलाई सेवा ढोक गरी आशीर्वाद लिने र साथीभाइसँग अङ्कमाल गरी माघीको शुभकामना आदानप्रदान गर्ने गरिन्छ ।

यो पर्वमा थारू जातिले विशेष परिकारका रुपमा ढिकरी (चामलको पीठोबाट बनाइने परिकार), माछा, घोघी, सुँगर वा बङ्गुरको मासु र जाँड खाने तथा खुवाउने चलन छ । माघीमा गाउँका सबै जना जम्मा भएर वर्षदिनका लागि बड्घर (गाउँको अगुवा), चौकीदार र गुरुवा चयन गर्ने गरिन्छ । यो परम्परा समुदायमा हुने गरेको लोकतान्त्रिक अभ्यासको गतिलो उदाहरण रहेको बाँके राप्ती सोनारी–३ का वडाध्यक्ष मीनकुमार थारूले बताए ।

माघीमा चयन गरिने अगुवाले वर्ष दिनभरि गाउँको विकास निर्माण, सुरक्षा, सूचना, कुलोपानी र पूजाआजामा अगुवाइ गर्ने उनको भनाइ छ । माघी पर्वका अवसरमा बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित भुवरभवानी मन्दिर र बर्दियाको ठाकुरबाबा गाउँपालिकास्थित ठाकुरद्वारामा परम्परागत माघी मेला लाग्ने गर्दछ । माघी नजिकिँदै गर्दा मेलाको पनि तयारी भइरहेको बर्दिया ठाकुरद्वाराका थारू अगुवा मोहन थारूले बताए ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ११ : ५९ बजे

त्रिपुरेश्वरमा चालकले नै बसमा आगजनी गरे

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वर चोकमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी भएको

नेपालगन्जमा सहर भित्रै बाँदर आतंक : बाँदरको टोकाइबाट ४० जना घाइते

नेपालगन्ज । नेपालगन्जमा बाँदरको आक्रमणमा परी ४० जना घाइते भएका

होटल व्यवसायी महासंघले रसुवा बाढीबाट क्षति भएका पर्यटन उद्योगको पुनः स्थापनाको पहल गर्ने

काठमाडौँ। चीनको तिब्बत क्षेत्रबाट आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट,

त्रिपुरेश्वरमा यात्रुवाहक बसमा आगलागी

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा यात्रुवाहक बसमा आगलागी भएको छ। सोमबार

जेनजी आन्दोलनमा ध्वस्त टंगालको भाटभटेनी सुपरस्टोर आजदेखि पुनः सञ्चालन

काठमाडौं । गत वर्ष भदौमा जेनजी आन्दोलनका क्रममा आगजनी गरी