काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपीशर्मा ओलीबीच भेटवार्ता भएको छ ।
ओलीलाई भेट गर्न प्रधानमन्त्री प्रचण्ड ओली निवास बालकोट पुगेका छन् । ओली निवासको छतमा बसेर दुवै नेताले छलफल गरिरहेको तस्वीर ओलीको सचिवालयले सार्वजनिक गरेको छ । प्रतिनिधिसभाका निर्वाचनपछि प्रचण्ड ओली निवासमा दोस्रो पटक पुगेका हुन् । यसअघि गत पुस १० गते प्रधानमन्त्रीमा दाबी पेश गर्ने दिनमा प्रचण्ड ओली निवास पुगेका थिए ।
दुई शीर्ष नेताबीच ५ गते हुने सभामुखको निर्वाचन र केही समयपछि हुन लागेको राष्ट्रपति निर्वाचनसहित मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल भैरहेको बताइएको छ। काँग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि सशंकित भएका एमाले अध्यक्ष ओलीले यसबीचमा प्रचण्डसँग निरन्तर छलफल गरिरहेका छन् । प्रधानमन्त्री प्रचण्डले भोलि सरकारलाई विश्वासको मत दिएका सबै दलसँग सर्वदलीय छलफल आयोजना गरेका छन् ।



















प्रतिक्रिया